सम्पादकीय : बत्तिमुनिको अध्यारो – व्यासभूमिको उज्यालो कहिले ?

तनहुँको सदरमुकाम दमौली– जहाँ वेदव्यासको नामसँग जोडिएको अमर कथा वास गर्छ। यहीँ, सेती र मादी नदीको संगममा अवस्थित व्यास पराशर क्षेत्रलाई हिन्दू धर्मका दृष्टिले अत्यन्त पवित्र स्थल मानिन्छ । यही भूमिमा व्यास ऋषिले महाभारत, चारवेद र अठार पुराणको रचना गरेका थिए । धर्म, संस्कृति र इतिहासका दृष्टिले यति अमूल्य स्थल आज पनि “बत्तिमुनिको अध्यारो” जस्तै किन बनेको छ भन्ने प्रश्न निरन्तर गुँजिरहेको छ । व्यास पराशर क्षेत्र केवल तनहुँ वा गण्डकी प्रदेशको मात्रै गौरव होइन, यो सम्पूर्ण हिन्दू सभ्यताको साझा धरोहर हो। महाभारत र वेदहरू मानव सभ्यताको ज्ञान, नीति र जीवनदर्शनका प्रतीक हुन्। यी ग्रन्थहरू जस स्थानमा सिर्जना भए, त्यो भूमि विश्वकै धार्मिक केन्द्र बन्न सक्थ्यो। तर विडम्बना– व्यास जन्मभूमि र पराशर ऋषिको तपोभूमि आजसम्म पनि राष्ट्रिय प्राथमिकतामा आउन सकेको छैन ।
व्यास नगरपालिकाले केही समयअघि व्यासको १०८ फिट अग्लो मूर्ति निर्माणका लागि आधारशिला राखेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा पाँच करोड ८४ लाख ८४ हजार रुपैयाँ खर्चमा मूर्ति अड्याउने स्तम्भ निर्माण कार्य अघि बढाइएको थियो । तर, यो कामले पनि गतिलिन सकेको छैन । धार्मिक पर्यटनका दृष्टिले यो परियोजना निकै महत्वपूर्ण भए पनि आवश्यक बजेट, प्राविधिक ध्यान र राजनीतिक प्रतिबद्धता नहुँदा यसको गति सुस्त छ । व्यास गुफा, पराशर गुफा, माछाकुण्ड, शिवपञ्चायन मन्दिर, मानुङकोट जस्ता स्थलहरू दमौली वरिपरिका धार्मिक–सांस्कृतिक सम्पदाको श्रृंखला हुन्। व्यासगुफा जहाँ व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको विश्वास गरिन्छ, त्यसको पारिपट्टी पराशर ऋषिको गुफा छ। मादी र सेती नदीको संगममा झोलुङ्गे पुलमार्फत पुगिने पराशर क्षेत्र आज पनि मौन श्रद्धाको प्रतीक बनेर उभिएको छ। तर ती स्थलहरूमा पुग्ने बाटो, सूचना पाटी, सरसफाइ र प्रकाशको व्यवस्था अभावमा सामान्य तीर्थयात्रीहरूलाई समेत सहज हुँदैन ।
पोखरा जस्तो अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य जाने पर्यटकहरूको प्रवेशद्वारमा नै पर्ने दमौलीले धार्मिक पर्यटनका हिसाबले धेरै सम्भावना बोकेको छ। बन्दीपुर, मानुङकोट, व्यासगुफा, पराशर गुफा, छाब्दी बाराही र माछाकुण्डलाई समेटेर तयार पारिएको एउटा व्यवस्थित ‘व्यास सांस्कृतिक परिक्रमा मार्ग’ बन्न सकेमा यो क्षेत्र धार्मिक र प्राकृतिक दुवै दृष्टिले अनोठो आकर्षण बन्न सक्छ। तर यस्तो पहल अझै अवधारणाको सीमाभन्दा बाहिर निस्कन सकेको छैन । व्यास भूमिको महिमा शास्त्रमा जति उज्यालो छ, व्यवहारमा त्यो त्यति नै ओझेलमा छ। यसको प्रमुख कारण भनेको योजनाबद्ध प्रवद्र्धनको अभाव हो। प्रचारप्रसार र व्यवस्थापनका दृष्टिले नगरपालिकाको प्रयास सीमित छ र स्थानीय जनस्तरका अभियानहरू पनि टुटेफुटेका छन्। विगतमा केही संघसंस्थाले व्यास पराशर क्षेत्रका बारेमा वृत्तचित्र, पुस्तक र प्रचार अभियान थालेका थिए, तर ती प्रयास स्थायित्व पाउन सकेनन्।
धार्मिक पर्यटन नेपालका लागि केवल आस्थाको विषय होइन, आर्थिक सम्भावनाको क्षेत्र पनि हो। लुम्बिनी, पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ, गोरखनाथ जस्ता तीर्थस्थलहरू धार्मिक आस्थासँगै रोजगारी, पर्यटन व्यवसाय र सांस्कृतिक पहिचानका केन्द्र बनेका छन्। व्यासभूमिले पनि यस्तै स्थान पाउन सक्दछ– यदि सरकार र स्थानीय समुदायले मिलेर दीर्घकालीन योजना बनाए भने। व्यास पराशर क्षेत्रको विकासका लागि अहिले नै आधारभूत पूर्वाधारमा लगानी गर्न जरुरी छ। सडक पहुँच, पदमार्ग, प्रकाश, पानी, शौचालय, बासस्थान, सूचना केन्द्र र धार्मिक कथा–व्याख्या कक्षहरूका साथै डिजिटल माध्यमबाट यसको प्रचार गर्न सकिन्छ । व्यास ऋषिको जीवन र सन्देश प्रस्तुत गर्ने ‘व्यास म्यूजियम’ वा ‘ज्ञान ग्यालरी’ स्थापना गरिएमा यो केवल तीर्थ नभई शिक्षणस्थल पनि बन्न सक्छ । साथै, व्यास जन्मस्थान माछेकुण्डदेखि व्यासगुफा, पराशर गुफा र मानुङकोटसम्मको धार्मिक परिक्रमा पर्यटन प्रवद्र्धन अभियानलाई राष्ट्रिय परियोजनाका रूपमा लिनुपर्छ। संस्कृति मन्त्रालय, गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाले संयुक्त कार्यदल गठन गरी कार्ययोजना अघि बढाउने समय आएको छ ।
हामीले व्यासभूमिको महत्व विदेशी पुस्तालाई सुनाउने मात्र होइन, आफ्ना नयाँ पुस्तामा गर्वका साथ जगाउने जिम्मेवारी पनि छ। ज्ञान, धर्म र संस्कृतिको माटो मानिएको यो भूमि हामीले नचिनेसम्म यसको उज्यालो विश्वमा पुग्दैन । अब आवश्यकता प्रचारको मात्र होइन, प्रतिबद्धताको हो। व्यासको गुफामा लेखिएको महाभारतले जस्तै, हाम्रो आधुनिक समयले पनि एउटा नयाँ कथा लेख्न सक्छ– विकास, संस्कृति र आत्मपहिचानको । तर त्यसका लागि व्यासभूमिलाई “बत्तिमुनिको अध्यारो” होइन, “ज्ञानको उज्यालो” बनाउनुपर्नेछ ।










