पृथ्वीराजमार्ग विस्तार : आँवुखैरेनी-जामुने (पूर्वी खण्ड)को सत्रसयमा परीक्षण कालोपत्र सुरु
भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग विस्तार आयोजना अन्तर्गत आँवुखैरेनी-पोखरा सडक खण्डमा काम भइरहेको छ । राजमार्गको पूर्वी खण्ड अन्तर्गत आँवुखैरेनी-जामुने खण्डको आँवुखैरेनी-१ सत्रसयमा कालोपत्र गर्न सुरु गरिएको छ ।
पूर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार गत बिहीबारदेखि परीक्षण चरणको कालोपत्र गर्न थालिएको हो । सत्रसयस्थित एक सय मिटर सडक कालोपत्र गर्न सुरु गरेको उनले बताए ।
उनले भने, ‘पहिलो चरणको परीक्षण कालोपत्र सुरु भएको छ, गर्दै जाने हो, यति नै गर्नेछौं, यति समयमा भन्ने योजना छैन, माटोअनुसार कालोपत्र गर्नुपर्ने हुन्छ, परीक्षण गर्दै काम गर्दै जानेछौं ।’
तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको सडकखण्ड अन्तर्गत परीक्षण कालोपत्र गरिएको उनले बताए । यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउन र पक्की पुल तथा कर्ल्भर्ट निर्माणको काम भइरहेको छ । साथै सबवेस र फेसको काम पनि भइरहेको छ ।
पूर्वीखण्ड अन्तर्गत ‘टेस्टिङ पिच’का रूपमा आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्र गरिएको छ । सुवेदीका अनुसार चालु आर्थिक वर्षभत्रै सात किमी सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । ठेक्का तोकिएको समयमा सम्पन्न गर्ने गरी कामलाई तीव्र पारिरहेका प्रमुख सुवेदीले बताए ।
यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डको कामले भने गति लिन सकेको छैन । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।
पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस खण्डको म्याद विसं २०८१ भदौसम्म छ ।
विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैंक -एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ ।
चार लेनको बनाउँदा सडक सीमा दुइतर्फी २५-२५ मिटर हुनेछ भने बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगौंडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।









