आज साउने संक्रान्ति, हराउँदै लुतो फाल्ने संस्कृति

आज साउन १ गते साउने संक्रान्ति अनि नेपाली गाउँघरमा लुतो फाल्ने दिन । असारभर खेतीपाती गर्दा हिलोका कारण लाग्न सक्ने छालासम्बन्धी रोगबाट बचाउने विश्वासमा लुतो फाल्ने चलन चल्दै आएको छ । तर, पछिल्लो समय लुतो फाल्ने संस्कृति लोप हुँदै गएको छ ।

यसको एकातिर सांस्कृतिक महत्वको पर्व हो भने अर्कोतिर मानव स्वास्थ्यको लागि महत्वपूर्ण वनस्पति रक्षा गर्ने एउटा माध्यम पनि हो । तर हिजोआज लुतो फल्ने चलन कम भएसँगै यी वनस्पतिको संरक्षण पनि हुन सकेको छैन ।

साउन १ गते लुतो फालेपछि छालासम्बन्धी विभिन्न रोगबाट मुक्ति पाइने शास्त्रीय जनविश्वास छ । पछिल्लो समय यो संस्कारमा कमी आइरहेको भए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ ।

त्यस्तै केही धार्मिक तीर्थस्थलमा सामाजिक रुपमा नै लुतो फाल्ने प्रचलन परम्परागत रुपमा चलिआएको छ ।

वर्षको दुइवटा ठूला संक्रान्तिमध्ये साउने संक्रान्ति पनि एक हो । देवताको उत्तरायनमा दिन र दक्षिणायनमा रात हुन्छ भन्ने मान्यता छ । पञ्चांग निर्णायक समितिका अनुसार विवाह व्रतबन्ध आदि कार्यको लागि उत्तरायण राम्रो मानिन्छ भने हाम्रा महत्वपूर्ण चार्डहरु दक्षिणायनमा पर्ने गर्दछ ।

लुतो फाल्ने विधि

साउने संक्रान्तिको दिन कतिपय ठाउँमा संक्रान्ति सुनाउन जाने चलन अहिले पनि देख्न सकिन्छ । संक्रान्ति सुन्ने र यस दिन स्नान गरेर दान गर्दा पुण्य प्राप्त हुन्छ भन्ने मान्यता छ ।

लुतो फाल्ने दिन दिउँसो जंगल तथा खेतबारी, खोलाखोल्सीमा गएर विभिन्न प्रजातिका वनस्पतिहरु संकलन गर्ने गरिन्छ । यस दिन भलायोको पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला, नास्पति, निबुवा, मकैको बोट लगायतका विविध वनस्पति जम्मा गर्ने गरिन्छ । लुतो फाल्ने कर्म साउन १ गते साँझ गरिन्छ ।

सूर्यास्तपछि दिनभर जम्मा पारेको वनस्पतिको साथमा कन्दारकको पूजा गरिन्छ । जसलाई लुते देउताको रुपमा पनि चिन्ने गरिन्छ । यी सबै चीजबाहेक बिमिरो अथवा निबुवालाई राखेर पनि कन्दारकको पूजा गर्ने गरिन्छ । गाउँघर तिर पातीको सुकेको झिगल्ट बाल्ने र नाङ्ग्लो ठटाउने प्रचलन पनि छ ।

संस्कृतमा यो पर्वलाई ‘लुत निक्षेपण’ पर्वको नामले चिनाउने गरिएको छ । यसको अर्थ लुतो फाल्ने नै हो । यो हिलोमा बेस्सरी काम गर्दा हुन सक्ने हिले खटिरा हटाउने र छालाको संक्रमणबाट बच्ने उपाय मानिन्छ ।

पूजा सकेपछि दियालो बालिन्छ । कुरिलो डाँठमा राखेर आगो बालिसकेपछि त्यो दाउरा आफैं पडि्कन सुरु हुन्छ । कुरिलोको डाँठलाई पाँचदेखि सातवटा मुठा बनाइएको हुन्छ । ती सबैलाई अगुल्टोको रुपमा प्रयोग गरिन्छ । दाउरालाई सबै दिशातिर फालिन्छ ।

कन्दारकको पूजाको समयमा घरमा कसैले ढिकी कुट्ने, कसैले नांग्लो ठटाउने वा शंख फुक्ने जस्ता काम गर्ने गरिन्छ । यसरी बाजा वा शंख फुक्दै पहिले मुठा बनाइएको अगुल्टोलाई अर्को गाउँलेको नाम लिएर लुतो फाल्ने गरिन्छ । अर्को गाउँलेले पनि यही विधिबाट नै आफ्नो सम्मुख गाउँलेको नाम लिएर लुतो फाल्ने गर्छन् ।

ऊबेलाको लुतो फाल्ने चलन

पहिले र अहिलेको लुतो फाल्ने चलनमा धेरै परिवर्तन भएको देखिन्छ । अहिले धसिंगलेसँगै नरकटका बोट, तितेपातीजस्ता विभिन्न वनस्पति वनपाखा गएर जम्मा गर्ने संस्कृति हराएको पाइन्छ । यसको साटो छवालीका मुठा बाल्ने चलन छ । पहिले लुतो फाल्ने परम्पराका नाममा विविध वनस्पतिको संरक्षण गरिने परिपाटी हराएको देखिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker