तनहुँका स्थानीय तहको नीति, कार्यक्रम : प्राथमिकतामा पर्यटन क्षेत्र 

कृष्ण न्यौपाने/दमौली

तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटनलाई प्राथमिकता दिँदै पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गरेका हुन् ।
आँबुखैरेनी गाउँपालिकाले अग्लो झोलुङ्गे पुलमा बन्जी जम्पको सम्भाव्यता अध्ययनदेखि जलपर्यटनसम्मका योजना अगाडि सारेको छ । आँबुखैरेनी-१ समस्तीपुरमा खुदीखोलामाथि नेपालकै अग्लोमध्येको झोलुङ्गे पुलमा बन्जी जम्पको सम्भाव्यता अध्ययनका लागि गाउँपालिकाले आगामी आवका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । समुन्द्र सतहबाट दुइ सय ७० मिटर उचाइमा अवस्थित उक्त पुललाई केन्द्रविन्दुमा राखेर पर्यटकीय गतिविधि सञ्चालन गर्ने उद्देश्यअनुरुप बन्जी जम्पको सम्भाव्यता अध्ययन गरिने चुमानको भनाइ छ ।
पृथ्वी राजमार्गअन्तर्गत बरादीदेखि साढे दुइ किलोमिटर दूरीमा अवस्थित उक्त पुलले पछिल्लो समय पर्यटकको ध्यान खिचेको छ । सामाजिक सञ्जालदेखि टिकटकबाट उक्त पुलको प्रचार भएपछि यहाँ पुग्ने पर्यटकको संख्या बढ्दो छ । गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत विसं २०७७ मा उक्त पुल निर्माण गरिएको हो । ‘डी’ टाइपको उक्त पुलको लम्बाइ दुइ सय २० मिटर छ । सो पुलमा एकैपटक चार सय ७५ पदयात्री आवतजावत गर्न मिल्छ । बाबिरो/प्रमिला जेभीले उक्त पुलको निर्माण गरेको हो ।
पुल पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेपछि गाउँपालिका यसको प्रवर्द्धनमा जुटेको छ । झोलुङ्गे पुललाई केन्द्रित गरेर गाउँपालिकाले पर्यटन विकासका योजना अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीलाई जानकारी भएसम्म नेपालको सबैभन्दा अग्लोमध्येको झोलुङ्गे पुल हो भन्ने छ, यो पुललाई केन्द्रित गरेर पर्यटनका योजना बनाउँदैछौ ।” पर्यटन प्रवर्द्धनका निम्ति झोलुङ्गे पुलसम्म आउने बाटो स्तरोन्नति गर्न लागिएको उहाँले बताउनुभयो। साथै झोलुङ्गे पुलमा आधारित रहेर साहसिक खेल सञ्चालन गर्ने योजना बनाइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँ बन्जी जम्पका साथै जिप लाइन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर डिपिआर बनाउँदैछौँ, यो एउटा नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुने निश्चित छ ।” उहाँका अनुसार झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई लक्षित गरी नजिकै रहेको गुरुङ बस्ती गिरानचौरलाई पर्यटकीय गाउँ बनाउने काम भइरहेको छ । त्यसका लागि चालु आवमा रु ३० लाख बजेट विनियोजन गरिएको थियो । “राजमार्गबाट नजिकै रहेको झोलुङ्गे पुल घुम्न आउने पाहुनालाई गुरुङबस्तीसम्म लैजान सकिए त्यहाँका स्थानीयको जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ”, चुमानले भन्नुभयो, “बिदा र शनिबारका दिन अन्य दिनभन्दा बढी पर्यटकको चहपहल हुन्छ ।” गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधमा जलपर्यटन सञ्चालन गर्ने नीति लिएको छ । त्यसका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । यहाँ मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य लिइएको छ ।
त्यस्तै, आँधीमूलको पर्यटनका लागि रु २० लाख र छिम्केश्वरी पर्यटनका लागि रु ५० लाख बजेट विनियोजन गरिएको अध्यक्ष चुमानले जानकारी दिनुभयो । हिलेखर्क र मिलनचौरलाई पर्यटकीय नमूना गाउँको विकास रूपमा विकास गर्न घरबास कार्यक्रम सञ्चालन गरिने नीति लिइएको चुमानको भनाइ छ । गाउँपालिकाले ऐनापहरामा ढुङ्गामा भगवानका आकृति खोप्ने काम गरिरहेको छ ।
पृथ्वी राजमार्गबाट नजिकै रहेको ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न यहाँका ढुङ्गामा आकृति खोप्ने काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले झोलुङ्गे पुल नजिकै रहेको आँधीमूलको पर्यटन प्रवर्द्धन गर्ने काम गरिरहेको छ । त्यसका लागि यहाँ कृत्रिम ताल निर्माण गर्ने योजना अगाडि सारिएको छ । अध्यक्ष चुमानले भन्नुभयो, “आँधीमूल पर्यटकीय धार्मिकस्थल हो, २० मिनेटको दूरीमा रहेको आँधीमूलमा कृत्रिम ताल बनाउँदैछौँ, झोलुङ्गे पुल र आँधीमूलको सही व्यवस्थापन गर्न सकिए यहाँका स्थानीयवासीको आर्थिक विकासका निम्ति महत्वपूर्ण भूमिका खेल्नेछ ।”
यस्तै, व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यलाई जोडेर टाकुरा पर्यटन सञ्जालको निर्माणलाई प्राथमिकता दिएको छ । नगरभित्र रहेका महर्षि वेदव्यासको एक सय आठ फिट अग्लो मूर्ति निर्माण, व्यास गुफा र पराशर ऋषिको तपोभूमि पराशर क्षेत्र जोड्ने पुलमा व्यास झुला निर्माण, ऐतिहासिक तनहुँसुर दरबार क्षेत्र, भगवती पानी, छाब्दी बराह, मानुङकोट, गलेखाम कोट, कालिका सहिद जङ्गल पार्क, क्यामिन कालिका, खड्कादेवी मन्दिर, अकला मन्दिर, कर्लुङकोट, ओम सिद्धेश्वरी राजापानी महादेव लगायतका टाकुरा एवं मन्दिरको संरक्षण एवं संवर्द्धन गर्न र टाकुरा पर्यटन सञ्जालको नीति अवलम्बन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।
तनहुँसुर क्षेत्रलाई केन्द्रविन्दुमा राखेर भानु शान्ति निकुञ्जबाट तयार पारिएको पर्यटन गुरुयोजनालाई क्रमशः कार्यान्वयन गरिने र गुरुयोजनामा प्रस्ताव गरिएको १० वर्षे दीर्घकालीन सोच एवं अवधारणा अनुसार तात्कालीन, अल्पकालीन र मध्यकालीन कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको न्यौपानेले उल्लेख गर्नुभयो । व्यास-१० दुम्सीचौरमा पर्यटकीय प्रवर्द्धनका लागि नारेश्वर ताल निर्माण कार्यलाई निरन्तरता दिँदै पृथ्वी राजमार्गको विस्तारले ऐतिहासिक घाँसीकुवा र घाँसी पार्कमा आएको सङ्कटलाई सम्बर्द्धन पक्षको सहकार्यमा व्यवस्थित गरिने उहाँको भनाइ छ ।
यस्तै, शुक्लागण्डकी नगरपालिकाले पर्यटकीय क्षेत्रलाई संघीय र प्रदेश सरकारसँगको समन्वयमा पर्यटकीय स्थल पहिचान, संरक्षण तथा निर्माणको नीति लिएको छ । नगरभित्र रहेका सम्पूर्ण पर्यटकीय स्थल तथा पार्क व्यवस्थित गर्नका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय गरिने नगर उपप्रमुख खुमबहादुर विकले जानकारी दिनुभयो । भानु नगरपालिकाले भानुभक्त आचार्यको पूर्णकदको प्रतिमा खडा गर्नाका साथै भानु साहित्यिक उद्यानका रूपमा विकास गर्ने नीति लिएको छ । ‘भानु जन्मस्थल जाउँ, भानुलाई चिनाऔं’ नाराका साथ नेपालको गौरव नेपाली भाषीहरूको पौरखलाई र्सार्थकता दिन भानुको पूर्णकदको प्रतिमा निर्माणका लागि देश तथा विदेशस्थित दातृ निकाय, प्रदेश र संघ सरकारसँग समन्वय गरिने नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो ।
पहाडकी रानी नामले परिचित बन्दीपुर गाउँपालिकाले आगामी आवमा ‘सभ्य समाजको गाउँ : बन्दीपुर घुम्न जाउँ’ अभियान सञ्चालनको तयारी गरेको छ । बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन विभिन्न प्रवर्द्धनका कार्य प्राथमिकताका साथ अगाडि बढाइने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । बन्दीपुर आन्तरिक तथा बाहृय पर्यटकको गन्तव्यस्थलका रूपमा विकास भइरहेको र यसको थप प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउने योजना बनाइएको उहाँले बताउनुभयो ।
थापाले भन्नुभयो, “आगामी आवमा बन्दीपुर घुम्न जाउँ भन्ने अभियानलाई सफल बनाउन प्रचारप्रसारमा जोड दिन्छौँ ।” बन्दीपुरलाई पर्यटकीय केन्द्र बनाइने र त्यसका लागि पूर्वाधार निर्माणमा जोड दिइने अध्यक्ष थापाले बताउनुभयो । सो गाउँपालिकाका छवटै वडामा रहेका पर्यटकीय गन्तव्यलाई विकास गरिने नीति लिइएको उहाँले बताउनुभयो । उहाँका अनुसार देशका मुख्य सहर काठमाडौँ, पोखरा, बुटवल र विराटनगरमा बन्दीपुर घुम्न जाउँ अभियानसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । उहाँले भन्नुभयो, “पर्यटकीय स्थलको संवर्द्धन र प्रवर्द्धन गरी गाउँपालिकालाई पर्यटनका माध्यमबाट समृद्ध बनाउने सोच राखिएको छ ।” अध्यक्ष थापाले गाउँपालिकाभित्र रहेका होमस्टेको विकास, पर्यटकीय लक्षित उत्पादनलाई प्राथमिकतामा राखिएको बताउनुभयो । गाउँपालिकाभित्र जिप फ्लायर र रक क्लाइम्बिङको सम्भाव्यता अध्ययन गरिने उहाँको भनाइ छ । पर्यटकीय नगरी बन्दीपुर भित्रिने पर्यटकको लगत राख्न पर्यटन सूचना केन्द्र स्थापना गरिने अध्यक्ष थापाले बताउनुभयो । होमस्टको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरी होमस्टे सर्किटको विकास गर्ने नीति लिइएको थापाको भनाइ छ । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker