तनहुँका ३८ हजार बालबालिकालाई विद्यालयमै खोप लगाइदै
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका ३८ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । पाँचदेखि १२ वर्षमुनिका ३८ हजार १५८ बालबालिकालाई विद्यालयमै फाइजर खोप लगाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन दिएसँगै जिल्लामा भदौ ७ गतेदेखि खोप लगाउन स्वास्थ्य कार्यालय तनहुँ व्यवस्थापनमा जुटेको कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताए ।
उनका अनुसार जिल्लाका १२० शैक्षिक संस्थामार्फत बालबालिकालाई खोप लगाइने छ । खोप अभियान सञ्चालनका लागि जिल्लाका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिसकिएको छ । अधिकारीले भने, ‘राष्ट्रव्यापी अभियान अन्तर्गत जिल्लामा पनि खोप अभियान सञ्चालनका लागि तयारीमा जुटेका छौं, स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकिएको छ ।’
पहिलो चरणमा भदौ ७ गतेदेखि १० गतेसम्म शुक्लागण्डकी र भानु नगरपालिकामा खोप अभियान सञ्चालन गरिनेछ । दोस्रो चरणमा भदौ ११ देखि १४ गतेसम्म व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ, घिरिङ, बन्दिपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, जिल्लाका १० वटै पालिकाका दुइ लाखभन्दा बढीले खोपको पूरा मात्रा लगाएका छन् । चार नगरपालिका र छ गाउँपालिकाका दुइ लाख १७ हजार ३०७ जनाले पूरा मात्रा लगाएको कार्यालयले जनाएको छ । त्यस्तै एक लाखभन्दा बढीले कोभिड खोपको अतिरिक्त मात्रा लगाएका छन् । एक लाख तीन हजार ३७६ ले अतिरिक्त मात्रा लगाएका छन् ।
भानु नगरपालिकाका १३ हजार ९६९, व्यास नगरपालिकाका २८ हजार ३१८, शुक्लागण्डकी नगरपालिकाका १३ हजार २९५, भिमाद नगरपालिकाका १२ हजार २७, म्याग्दे गाउँपालिकाका नौ हजार १९४, घिरिङ गाउँपालिकाका चार हजार ४९४, ऋषिङ गाउँपालिकाका आठ हजार १०१, देवघाट गाउँपालिकाका तीन हजार ८०८, बन्दिपुर गाउँपालिकाका तीन हजार ३४०, आँबुखैरेनी गाउँपालिकाका छ हजार आठ सय ३० ले अतिरिक्त मात्रा लगाएका छन् ।










