नयाँ बर्षमा घुम्न जाने हो ?

के.बि. मसाल

नयाँ वर्षमा धेरैको सोच घुमफिर गर्नेमा हुन्छ । नयाँ बर्ष नयाँ सोच, नयाँ उत्साह र नयाँ उमंगको पर्व पनि हो । नयाँ ठाउँको घुमफिरको मज्जा छुट्टै हुन्छ। नयाँ वर्षमा पारिवारिक सदस्य तथा साथीभाईसँग घुमफिरमा गएर रमाइलो गर्ने प्रचलन बसेको छ । नयाँ बर्षलाई मानिसहरुले गलत कुरा परित्याग गर्ने र असल आचरण अपनाउन सुरु गर्ने अवसरका रुपमा पनि लिने गर्छन् । घुमफिरलाई खुल्ला विश्व विद्यालय पनि भनिन्छ । घुमफिरले मानिसहरुलाई धेरै ज्ञान प्राप्त हुन्छ ।
घुमफिरको लागि कहाँ जाने ? सबैलाई नयाँ ठाउँको खोजी हुन्छ। नेपालमा घुमफिर गर्ने धेरै स्थान छन् । प्राकृतिक सम्पदा संग रमाउने की ? तीर्थाटन गर्ने की ? ऐतिहासिक सम्पदाको अवलोकन गर्ने ? त्यसको निर्णय घुमफिरमा निस्कन भन्दा पहिलानै गर्दा राम्रो हुन्छ । घुमफिरमा निस्कनु भन्दा पहिले आफु पुग्ने स्थानको बारेमा जानकारी लिदा यात्रामा सजिलो हुन्छ । नेपालमा घुमफिरको लागि सातै प्रदेशमा रमणिय पर्यटकीयस्थलहरु छन । आफ्नो रुचि, समय र घुमफिरको लागि हुने खर्चको लेखाजोखा गरी यात्राको प्याकेज बनाउदा एउटै यात्रामा धेरै ठाउँ पुग्न सकिन्छ । घुमफिरमा समूहमा जादा खर्च पनि कम लाग्ने र यात्रामा रमाइलो पनि हुन्छ ।

बन्दीपुर

पर्यटनको लोकप्रिय गन्तव्यका रुपमा बन्दीपुर सूचीकृत भइसकेको छ । त्यसैले त पहाडकी रानी उपमा पाएको बन्दीपुरमा विदेशीभन्दा नेपालीहरु धेरै पुग्दछन् । बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । नेवार जातीको रहनसहन, संस्कृति र प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पनि पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको अर्को विशेषता हो । बजारबाट दश मिनेटको दुरीमा रहेको टुँडिखेलबाट हिमाल मात्र होइन फराकिलो क्षितिजमा फैलिएका तनहू, लमजुङ र गोरखा जिल्लाका फाँट, पहाड र गाउँ पनि देखिन्छन् ।
हिमाल र मस्र्याङदी नदीले बनाएका उपत्यका हेर्दा बन्दीपुर पुग्ने जो कोहि पर्यटक आनन्द महसुस गर्दछ । बन्दीपुरलाई मौलिकताको नमुना सहर भनिन्छ । बन्दीपुरमा रहेका परम्परागत घरका कारण बन्दीपुरको पर्यटनमा टेवा मिलेको छ । काठका बुट्टा कँुदिएका झयाल तथा ढोकाहरु, प्यागोडाशैलीका घर पर्यटनका लागि बन्दीपुरको मुख्य आकर्षण हुन । कतिपय पर्यटकहरु तिनै घरहरुको फोटो लिने गर्दछन् । वन्दीपुरमा जाने पर्यटकहरुको लागि ऐतिहासिक धार्मीक स्थलहरु आकर्षण केन्द्र बनेको छ । वन्दीपुरमा १८ औ शताब्दीमा स्थापीत खडक देवीको मन्दीर विन्दवासिनी, थानिदेवी, नारायण, पारपानी महादेव, तिनधारा महादेव, मुकुन्देश्वरी, बन्दीपुरमाका मुख्य धार्मीकस्थल मानिन्छन ।

कसरी पुग्ने

डुम्रेबाट बन्दीपुरसम्म पक्की सडक छ । बन्दीपुरसम्म सार्वजनिक बस पनि छ। डुम्रे बजारबाट बन्दीपुर जादा सडक यात्रामा मनोरम हिमश्रृंखला, पहाड र टाकुरा हेर्न सकिन्छ। डुम्रे बजारबाट बन्दीपुर जाने बस र जिपहरु पाइन्छ । अर्को तर्फ आजभोली बन्दीपुर जानको लागि पृथ्वीराजमार्ग अर्थात डुम्रे नजिकै ठूलोढुङगा देखि केवुलकारको समेत सुबिधा भएको छ ।

रारा

रारा त्यसै रमाइलो, उसै रमाइलो । वर्षभरको तनाव, धपेडी भुलेर उन्मुक्त रमाउन चाहनेहरु किन रारा नपुग्ने? नयाँ वर्षको फुर्सदमा राराको यात्रा स्मरणीय हुनसक्छ । वदिलइरहने पृष्ठभूमीमा गाढा निलो पानीले भरिएको यो ताल हेर्दा साँच्चैको स्वर्ग पुगेको आभास मिल्छ । मुगु जिल्लामा रहेको रारा नेपालकै सवैभन्दा ठूलो ताल हो । राराको कन्चन पानीमा स्नो ट्राउट माछादेखि हास, जलेवा, क¥याङकुरुङ जस्ता चराहरु जलक्रिडामा मस्त हुन्छन् । रारा ताल स्वच्छ पानीमा नीलो आकाशको छायाका कारण गाढा नीलो देखिन्छ । तालको वरिपरी घुम्नका लागि ट्रेकिङ रुट छ । सफा पानीमा स्नो ट्राउट माछा तथा हाँस, जलेवाजस्ता चराहरु डुबुल्की मारेको दृष्यले राराको वातावरणनै भिन्न देखिन्छ ।
दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरुले सजिएर मानौ स्वर्गकी अप्सरा जस्तै देखिन्छ। रारा तालको अर्को विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला जातको हिमाली माछा पाइन्छ। रारा तालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारा तालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृंखलाको मनोरम अवलोकन गर्न समेत सकिन्छ । रारा तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छ। रारा क्षेत्रमा पुगेपछि पाइने प्राकृतिक आनन्द, चिसो हावा, वरिपरि जंगलले घेरिएको रारा साँच्चै मनमोहक छ ।

कसरी पुग्ने?

रारा पुग्न पनि दुई वटा बाटो छन। नेपालगञ्जबाट करिब ४० मिनेटको हवाई यात्रामा मुगुको ताल्चा बिमानस्थल र त्यहाँबाट करिव २ घण्टा पैदल यात्रामा ताल पुग्न सकिन्छ । यस्तै स्थल मार्ग हुँदै जानको लागि कोहलपुर हुँदै सुर्खेत पुग्नु पर्ने हुन्छ। सुर्खेतबाट दैलेख, कालिकोट सदरमुकाम मान्म, नाग्म र जुम्लाको सिन्जा उपत्यका, भुलभुले हुँदै रारा ताल पुग्न सकिन्छ । सुर्खेत देखि गाडीमा करिब १ दिनको यात्रा गर्नुपर्ने हुन्छ रारा पुग्न ।

शे–फोक्सुण्डो

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा फैलिएको छ। यसको क्षेत्रफल ३ हजार ५५५ वर्ग किलोमिटर छ । यो निकुञ्ज २०५० सालमा स्थापना गरिएको हो । यस निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो तथा एक ऐतिहासीक शे गुम्बा रहेका छन र यिनीहरुकै नाम जोडेर यसको नामाकरण गरिएको हो । शे–फोक्सुण्डो ताल ३ हजार ९०० मिटरको उचाईमा डोल्पा जिल्लामा पर्दछ । यस तालको लम्बाइ ४.८ कि.मी., चौडाइ १.६ कि.मी. र गहिराई १४५ मिटर रहेको सन २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा एउटा सर्वेक्षणले देखाएको थियो । कान्जिरोवा हिमालको काखमा रहेको शे–फोक्सुण्डो ताल वाई आकारको छ ।

कसरी पुग्ने ?

हवाई यात्रामा नेपालगञ्जबाट सिधै डोल्पाको जुफाल विमानस्थलमा र त्यहाँबाट पैदल त्रिपुराहुँदै तालसम्म पुग्न सकिन्छ । स्थलमार्गबाट यहाँ जान बाँकेको कोहलपुर सुर्खेतको छिन्चुहुँदै दायाँ लागेर जाजरकोट भएर भेरी नदीको किनारै किनार डोल्पाको सदरमुकाम दुनै सम्म गाडीमा यात्रा गर्न सकिन्छ । दुनै देखि पैदल २ दिनमा शे–फोक्सुण्डा तालमा पुग्न सकिन्छ ।

म्याग्दीको पुनहिल

आँखै अगाडि विश्वको सातौँ अग्लो धौलागिरी हिमाल । त्यसैले पर्यटकहरु धौलागिरी हिमाल हेर्न म्याग्दीको पुनहिल पुग्छन । यो स्थान धौलागिरी हिमश्रृंखला हेर्ने सबैभन्दा उपयुक्त स्थान हो । समुन्द्री सतहबाट ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिलबाट धौलागिरी, अन्नपूर्ण माछापुच्छ«े, नीलगिरी लगायत १५ वटा हिमालको मनोरम दृश्य अवलोकन गर्न पाइन्छ । त्यस्तै पुन हिल अन्नपूर्ण हिमश्रृंखलाको भ्यु पोइन्टको रुपमा पनि लिइन्छ । पुनहिलको बाटोमा जहाँबाट पनि मनै लोभ्याउने सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । घुमफिरमा हिमाली श्रृखला अवलोकन गर्ने सोचमा हुनुहुन्छ भने पुनहिलको पुग्न सके राम्रो हुन्छ ।

कसरी जाने ?

कास्कीको घोरेपानीबाट आधा घण्टाको उकालो हिँडेपछि पुनहिल पुगिन्छ पुनहिल पदयात्राको क्रममा दुईवटा विकल्प छन। एक, पुनहिल पदयात्रा मात्र र अर्को, पुनहिल हुँदै अन्नपूर्ण हिमालको आधार शिविरसम्मको यात्रा । पोखरादेखि पुनहिल पुगेर फर्कनका लागि पाँच दिन लाग्छ । अन्नपूर्ण हिमालको आधारशिविर पुगेर फर्कनका लागि भने आठ दिन लाग्छ । पोखरादेखि पुनहिल र पुनः पोखरा फर्कनका लागि पाँच दिनको समय छुटयाउनु उपयुक्त हुन्छ ।

मुक्तिनाथ

नयाँ बर्षमा घुमफिर र तीर्थाटन गर्न धेरै मानिसहरु मुक्तिनाथ पुग्ने गर्दछन । मुक्तिनाथ हिन्दु तथा बौद्ध मार्गीहरुको लागी महत्वपूर्ण तीर्थस्थल हो। यो समुन्द्रको सतहदेखि ३ हजार ७१० मिटरको उचाईमा गोरङगा हिमालको फेदिमा रहेको छ । मुक्तिनाथ ५१ शक्तिपिठ मध्ये एक पिठको रुपमा पूजाआजा स्नान र दर्शन गरिन्छ। बौद्धधर्म अनुसार यसलाई च्यूभीग ग्यातुसा भनिन्छ । जसको अर्थ तिब्बतीय भाषा अनुसार एक सय आठ पानी हो । मुक्तिनाथ मन्दिरमा भगवान विष्णु लगायत देवीलक्ष्मी र गरुड भगवानको मूर्ति राखिएको छ । सबै मूर्ति सुनले बनेका छन् । मुक्तिनाथ धार्मिक स्थलमा १ सय आठ धाराहरु छन् । ती धाराहरुमा सबै तीर्थयात्रुहरुले नुवाउँछन् । सबै धाराहरुमा साडेको मुख आकृती रहेको छ । यो सबै राजा मुकुन्द सेनले बनाएका हुन भन्ने कुरा इतिहासमा उल्लेख छ । टिवेटन धर्म दर्शन अनुसार गुरु रिन्पो चे टिवेटन बुद्धधर्मका जन्मदाता यहि मुक्तिनाथको बाटो गरी तपस्या गरेर टिवेट गएका भन्ने जनविश्वास गरेको छ । मुक्तिनाथको १ सय ८ धाराबाट निस्किएको पानीकोस्रोत नै कालीगण्डकीको मुहान हो । कालीगण्डकीको किनारामा नेपालमा अन्य नदीमा नपाइने ढुङगा शालिकग्राम पाइन्छ। जुन ढुङगालाई हिन्दुधर्ममा भगवान नारायणको साक्षत रुप मानिन्छ ।
मुक्तिनाथ जादा उपल्लो मुस्ताङ पनि पुग्न सकिन्छ । विशेष गरी पहिले तिब्बती साम्राज्यको एक भागको रुपमा रहेको ल्हो क्षेत्र सँस्कृति र भौगोलिक दृश्यको कारणले पनि तिब्बत जस्तै लाग्छ । जोमसोमबाट उपल्लोे मुस्ताङसम्म सवारी साधन चल्न थालेपछि आन्तरिक पर्यटकको पनि चाप बढेको छ । जोमसोमबाट सवारी साधनमार्फत एक दिनको यात्रा गरेपछि माथिल्लो मुस्ताङ पुगिन्छ । माथिल्लो मुस्ताङमा जीवनशैली अन्य जिल्लाहरुको भन्दा फरक भएकोले पनि यो क्षेत्रमा पर्यटकहरु धेरै पुग्ने गर्दछन । उपल्लो मुस्ताङ आश्चर्यजनक खालका चट्टानहरुले घेरिएको र मरुभूमी जस्तो देखिने भौगोलिक दृश्यको बिचमा गाँउहरु र त्यहाँका हरिया खेतहरुले मरुभूमिको बिचमा बगैँचा जस्तो देखिन्छ । उपल्लो मुस्ताङमा पर्यटकहरुले नौतले गुफा, मौलिक संस्कृति, जीवनशैली, मनमोहक प्राकृतिक दृष्य तथा कोरला नाका अवलोकन गर्न सक्दछन ।

कसरी पुग्ने ?

पोखराबाट जोमसोमसम्म हवाई यात्रा पनि गर्न सकिन्छ । पोखरादेखि कालिगण्डकी करिडोर पर्वत, म्यादी हुँदै पुग्न सकिन्छ । मुक्तिनाथको बेस रानीपौवा सम्म बस पुग्दछ। त्यहाँबाट आधा घन्टाको पैदल यात्रामा मुक्तिनाथ पुगिन्छ । जोमसोमदेखि माथिल्लो मुस्ताङ साना गाडीमा ६ घण्टामा पुग्न सकिन्छ ।

तिलिचो ताल

तिलिचो ताल वाह्य पर्यटक मात्र होइन आजभोली आन्तरिक पर्यटकहरुको पनि आकर्षणको गन्तब्य बनेको छ । करिब ५ हजार मिटरको उचाइमा रहेको तिलिचो ताल मनाङ जिल्लामा पर्दछ । कूल ४.८ वर्ग किमीभन्दा बढी क्षेत्रफलमा फैलिएको तिलिचो ताल वरिपरी सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन । हिमालको छाया तालमा परेको दृश्य लोभै लाग्दो हुन्छ । तिलिचो ताल विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको ताल मानिन्छ । अन्नपूर्ण पदयात्रा गर्ने सबैले थोराङ पास गर्दा यो तालमा पुग्दछन । ताल हेर्नका लागि जुनसुकै समयमा जान सकिँदैन । असोजदेखि मंसिरसम्म र चैतदेखि जेठ सम्म पुग्दा राम्रो हुन्छ । धेरै अग्लो स्थानमा रहेको र नजिकै रहेका हिमालले गर्दा बढी चिसो र लेक लाग्ने सम्भावना बढी हुन्छ । तालसँगै मनाङको संस्कृति र भौगोलिक बनोटले पनि पर्यटकहरुको मन लोभ्याउँछ ।

कसरी जाने ?

तिलिचो ताल जान पहिलो दिन लमजुङको बेसिसहर वा त्यो भन्दा माथि पुग्न सकिन्छ । बेसिशहरदेखि उपल्लो मनाङको खाङसारसम्म जान साना गाडीहरु पाइन्छ । खाङसार हुँदै तिलिचो बेसक्याम्प बस्नु पर्नेहुन्छ । बेसक्याम्पबाट ४ घण्टामा ताल पुग्न सकिन्छ । तालको छेउमा बस्ने व्यवस्था नभएकाले बेसक्याम्पमा फर्किनु पर्ने हुन्छ ।

कन्याम

इलाम जिल्लाको कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीयस्थल हो । कन्याम इलामको सूर्योदय नगरपालिकामा पर्दछ । कन्याममा मनोरम चियाबारी भएकोले आन्तरिक एवं बाह्य पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत नयाँ बर्षको अबसरमा गर्मी छल्न ठूलो सख्यामा पर्यटकहरु कन्याममा घुम्न र वनभोज गर्न पुग्दछन् । कन्यामबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुकासाथै सगरमाथा, कुम्भकर्ण जस्ता विश्वमै ख्याती प्राप्त हिमालको मनोरम दृश्य देख्न सकिन्छ । कन्याम घुम्न जाने मानिसहरुले घोडा चढेर चियाबारीमा घुमफिर गर्दै मनोरञ्जन लिन्छन् ।

कसरी जाने ?

कन्याम जानको लागि झापाको चारआलीबाट सवारी साधन पाइन्छ। कन्याममा बस्न खान होमस्टे पनि छ । पर्यटकहरुलाई कुनै असुबिधा हुदैन । ट्रेकिङ जान घुम्नको लागि शारीरिक रुपमा पूर्ण स्वस्थ हुनु पर्दछ । शारीरिक रुपमा पूर्ण रुपमा स्वस्थ भएन भने ट्रेकिङ गर्न सम्भव हुँदैन । कतिपयलाई प्रेसर, सुगरजस्ता रोग हुन सक्छ । यसका लागि खानपिनमा विशेष ध्यान दिनु पर्दछ । खासगरी, उच्च हिमाली क्षेत्रमा जाँदा लेक लाग्ने अर्थात अल्टिच्युड सिकनेस लगायत अन्य विभिन्न स्वास्थ्य समस्या हुन सक्छन । चार हजार मिटरभन्दा माथि लेक लाग्न सक्छ। मौसमका कारण पनि स्वास्थ्यमा समस्या आउन सक्दछ । त्यसैले आफ्नो स्वास्थ्यप्रति सजग र सचेत हुनु पर्दछ । हिमाली क्षेत्रमा हावा चलिरहने भएकाले टाउको दुख्न सक्दछ । त्यसका लागि सिटामोल लगायतका औषधि बोक्नु पर्दछ । फेरि अनावश्यक सामान राखेर झोला भारी पनि बनाउनु हुँदैन । तौल धेरै भएको झोला पनि बोक्न हुँदैन । ट्रेकिङ गरेको एक–दुई दिनमै ज्यान भारी हुने भएकाले कम तौल भएको भारी बनाउनु पर्दछ । ट्रेकिङ सुज, क्याप, चस्मा, ली, पानीको बोतल, सनब्लक क्रिम, बडीलोसनलगायतका सामान अनिवार्य लानु पर्दछ । यसबाहेक हलुका लुगा, ज्याकेट पनि लैजान आवश्यक छ । अग्लो तथा चिसो स्थानमा ट्रेकिङ जाँदै हुनुहुन्छ भने डाउन ज्याकेट बोक्नु पर्दछ ।

कस्तो खानेकुरा खाने ?

कतिपय ठाउँमा होटेल–रेस्टुरेन्ट उपलब्ध हुँदैनन । त्यसैले यस्ता ठाउँमा जाँदा आफूलाई चाहिन सक्ने खानेकुरा बोक्न बिसर्नु हुँदैन । त्यस्तै, मौसम परिवर्तन भइरहने भएकाले बिरामी पर्ने समेत सम्भावना रहन्छ । त्यसैले खानेकुरामा विशेष ध्यान दिनुपर्छ। हाइजेनिक खानेकुरा खाइरहने गर्नुपर्छ । सकेसम्म इनर्जी दिने चकलेटहरु बोक्दा राम्रो हुन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker