ढुक्क छन् खोप लगाएका ज्येष्ठ नागरिक

पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण वृद्धाश्रममा बस्दै आएका सबै ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोपको दुईवटै मात्रा लगाइसकेका छन् । शुरुमा पहिलो मात्रा लगाउँदा भने उनीहरूमा के होला कसो होला भन्ने निकै डर थियो ।

डरकै कारण अधिकांशले खोप लगाउन मानेका थिएनन् । खोप लगाउन नमानेका ज्येष्ठ नागरिकलाई वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलको प्रयासमा विश्वस्त पारी पहिलो मात्रा खोप लगाइएको थियो । पहिलो मात्रा लगाइएका ज्येष्ठ नागरिकले दोस्रो खोप भने सहजै लगाए ।

दुवै मात्रा खोप लगाइसकेपछि भने अहिले वृद्धाश्रममा बस्ने प्रत्येक ज्येष्ठ नागरिकले आफूलाई सुरक्षित महसुस गरेको अध्यक्ष प्रेम लिगलको भनाइ छ । “शुरुमा खोप लगाउन विश्वस्त पार्न धेरै नै प्रयास गर्नुप¥यो”, उहाँले भन्नुभयो, “अहिले भने दुवै मात्रा लगाइसकेका कारण उनीहरू आफ्नो स्वास्थ्य सुरक्षाप्रति ढुक्क देखिन्छन् ।”

दुवै मात्रा खोप लगाए पनि आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सरकारको निर्देशन भने सबैले पालना गरिरहेका छन् । कास्कीकै पोखरा महानगरपालिका–१७ स्थित पोखरा वृद्धाश्रममा बस्ने सबै ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाइसकेको वृद्धाश्रमका सचिव केशवराज लम्सालले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणबाट ज्येष्ठ नागरिक बढी प्रभावित हुन सक्ने अवस्थालाई दृष्टिगत गरी खोप प्राप्त हुनासाथ आवश्यक पहल गरी वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तत्कालै खोप लगाइएको उहाँले बताउनुभयो । लम्सालका अनुसार खोप लगाएसँगै ज्येष्ठ नागरिकमा आत्मविश्वास बढेको पाइएको छ । सरकारले पनि ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोपका लागि प्राथमिकता दिएको समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सञ्चालक सदस्यसमेत रहनुभएका उहाँको भनाइ छ ।

नेपालमा ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकको सङ्ख्या २७ लाख रहेको उहाँले जानकारी दिनुभयो । दुवै मात्रा खोप लगाएका ज्येष्ठ नागरिक आफ्नो स्वास्थ्य सुरक्षाबारे ढुक्क बनेको उहाँको भनाइ छ । कास्कीमा वितरीत खोपमध्ये कोभिसिल्ड पर्याप्त नआउँदा अझै पनि केही ज्येष्ठ नागरिक दोस्रो मात्रा लगाउन बाँकी रहेको जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले बताउनुभयो ।

जिल्लामा पहिलो पटक कोभिसिल्ड खोप लगाएका ६५ वर्र्ष उमेर समूहभन्दा माथिका करिब ३२ हजार नागरिक दोस्रो खोपको पर्खाइमा रहेको जानकारी दिँदै उहाँले उनीहरूलाई आउँदो आइतबार, सोमबारतिर कोभिसिल्डको दोस्रो मात्राको खोप लगाउने तयारी गरिएको बताउनुभयो ।

नेपालमा कुल जनसङ्ख्यामध्ये ६० वर्षभन्दा माथिका नागरिकको सङ्ख्या झण्डै १० प्रतिशत रहेको पोखरा वृद्धाश्रमका अध्यक्ष एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कुसुमकेशव पराजुलीले बताउनुभयो । ६० वर्षभन्दा माथिका नागरिकलाई ज्येष्ठ नागरिक भनिए पनि राज्यले प्रदान गरिने सामाजिक सुरक्षा लगायतका अधिकांश सेवा सुविधाका लागि भने ७० वर्ष उमेर पुग्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker