प्रथम दमौली पाटन महोत्सवको तयारी अन्तिम चरणमा
भञ्ज्याङ समाचारदाता/दमौली

यही मंसिर २४ देखि सञ्चालन गरिने प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव २०७८ को तयारी ७० प्रतिशत पूरा भएको छ । पाटन युवा क्लबका अध्यक्ष अमर थापाले महोत्सवको तयारी ७० प्रतिशत पूरा भएको बताए । महोत्सवका लागि प्रचारप्रसारको कार्य तिब्र रुपमा भइरहेको जानकारी उनले दिए । व्यास-५ को तल्लो पाटनमा हुने उक्त महोत्सव स्थललाई झकीझकाउ पार्ने काम भइरहेको उनले बताए । महोत्सव भव्य रुपमा सम्पन्न गर्न पाटनका बासिन्दाहरु एक भएर लागेको सचिवालय संयोजक दिनेश लामिछानेले बताए ।
३ वटा ठाउँमा गेट निर्माण गर्ने, पोष्टर पम्पलेटिङ गर्ने, माइकिङ गर्ने, काम भइरहेको महोत्सवका मूल संयोजक एवं सल्लाहकार पवन चुमी थापा मगरले बताए । महोत्सवका लागि कलाकारहरुको टुंगो लागिसकेको अजित राइले बताए । महोत्सव स्थलमा दर्शकको सुविधाका लागि २ वटा बसको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।










