भानुमा दोस्रो त्रैमासिक परीक्षाको तयारी पूरा

भानु : तनहुँको भानु नगरपालिकाले आगामी मंसिर २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने नगरस्तरीय दोस्रो त्रैमासिक परीक्षाका सबै तयारी पूरा गरेको छ । भानु नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले कक्षा ४ देखि १० सम्मका सबै विषय (ऐच्छिक विषयसहित) का प्रश्नपत्र तथा उत्तरपुस्तिकाहरू सबै विद्यालयलाई वितरण गरिसकेको छ ।

नगरपालिकाले यस वर्षदेखि कक्षा ४–१० सम्मका सबै विषयगत प्रश्नपत्र तथा उत्तरपुस्तिकाहरू एकीकृत रूपमा व्यवस्थापन गरेको छ । प्रत्येक कक्षा र विषय अनुसार खामबन्दी गरिएको प्रश्नपत्र विद्यालयमा पठाइएको छ । परीक्षाको समयतालिका यसअघि नै सार्वजनिक गरिसकिएको नगर शिक्षाअधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।

शिक्षा शाखाका अनुसार, विद्यालयहरूले आइइयमआइयसमा भरेको विद्यार्थी संख्याका आधारमा प्रश्नपत्र तथा उत्तरपुस्तिकासहित आवश्यक सामग्री वितरण गरिएको हो। कुनै विद्यालयमा प्रश्नपत्र वा उत्तरपुस्तिका अपुग भएमा शिक्षा शाखाले सम्भव भएसम्म तुरुन्तै हार्डकपी उपलब्ध गराउनेछ । आवश्यक परेमा ई–कपीमार्फत पनि तुरुन्तै पठाइने व्यवस्था मिलाइएको शिक्षा अधिकारी पौडेलले बताए ।

कक्षा ४ र ५ का लागि चारपाने उत्तरपुस्तिका तथा कक्षा ६ देखि १० का लागि छ पाने उत्तरपुस्तिका उपलब्ध गराइएको छ। थप उत्तरपुस्तिका आवश्यक परेमा समेत शिक्षा शाखामा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रधानाध्यापक केन्द्राध्यक्ष, शिक्षकको भूमिका निर्णायक

परीक्षा स्वच्छ, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नगरक्षेत्रभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई परीक्षाकेन्द्रको केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ। विद्यालयका अन्य शिक्षक तथा कर्मचारीहरू परीक्षाको दीक्षा–अनुगमन र व्यवस्थापनमा खटिनेछन् ।

नगरपालिकाले कुनै पनि प्राविधिक वा व्यवस्थापकीय समस्या आएमा तुरुन्तै शिक्षा शाखासँग सम्पर्क राख्न सबै विद्यालयलाई आग्रह गरेको छ । विषयगत प्रश्नपत्रसम्बन्धी समस्या भएमा सम्बद्ध विषयका शिक्षकमार्फत तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ ।

बालबालिकाको सिकाइ मूल्यांकनमै केन्द्रित

आवधिक परीक्षालाई शिक्षण–सिकाइ प्रक्रियाको महत्वपूर्ण आधारका रूपमा लिँदै भानु नगरपालिकाले यसलाई नियमित मूल्याङ्कनको प्रभावकारी माध्यमका रूपमा अघि बढाएको छ । परीक्षा मार्फत विद्यार्थीको सिकाइ स्तर मापन हुने, कमजोरी पहिचान भई सुधारका अवसर प्राप्त हुने, पठन संस्कृतिको विकास हुने तथा स्वस्थ प्रतिस्पर्धाको भावना बढ्ने भएकाले यसलाई शिक्षण–सिकाइको महत्वपूर्ण चरण मानिएको छ ।

“परीक्षा अन्तिम लक्ष्य होइन, सिकाइको आत्ममूल्याङ्कन हो । यसले शिक्षक र विद्यार्थी दुवैमा सिकाइको समीक्षा गर्ने अवसर प्रदान गर्छ”, शिक्षा शाखाले परीक्षा स्वच्छ, मर्यादित तथा व्यवस्थित ढंगले सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको जनाइएको छ ।

अभिभावक, शिक्षक, जनप्रतिनिधिलाई आव्हान

नगरपालिकाले विद्यार्थीहरूको शैक्षिक प्रगति र सिकाइ गुणस्तर उकास्न परीक्षालाई प्रभावकारी बनाउन अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि तथा सरोकारवाला सबैसँग सहकार्य र सहयोगको अपेक्षा जनाएको छ । शिक्षण वातावरण सहज, अनुकूल तथा अनुशासित बनाउन सबै पक्षको सक्रिय भूमिकाको महत्वमा नगरपालिकाले जोड दिएको छ ।

२२ गतेदेखि सुरु हुने दोस्रो त्रैमासिक परीक्षा भानु नगरपालिकाको शिक्षा व्यवस्थापन सुधार यात्रा अन्तर्गत एकीकृत मूल्याङ्कन विधिको निरन्तरता भएको बताइएको छ । नगरपालिकाले विगतझैं यस वर्ष पनि परीक्षा निष्पक्ष, व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गर्ने विश्वास व्यक्त गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker