तनहुँको भानु नगरपालिकाको वडा वडामा सार्वजनिक सुनुवाई
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाले सबै वडामा सार्वजनिक सुनुवाई गर्ने भएको छ । प्रत्येक वडाका वडाबासी समक्ष चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिक प्रगति समिक्षा, हालसम्म भए गरेका काम कारवाही, समस्याहरू, भावि योजनाका बारेमा जानकारी गराउने र सेवा प्रवाहको गुणस्तर र यसको प्रभावकारिता, जनताको सन्तुष्टि तथा आगामी दिनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव लिने नगरपालिकाले योजना बनाएको छ ।
वडा नं. ४ का अध्यक्ष अर्जुन बहादुर बोहोराले वडाको समष्टिगत प्रगति समीक्षा सहभागिहरुलाई जानकारी गराएका थिए भने वडा सचिव पुष्पा लम्सालले सहजिकरण गरेकी थिइन् । सार्वजनिक सुनुवाईमा सहभागि वडाबासिहरुले आ-आफ्ना विचार, भावना, सेवा प्रवाहको गुणस्तर र वडाबाट सम्पादन गर्नुपर्ने कार्यका बारेमा सुझावहरू दिनुका साथै समग्र भानु नगरपालिकाले विकास निर्माण र नागरिकलाई दिने सेवा प्रवाहका विषयमा सुझावहरु दिएका थिए ।
कार्यक्रममा नगरप्रमुख आनन्दराज त्रिपाठीले नगरपालिकाबाट प्रवाह हुने सेवालाई सहज र नागरिकमैत्री बनाउने काम भएको बताए । उनले भने, ‘नगरपालिकाले प्रथम चौमासिकमा भए गरेका काम कारवाहीका विषयमा सबै वडावडामा सार्वजनिक सुनुवाई गरी नागरिकहरुको राय सुझाव लिने र आगामि दिनमा सोही अनुसार काम गर्ने योजना पनि बनाएका छौं ।’
कार्यक्रममा उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत दीपक प्रसाद खतिवडा, नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, शाखा प्रमुखहरूले वडाबासीहरुले उठाएका जिज्ञासाको सहजिकरण गरेका थिए ।
नगरबासिले सार्वजनिक सुनुवाइ सुशासनको आधार भएकोले यसलाई निरन्तरता दिनुपर्ने, समग्र नगर विकास योजनाको मार्गचित्र (गुरूयोजना) तयार गर्नुपर्ने, कार्यक्रम निर्माण गर्दा सम्बन्धित लक्षीत वर्गसँग समन्वय गरी तय गर्नुपर्ने, जग्गा वर्गीकरणको काम यथासंभव छिटो टुंग्याउनु पर्ने, किसानले उत्पादन गरेको उपजलाई बजारको सुनिश्चितता गर्नुपर्ने, चालू खर्चमा न्युनीकरण र पुँजीगत खर्चमा बढोत्तरि गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।
यस्तै, योजना तथा कार्यक्रम कार्यान्वयनको क्रममा अनुगमन कार्यलाई प्रभावकारी बनाउनु पर्ने, बाल विकास केन्द्रहरू थप गर्नुपर्ने, सामुदायिक विद्यालयको मर्मतसम्भारमा ध्यान दिनुपर्ने, सार्वजनिक सुनुवाइ कार्यक्रमलाई थप व्यवस्थित, पारदर्शी प्रभावकारी बनाउन थप तयारीका साथ आयोजना गर्नुपर्ने र सबैलाई प्रगति प्रतिवेदन लिखित रूपमा दिइनुपर्ने, पूर्वाधार मध्य भानुमा सबैभन्दा ठुलो समस्याको रूपमा रहेको खानेपानीलाई प्रमुख प्राथमिकतामा राखी अन्य सडक, विद्युत, सिंचाइ, शिक्षा, स्वास्थ्य, कृषि पशु आदिमा लगानी बढाउनु पर्ने सुझाव नागरिकले दिएका छन् ।
यस्तै, सहभागिहरुले बहुवर्षीय योजनाको रूपमा रहेका र नगरका गौरवका योजनाहरूलाई उच्च प्रथमिकता दिई चलायमान गराउनुपर्ने, समयमा कार्यसम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गरी कालो सूचीमा राख्नुपर्ने, योजना निर्माण गर्दा समाजका विभिन्न वर्ग र क्षेत्रका व्यक्तित्वहरूसँग समन्वय र परामर्श गरी तय गरिनु पर्ने लगायतका सुझावहरु दिएको नगरपालिकाका शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।










