शहरी क्षेत्रको फोहोर व्यवस्थापनको पाटो जटिल बन्दै

सम्झना रसाइली (तनहुँ)
बढ्दो शहरीकरणसंगै फोहोर उत्सर्जन पनि बढेको छ । विशेष गरी शहरी क्षेत्रमा उत्सर्जन हुने प्लाष्टिकजन्य फोहोर व्यवस्थापनको पाटो जटिल बन्दै गएको छ । मुलुकका स्थानीय तहहरुलाई फोहोर मैला व्यस्थापनको पाटो जटिल बनेको छ । व्यवस्थित ल्याण्डफिल्ड साइट व्यवस्थापन हुन नसक्नु, भएका ठाउँहरुमा पनि स्थानीयको अवरोध जस्ता विविध कारणले स्थानीय सरकारलाई फोहोर मैला व्यवस्थापन टाउको दुखाइको विषय बन्ने गरेको छ ।
मुलुक संघीय संरचनामा गएसंगै फोहरमैला व्यवस्थपनलाई नै मुख्य एजेण्डा बनाएर स्थानीय तहको निर्वाचनमा होमिएर निर्वाचित जनप्रतिनिधिले यो समस्यकोे दीर्घकालिन रुपमा समाधान गर्न सकेका छैनन् । पालिकाले व्यवस्थित र स्थायी ल्याण्डफिल्ड साइट स्थापनाका लागि जनप्रतिनिधि र वन, वातावरण तथा सरसफाई शाखाका कर्मचारीहरु पटकपटक विभिन्न स्थानको फोहोर व्यवस्थापन केन्द्रको भ्रमण तथा अवलोकनका लागि जाने गरेपनि त्यसको कुनै उपलब्धी हुन सकेको छैन ।
तनहुँको सदरमुकाममा करिब ३३ वर्ष अगाडि स्थापना भएको व्यास नगरपालिकाले हालसम्म व्यवस्थित ल्याण्डफिल्डसाइटको स्थान तोक्न नसक्दा पालिकाको बजार क्षेत्रमा संकलन हुने फोहोर व्यवस्थापनको विषय सधै विवादित बन्ने गरेको छ ।
स्थायी ल्याण्डफिल्ड साइट निर्माण गर्न नसक्दा नगरपालिकाले पछिल्लो छ वर्षको अवधिमा फोहोर व्यवस्थापनका लागि ४ वटा ठाउँ फेरिसकेको छ । नगरपालिकाले अहिले बजार क्षेत्रबाट कुहिने फोहोरलाई नियमित रुपमा संकलन गर्ने र नकुहिने फोहोर हप्ता दश दिनमा संकलन गर्ने गर्दै आएको छ । व्यासको बजार क्षेत्रबाट दैनिक १२ देखि १५ टनसम्म फोहोर उठाउने गरेको नगरपालिकाले जनाएको छ । बढ्दो बजारीकारणसंगै बढ्दै गएको फोहर व्यवस्थापनमा चुनौती बढ्दै गएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउँछन् ।
‘हाम्रो नगरपालिका स्थापना भएको करिब ३३ वर्ष भएतापनि अहिलेसम्म फोहोर व्यवस्थापनका लागि स्थायी समाधान निकाल्न सकेका छैनौ’, उनले भने, ‘यसका लागि जनप्रतिनिधि आएपछि एकदुई वटा जग्गा खरिदको प्रक्रियालाई अगाडि बढायौं तर हामी यो जग्गा खरिद गर्दै छौं भनि विज्ञप्ति निकाल्नसाथ मानिसहरुको बिरोध भएकाले २/३ वटा स्थानमा गरिएको प्रयासमा निस्कर्षमा पुग्न सकेनौं ।’
यस्तै, पालिकाको वन, वातावरण तथा सरसफाई शाखाका कर्मचारीहरुसंगै वलिङको सरसफाई केन्द्रमा गएको भ्रमणबाट फोहोरलाई मोहोरमा बदल्न पनि सकिने कुरा थाहा पाएको नगरप्रमुख न्यौपानेले बताए । ‘पहिले हामी ल्याण्डफिल्ड साइट निर्माण गरी फोहोर व्यवस्थापन गर्नका लागि खाल्डो खोज्दै हिडेका थियौं’, उनले भने, ‘ल्याण्डफिल्ड साइट होइन अब हामी सरसफाई केन्द्र नै बनाउने गरी अगाडि बढेका छौ । स्थायी रुपमै फोहोर व्यवस्थापनको कुरा हुँदै आएपनि मुख्य जग्गा खरिद नै गर्न नपाउँदा यो प्रक्रियामा जान सकेको छैनौ ।’

नगरपालिकाले अहिले बजार क्षेत्रबाट संकलन हुने नकुहिने फोहोर नगरपालिकाकै हाताभित्रबाट वर्गीकरण गरी ‘फोहोरलाई मोहरमा’ बदल्ने काम गर्दै आएको वन वातावरण तथा सरसफाई शाखाका प्रमुख कृष्णराज घिमिरेले बताए । दुई महिनाको अवधिमा यो अभियान अन्तर्गत करिब ६० हजार रुपैयाँको सिसाजन्य फोहोर बिक्री गरेको उनले बताए । उनले भने, ‘प्लाष्टिकज्यन फोहोर पनि कम्प्रेसन गरी राखिएको र बिक्रीका लागि टेण्डर प्रक्रिया अगाडि बढाइएको छ भने बिक्री नहुने फोहोरलाई उपयुक्त ठाउँ हेरी त्यहाँ पुर्ने गरिएको छ ।’
स्थायी ल्याण्डफिल्ड साइट नभएपनि व्यासले कुहिने र नकुहिने फोहोर छुट्टाइ कुहिने फोहोरको व्यवस्थापन गरिसकेको छ । व्यास–१० को दुम्सिभतेरीमा कुहिने फोहरबाट वायोग्याँस निकाल्ने काम पनि भइरहेको छ । नगरपालिकाले चालु आवमा ९ लाख रुपैयाँको लागतमा टहरो निर्माण गरी कुहिने फोहोर व्यवस्थापन गर्ने तयारीमा रहेको सरसफाई शाखा प्रमुख घिमिरेले बताए ।

दीर्घकालिन रुपमा फोहोर मैला व्यवस्थापनका लागि बस्ति उठेको, खोच पनि परेको केही ऐलानी प्रति जग्गा पनि उपयोग गर्न पाउने, सामुदायिक वन पनि नभएको, खानीपानी लगायतका ठाउँमा असर नपर्ने जस्तो स्थानको खोजीमा नगरपालिका लागि परेको नगरप्रमुख न्यौपानेले बताएका छन् ।
हालसम्म पनि व्यवस्थित ल्याण्डफिल्ड साइड नहुँदा फोहरमैला व्यवस्थापनमा समस्य हुन थालेको छ । बजार क्षेत्रका घर, तरकारी पसल, होटल तथा रेष्टुरेन्टबाट निस्कने कुहिने तथा नकुहिने फोहर व्यवस्थापनका लागि स्थायी फोहर व्यवस्थापन केन्द्र (ल्याण्डफिल्डसाइट) नहुँदा नगरपालिकाले फोहर मादी नदी किनारको भतेरीमा व्यवस्थापन गर्दै आएको छ । जथाभावि रुपमा फोहर फ्याक्दा वातावरण प्रदुषण हुनुका साथै फोहरको गन्ध नजिकका बस्तिसम्म पुग्ने गरेपछि स्थानीयले विरोध गर्दै आएका छन् ।

यस्तै, अघिल्लो कार्यकालको पाँच वर्षमा नगरपालिकाले ल्याण्डफिल्ड साइट अध्यायन भ्रमणका नाममा करिव २ लाख २० हजार रुपैयाँ र ल्याण्डफिल्ड साइट र ट्रस्ट निर्माणमा करिव ९ लाख रुपैयाँ खर्च गरिसकेको छ । २०७४ पुस ४ गते ६४ जनाको सहभागीतामा वलिङ भ्रमणमा ४९ हजार ५ सय, ०६५ असार २९ र ३० गते ३४ जनाको सहभागीतामा हेटौडा भ्रमणमा एक लाख ३६ हजार ८ सय र ०७८ माघ ४ गते १६ जनाको सहभागीतामा पुनः वलिङ भ्रमणमा ३२ हजार ५ सय रुपैयाँ खर्च गरेका छन् । नगरपालिका स्थापना भए यता फोहोर मैला व्यवस्थापनको अध्ययन अवलोकनका नाममा लाखौं रुपैयाँ खर्च भएपनि उपलब्धि भने शुन्य नै छ ।
नगरपालिका स्थापना भएदेखि व्यास–३ स्थित मादी नदि किनारा भतेरीमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । बाढीले भतेरीनै बगाएर लगेपछि व्यास–१ खकौलीमा व्यक्तिको जग्गा भाँडामा लिएर फोहोर व्यवस्थापन गरिएको थियो । ५÷६ महिनामा त्यो ठाउँ पनि भरिएपछि व्यास–१३ बेलबासमा अस्थायी ल्याण्डफिल्ड साइट बनाएको थियो । उक्त ल्याण्डफिल्ड साइट निर्माणका लागि नगरपालिकाले ७ लाख ५० हजार रुपैयाँ खर्च पनि गरेको थियो ।
बुद्धसिंह मार्ग स्थित बेलबासबाट सेती नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएकोमा पुनः प्रयोगका लागि संकलन गरिएको वस्तुमा आगलागि हुँदा र अव्यवस्थित रुपमा फोहोर व्यवस्थापन गरिएकामा त्यहाँ पनि अवरोध सृजना भएपछि अहिले नगरपालिकाले पुनः मादी नदी किनारको भतेरीमा नकुहिने फोहोरको व्यवस्थापन गर्दै आएको छ । नगरपालिकाले कुहिने र नकुहिने फोहोर घरबाटै वर्गीकरण गरिदिन आग्रह गर्दै आएपनि नगरबासीले उक्त कार्य नगरिदिदा नकुहिने फोहोर व्यवस्थापन केन्द्र थप प्रदुषित बन्ने गरेको छ ।
व्यासले गत जेठ महिनादेखि नगर क्षेत्रभित्र प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपनि व्यवहारिक रुपमा पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन । नगरपालिकाले प्लाष्टिकजन्य फोहोर उत्सर्जन घटाउने उद्देश्यले प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपनि बजार क्षेत्रका व्यापारिहरुले निर्णय कार्यान्वयनमा पूर्णरुपमा सहयोग गरेका छैनन् ।

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले पनि बजार क्षेत्रको फोहोर व्यस्थापनमा समस्य झेल्दै आएको छ । १६ वटा वडा रहेको यस नगरपालिकाको १–१२ वडासम्मको फोहोर संकलन गरी वडा नं. १ धारापानीस्थित तारेभीरमा फाल्ने गरिएको छ । नगरपालिकाले फोहोरको व्यवस्थापन सही ढंगले नगर्दा आफुहरु दुर्गन्धमा बस्नु परिरहेको स्थानीय लीलाराम पुरीले बताए । ‘पहिला हाम्रो वडामा फाल्न स्वीकृति दिइहाल्यौँ’, उनले भने, ‘अहिले यही फोहोरका कारण बालबालिका र वृद्धवुद्धामा विभिन्न रोगहरुका संक्रमण समेत देखापर्ने गरेको छ ।’
वीरेन्द्रनगर–१ धारापानीका बिर्मा फौंजाको घर झिंगा र लामखुट्टेको सास्तीसँगै डम्पिङ साइटको दुर्गन्धले बस्न नसक्ने अवस्था भएको छ । नगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोर उनकै घर छेउमा रहेको श्रीकृष्ण सामुदायिक वनमा अव्यवस्थित ढंगले फाल्दै आएको छ । उक्त फोहोरका कारण नै फौंजासहित करिब १६० घरधुरीको बस्ती दुर्गन्धको चपेटामा परेको छ ।
‘ट्रयाक्टरमा ल्याउने फोहोर सबै एकै ठाउँमा मिसाएर फाल्छन्, त्यो फोहोरको दुर्गन्धले गर्दा हाम्रो स्वास्थ्यमा समस्या भैसक्यो’, फौंजाले भनिन्, ‘फोहोर पनि बाटोमा खसाल्दै लैजान्छ, डम्पिङ्ग साइट बन्छ भनेको कति भैसक्यो, सबै फोहोर एकै ठाउँमा फालेपछि यो समस्या कहिल्यै समाधान हुदैन ।’
नगर क्षेत्रबाट उत्पादन भएको फोहोरका कारण वडावासीले सास्ती भोग्नु परेको वडा नम्बर १ का अध्यक्ष दिनेश खत्रीले बताए । ‘फोहोर विर्सजन क्षेत्रमा जानेक्रममा गाडीहरुले सुरक्षाका उपाय नअपनाउने र जथाभावी ल्याण्डफिल्ड साइडमा फोहोर बिसर्जन गरिदा स्थानीय दुर्गन्धको मार खेप्न बाँध्य छन्’, उनले भने, ‘फोहोर संकलनको जिम्मा पाएका ठेकेदारको लापरवाहीले झन् समस्य भएको छ ।’
वीरेन्द्रनगरमा मासिक ३२ ट्याक्टर अर्थात बार्षिक ७ हजार टनको हाराहारीमा फोहोर उत्पादन हुन्छ । जसमध्ये कुहिने फोहोर ६३ प्रतिशत र नकुहिने फोहोर ३७ प्रतिशत उत्पादन हुने गरेको नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगरमा दैनिक उत्पादन हुने फोहोर मध्ये आठ प्रतिशत रबर, १२ प्रतिशत प्लाष्टिक, चार प्रतिशत सीसा, १२ प्रतिशत पेपर, चार प्रतिशत कपडा र चार प्रतिशत अन्य फोहोर उत्पादन हु“दै आएको छ । जसमध्ये पनि ३० प्रतिशत फोहोर औद्योगिक क्षेत्रबाट उत्पादन हुने गरेको छ । त्यस्तै ३५ प्रतिशत घर र ३५ प्रतिशत पसलहरुबाट निस्कने गरेको छ ।

यस्तै वीरेन्द्रनगरमा नकुहिने फोहोरको व्यवस्थापनमा समस्य भएको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले बताइन् । उनले भनिन्, ‘वीरेन्द्रनगरमा कुहिने फोहोरको समस्य छैन । नकुहिने फोहोर जुन कबाडमा जादैन त्यसको व्यवस्थापन स्वरुप रिसाइकलको उपाय खोजिरहेका छौं ।’
उनले कुहिने फोहोरको कौशि खेती, किचन गार्डेनको काम प्रयोग हुने र बढी रहेका कुहिने फोहोर वायो ग्यास उत्पादनका लागि प्रयोग गरिने योजना रहेको बताइन् । ‘बजेटको समस्या छैन, करोडौको राजस्व आउछ त्यसलाई लगाउन सकिन्छ । फोहोरबाट आम्दानी गर्ने नगर मध्ये वीरेन्द्रनगर राष्ट्रियस्तरमै अगाडी आइसकेको छ’, उनले भनिन्, ‘गत वर्ष वातावरण विपद व्यवस्थापन तथा फोहोरमैला व्यवस्थापनको पुरस्कारनै हाम्रो नगरपालिकाले पाएको हो । आधारभुत नगर सरसफाईका आधारभुत इन्डिकेट सबै पुरा भैसके तर अब अब्बल तरिकाले अगाडी बढाउने योजना बनिरहेको छ ।’
सेफ्टीट्यांकीको फोेहोर व्यवस्थापनबाट नगरपालिकाले वार्षिक ८ लाख राजस्व आम्दानी गरिरहेको नगर प्रमुख ढकालले बताइन् । उनले भनिन्, ‘डम्पीङ्ग साइटलाई व्यवस्थित बनाउन लागि परेका छौ । अब एक दुई वर्षमै वीरेन्द्रनगरलाई फोहोर रहित शहर बनाउने छौं ।’










