व्यवहारिक र सीपयुक्त शिक्षा प्रदान गर्न प्रभात माविमा “पुस्तकरहित शुक्रबार”

भानु : विद्यार्थीलाई विद्यालय तहमै व्यवहारिक र सीपयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले तनहुँको भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात माध्यमिक विद्यालयले पुस्तकरहित शुक्रबार ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम अगाडि बढाएको छ ।
विद्यालयको वार्षिक कार्यपात्रो अनुसार विद्यार्थीहरूलाई सीप र ज्ञानमा समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह होस् भन्ने उद्देश्यले विद्यालयले विद्यार्थीहरुलाई मकैको खोसेल्टाको चकटी निर्माण, कम्प्युटर मर्मत, चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, विद्युतीय वायरिङ र सार्वजनिक बोल्ने सीप जस्ता गतिविधिहरूमा प्रत्यक्ष सहभागि गराइएको विद्यालयका प्रधानाध्यापक चिज कुमार सुर्खालीले बताए ।

‘यस प्रकारका कार्यक्रम सञ्चालन पश्चात विद्यार्थीहरूको सृजनात्मकता र सीप विकासमा योगदान पुग्ने हामीले विश्वास लिएका छौं’, प्रधानाध्यापक सुर्खालीले भने, ‘विद्यार्थीहरुलाई पाठ्यपुस्तकमा मात्रै केन्द्रित गराई पठनपाठन गराउँदा व्यवहारिक र सृजनशिलता नदेखिएकाले हामीले पाठ्पुस्तक बाहेक हप्ताको एक दिन प्रत्येक शुक्रबारलाई पाठ्यपुस्तक रहित दिनका रुपमा अगाडि बढाएर सृजनात्मक र व्यवहारिक शिक्षामा केन्द्रित रहने योजना बनाएका छौं ।’
यस कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सीपसँग जोड्नका लागि मकैको खोसेल्टाको चकटी निर्माण (पहिलो चरण) गरिएको छ । विद्यार्थीहरुलाई आफ्नै घरमा सहजै उपलब्ध हुने मकैको खोसेल्टाबाट चकटी निर्माणको सीप प्रदान गरिएको छ ।

शिक्षकहरु मानकुमारी खवास, प्रतिमा खड्गी र रेख बहादुर थापाले विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए भने खोसेल्टाबाट चकटी निर्माण कार्यमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
यस्तै, पाठ्यपुस्तक रहित शुक्रबार कार्यक्रममा विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा समेत प्रदान गर्न थालिएको छ । यसका लागि विद्यालयका पूर्व विद्यार्थी भानु–६ सिम्पानी निवासी विभिन्न व्यक्तिहरूले विद्यालयको १० वटा नचल्ने कम्प्युटर करिब १५ हजार ५ रुपैयाँमा मर्मत गरी विद्यालयलाई उपलब्ध गराएका छन् ।

विद्यालयले विद्यार्थीहरुलाई चित्रकला, हाजिरी जवाफ, बाल क्लबको प्रश्न पत्र निर्माण र विद्युतीय वायरिङ्ग जस्ता कार्यशालाहरू समेत गर्दै आएको प्रधानाध्यापक सुर्खालीले जानकारी गराए ।
यस्तै, विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले विद्यार्थीलाई विभिन्न जीवनोपयोगी सीपमा तालिम प्रदान गर्दै कक्षा ०–६ का लागि नैतिक शिक्षा र अभ्यास कार्यक्रम समेत सञ्चालन गर्दै आएका छन् ।










