तनहुँको बन्दीपुरमा मौलिक चुड्कामा रमाए विदेशी पर्यटक

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा फ्रेन्च पर्यटक मौलिक चुड्कामा छमछमी नाचेका छन् । बन्दीपुर घुम्न आएका विदेशी पर्यटकलाई यहाँका होटल व्यवसायीले शुक्रबार राति चुड्कामा नाच्ने व्यवस्था मिलाएका हुन् ।
स्थानीय युवायुवतीले गाएको गीतमा पर्यटक छमछमी नाचेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल हेरिटेजका सञ्चालक किसान प्रधानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुर आएका विदेशी पर्यटकलाई यहाँको संस्कृति, रीतिरिवाजबारे जानकारी दिन चुड्का गीतमा नचाएका हौँ, उहाँहरू खुसी हुँदै नाच्नुभयो ।”
करिब ५० जनाको संख्यामा फ्रेन्च पर्यटक बन्दीपुर आइपुगेका छन्। उनीहरूलाई मौलिक वेशभूषामा सजाएर नचाइएको थियो । त्यस्तै, बन्दीपुर घुम्न आएका चिनियाँ पर्यटक पनि नेपाली गीतमा नाचेका छन् । रेशम फिरिरी गीतमा पर्यटकहरू नाचेका हुन् । “नेपाली गीतसङ्गीतप्रति उहाँहरूको निकै रुचि भएको पायौं, पर्यटकहरू खुसी हुनुभयो”, प्रधानले भन्नुभयो ।
बन्दीपुरमा यतिबेला विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल बाक्लिएको छ । चिसो मौसम बन्दीपुरका लागि पर्यटनमा राम्रो मानिन्छ । यतिबेला बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिने क्रम बढेको छ । यो वर्षको वैशाखदेखि यता बन्दीपुरमा करिब चार हजार विदेशी पर्यटक आएका छन् । पर्यटन विकासको समितिको तथ्याङ्कअनुसार सबैभन्दा बढी चीनका पर्यटक छन्। बन्दीपुरमा २६ देशबाट पर्यटक आएका छन् ।
बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्विटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ । वैशाखदेखि भदौसम्म बन्दीपुर आउने चिनियाँ पर्यटक एक हजार छ सय २२ छन् । वैशाखमा २२, जेठमा ३२, असारमा ९६, साउनमा छ सय ३० र भदौमा आठ सय ४२ चिनियाँ पर्यटक बन्दीपुर भित्रिएका थिए ।
चिनियाँ पर्यटकपछि बन्दीपुर आउनेमध्ये धेरै इटालीका छन् । इटालीका पाँच सय आठ जनाले बन्दीपुर भ्रमण गरेका छन्। यस्तै, जापानका ६२, स्पेनका ४२३, नेदरल्याण्डका ६७, फ्रान्सका १०५, अमेरिकाका ४२, जर्मनीका ७७, डेनमार्कका आठ, पाकिस्तानका ३६, अष्ट्रेलियाका १३१, बेलायतका ४४, आयरल्याण्डका १३, दक्षिण कोरियाका ३०, बेल्जियमका २९, थाइल्याण्डका २६, ताइवानका ३४, स्वीटजरल्याण्डका २५, मलेसियाका ४७, होल्याण्डका १३, पोर्चुगलका ११, चेक रिपब्लिकका २६, इरानका ३३, भारतका चार सय ६४, ग्रिसका १० र अर्जेन्टिनाका ३१ जनाले बन्दीपुरको भ्रमण गरेका छन् ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।
बन्दीपुरमा होटल संघसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूको आकर्षणको केन्द्रविन्दु बन्ने गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker