नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए/नभएको खुलेको थिएन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको छ । २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो।

उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् । तर उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

के हो कोरोनाको नयाँ प्रकार ?

कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार बेलायतको दक्षिणपूर्वी क्षेत्रमा डिसेम्बर महिनामा देखिएको थियो । यो साधारण कोरोनाभन्दा ५० प्रतिशत बढी संक्रामक हुने देखिएको छ । छिटो फैलिने भएकाले धेरै मानिस प्रभावित हुनसक्ने विशेषज्ञहरुको चेतावनी छ ।

यद्यपि अन्य असरहरु भने साधारण कोरोनाको जस्तै देखिएको छ । तर यसबारे थप अध्ययन जरुरी रहेकाले अहिले कुनै निष्कर्षमा पुग्नु हतार हुने जानकारहरुले बताएका छन् ।

कसरी निस्कियो नयाँ प्रकार ?

जानकारहरुका अनुसार मौसम, अनुकूल वातावरण वा अन्य कारणले समयसँगै भाइरस थप शक्तिशाली बन्दै जान्छ । यसरी भाइरसले आफूलाई परिवर्तन गर्ने प्रक्रियालाई ‘म्युटेसन’ भनिन्छ।

कुनै कमजोर व्यक्तिको शरीरमा रहेको कोरोना भाइरस थप शक्तिशाली बनेको र सोही भाइरस अर्को व्यक्तिमा सर्दा नयाँ प्रकारको बनेको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।

दक्षिण अफ्रिकामा पनि कोरोनाको अर्को प्रकार देखिएको थियो । कोरोनाको नयाँ प्रकार देखिएसँगै बेलायत र दक्षिण अफ्रिकामा धेरै मुलुकहरुले भ्रमण प्रतिबन्ध लगाएका थिए ।

कसरी सर्छ ?

कोरोनाको नयाँ प्रकार धेरै संक्रामक हुनुको कारण हावाबाट फैलिनु पनि हो । साधारण कोरोना हावाबाट केही कम फैलिने भएपनि नयाँ प्रकार हावाबाट धेरै फैलिन्छ । यद्यपि यो प्रारम्भिक अनुमान हो । अहिलेसम्म यसको पुष्टि भने हुन सकेको छैन ।

वैज्ञानिकहरुका अनुसार मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्नेलगायतका मापदण्ड पालना गरी नयाँ प्रकारबाट बच्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker