नमुना बस्ति (मोडेल भिलेज)

हरिसिं गुरुङ

मोडेल भिलेज शब्द पहिलो पटक वेलायतका भिक्टोरियनहरुले अठारौं शताब्दिताका ग्रामीण भेगमा सिर्जना गरिएका बस्तिहरुलाई वर्णन गर्न प्रयोग गरिएको थियो । सोही शताब्दिको उत्तरार्धतिर त्यहाँका जमिन्दार तथा उद्योगपतिहरुले आफ्ना कामदारहरुका लागि कार्यस्थल नजिकै सामान्यतय भौतिकरुपले अलग रहेता पनि एकीकृत सामाजिक सुविधा सहित आकर्षक भौतिक वातावरणका साथ अपेक्षाकृत उच्च गुणस्तरका आवासहरु निर्माण गरिदिएका थिए । ती बस्तिहरु वास्तवमा जमिनको सौन्दार्यकरणका साथै मालिकहरुले आफ्ना सम्पत्तीको सुधार गर्ने उद्देश्यले निर्माण गरेका थिए । जसले एउटा नयाँ एवं सुन्दर परिदृश्य सिर्जना गरिदिएको थियो ।
यस प्रक्रियामा गरिवका झुप्राहरु भत्काई सडक दायावाया रैथाने निर्माण सामाग्रीहरु (सादा ईट्टा, काठ, माटो वा सुर्खी आदि) प्रयोगगरी मौलिक शैलीमा निर्माण गरिएका घरहरु हुन्थे जसलाई वेलायतीहरुले हालसम्म जीवन्त राखेकाछन् । वेलायतका कन्ट्रि साइडहरुमा बसालिएका यस्ता गाउँ तथा घरहरुमा हाल उनीहरुकै शैलीका होमस्टे वा पर्यटक आवासका रुपमा प्रख्यात रहेकाछन् । ती घरहरु आधुनिक सेवासुविधा सम्पन्न रहेता पनि मौलिक, कलात्मक एवं वातावरणमैत्री छन्, जहाँ पर्यटकहरुले अग्रीम बुकिङ गरी उपलव्ध सेवा, सुविधाहरु उपभोग गर्ने गर्दछन् ।
हामीकहाँ हाल चर्चामा रहेको नमुना बस्ति, नमुना गाउँ जे भने पनि वेलायतको मोडेल भिलेज भन्दा ज्यादै पृथक छ । विकासको हिसावले सन्तुलित गाउँ, जहाँ आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक एवं प्रशासनिक गतिविधिहरु योजनावद्ध तरिकाले अघि वढेका हुन्छन् । विगतका घना बस्तिहरु वसाईसराई एवं विविध कारणले खण्डहर बन्दै गैरहेको क्रमलाई रोक्न कृषिपर्यटन (एग्रोटुरिज्म) गतिविधिका माध्यम समुदायको आत्मनिर्भरता एवं सामाजिक सशक्तिकरणलाई मुख्य लक्ष्य बनाई अघि सारिएका हुन्छन् । जहाँ स्थानीयबासीहरु आ–आफ्नो जीवन धान्न र पालनपोषण गर्न गाउँठाउँमै आफैले वस्तु एवं सेवा उत्पादन गरी जलवायूमैत्री कृषि प्रणाली अवलम्बन गरेका हुन्छन् । लोपोन्मुख कलासंस्कृतिलाई जीवन्त राख्दै गाउँको सुख, शान्ति र समृद्धिका लागि प्रकृति र संस्कृतिलाई मुख्य आधार बनाई समग्र गाउँबासीको जीविकोपार्जन एवं उद्यमशिलता नै यस प्रक्रियाको मुख्य उद्देश्य बनेको हुन्छ ।
त्यसैगरी गाउँबासीका बीच बलियो सामाजिक सद्भाव एवं आत्मसम्मानको संस्कृति, स्थानीय विकास निर्माणमा गाउँबासीको क्षमता र उपलब्धतालाई अधिकतम् उपयोगका साथै सकारात्मक सोंच र व्यवहारको सिर्जनागरि समग्र विकासका गतिविधिहरुले समाजको गुणात्मक परिवर्तन ल्याएको स्पष्ट देख्न सकिन्छ ।
त्यस्तैगरी विभिन्न अन्तर्राष्ट्रिय क्लवहरु लियो, लायन्स, रोटरी, रोट¥याक्ट, जेसिस आदिका साथै मुलुकका विभिन्न शैक्षिक एवं सामाजिक संघसंस्थाहरुले पनि विद्यमान कुनै गाउँको समग्र विकासलाई सहजीकरण गर्ने उद्देश्यले नमुना बस्ति छनौट तथा निर्माण गर्ने गरेको पाईन्छ । ती क्लव एवं संघसंस्थाहरुको विधिविधान अनुसार सञ्चालन गरिएका त्यस्ता गाउँहरुको नामको पछाडि प्रायः आ–आफ्ना क्वल वा संस्थाको नाम समेतजोडी नामाकरण गरेको पाईन्छ । जस्तै लायन्स भिलेज, जेसिस भिलेज, रोटरी कम्युनिटी कोर भिलेज, मितेरी गाउँ आदि । नमुना बस्तिको प्रसंग आउँदा हामीमा प्रायः विभिन्न खाले पूर्वाधार विकास तथा संरचना निर्माणका कुराले पहिलो हिट गर्दछ ।
तर, यथार्थमा नमुना बस्ति त्यो हो जहाँ स्वयंसेवी समूह जसले सामाजिक विकासका गतिविधि (परियोजनाहरु) मार्फत स्थानीय समुदायमा प्राकृतिक एवं सांस्कृतिक सम्पदाका साथै जैविक विविधताहरुको संरक्षण, जीविकोपार्जन, शान्ति प्रवर्द्धन र सकारात्मक सोंचको विकास गराउन महत्वपूर्ण भूमिका निभाउदछ । नमुना बस्तीका सदस्यहरू आफ्नो समुदायको आवश्यकता अनुसार योजना निर्माण एवं प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ज्ञान तथा सीप प्राप्तगरी व्यक्तिगत एवं संस्थागत रुपमा लाभान्वित हुनेगर्दछन् । स्थानीयबासीको सशक्त भूमिकाका कारण स्थानीय सरकार तथा साझेदारी संघसंस्थाहरुको प्रभाव एवं छवि अभिवृद्धि गराउन समेत यसले मद्दत गर्दछ ।
पछिल्लो समय यस्ता नमुना बस्तिहरु क्रमगत पर्यटकीय गाउँको रुपमा विकसित हुँदैछन् । जसका कारण गाउँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरुको संरक्षण, कृषिपर्यटन गतिविधिका माध्यम आर्थिक विकासका साथै शान्ति र सद्भाव अभिवृद्धिमा सघाउ पुगेको छ । तर प्रक्रियागत नमुना बस्ति घोषणा गर्न भने त्यति सहज छैन, जसका लागि तोकिएका विभिन्न पाँच चरणहरुः पूर्व तयारी चरण, तयारी चरण, योजना निर्माण तथा कार्यान्वयन चरण, नमुना बस्ति घोषणा र दिगोपनाको चरण र अनुगमन, मूल्याङ्कन र प्रतिवेदनको चरण पर्दछन् भने उक्त चरण अन्तर्गत चालिसभन्दा बढि सूचकहरु (indicators) पुरा गर्न पर्दछ ।
तनहुँको भानु नगरपालिका-१३ को टुटेपानी सामुदायिक होमस्टेमा आएका पाहुनालाई स्वागत गर्दै बसेका होमस्टे सञ्चालकहरु । फाइल तस्विर : नारायण खड्का/भञ्ज्याङ
नमुना बस्ति आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासका लागि एक प्रभावकारी प्रक्रिया तथा नवप्रवर्तनीय कार्यक्रमको एक उदाहरण हो । जसका लागि सरकार, स्थानीय समुदाय र साझेदारी संघसंस्थाहरुले जिम्मेवारीपूर्णरुपमा निभाउन पर्ने भूमिकाहरु उल्लेख गरिएकाछन् । उदाहरणका लागिः बालमैत्री गाउँ (जसका ५१ सूचक छन्), मौलिक कलासंस्कृति संरक्षण, रैथाने बाली तथा पशुपंक्षी विकास, सहज पहुँच, सांस्कृतिक संग्रहालय, सामुदायिक भवन, अतिथिहरुका लागि खाना तथा आवास (घरबास), शान्ति सुरक्षा, गोठ सुधार, सुधारिएको चुल्होको प्रयोग, पुष्प रोपण, आन्तरिक ढुङ्गे बाटो एवं गल्लीहरु निर्माण आदि।
तनहुँ जिल्ला अन्तर्गत नमुना बस्तिको रुपमा बामेसर्दै गरेका गाउँहरुमा रुम्सी, दुबुङ, टुटेपानी, हिलेखर्क, रामकोट, मिछुर्लुङ, चितीखोला, लमनासा, बच्र्याङ, मनपाङ, क्रादीप आदि पर्दछन् । तसर्थ सामाजिक सेवाभावद्वारा ओतप्रोत विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थाहरुले समेत आफ्ना सामाजिक एवं पूर्वाधार विकासका कार्यक्रमहरुलाई स्थानीय सरकारको नीति तथा कार्यक्रम अनुरुप ती नमुना बस्तिहरुमा योजनावद्ध तरिकाले कार्यान्वयन गर्न सके हामी स्वयं आफैले एक सुन्दर, शान्त, समृद्ध एवं सुसंस्कृतियुक्त पर्यटकीय गन्तव्यको स्थापना गर्न सक्दछौं । जुन अन्तर्राष्ट्रिय जगतलाई समेत प्रदर्शन गर्न सकियोस् । (लेखक सम्पदा नेपालका अध्यक्ष हुन्)
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker