तनहुँमा २७५ जना बालबालिकाले स्वर्णविन्दु प्राशन सेवा लिए

दमौली : तनहुँमा बालबालिकालाई लक्षित स्वर्णविन्दु प्राशन कार्यक्रम सोमबार दोस्रो चरणमा सम्पन्न भएको छ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीले सञ्चालन गर्दै आएको यस कार्यक्रममार्फत दोस्रो चरणमा २७५ जनााई सोमबार स्वर्णविन्दु प्राशन गराइएको छ ।
एकदेखि पाँच वर्ष उमेरका बालबालिकाले यो सेवा लिएका छन्। कात्तिक २५ गते सञ्चालन गरिएको पहिलो चरण सफल भएपछि दोस्रो चरण पनि प्रभावकारी रूपमा सम्पन्न भएको चिकित्सालयका कविराज निरीक्षक भोजरी रानाभाटले जानकारी दिए।
उनका अनुसार सोमबार बिहान ७ देखि १० बजेसम्म सेवा वितरण गरिएको थियो । उनले भने, “१–२ वर्षका बालबालिकालाई दुई थोपा र २–५ वर्षका बालबालिकालाई चार थोपा स्वर्णविन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षत्रमा खुवाइनेछ ।”
स्वर्णविन्दु प्राशनले बालबालिकाको तौल र उचाइ वृद्धि, बुद्धि विकास, तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास चिकित्सालयको छ । रानाभाटले अभिभावकलाई नियमित रूपमा आफ्ना बालबालिकालाई प्राशन गराउन आग्रह गरे ।
चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंका अनुसार स्वर्णभस्म, घिउ र मह उचित मात्रामा मिसाएर तयार पारिने यो प्राशन चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र खुवाइन्छ ।
चिकित्सालयले यस आर्थिक वर्षका लागि स्वर्णविन्दु प्राशन खुवाइने मिति पनि तोकेको छ । पुस २१, माघ १८, फागुन १६, चैत १४, वैशाख १०, जेठ ६, असार ३, साउन ९, भदौ ५, असोज २९ गते तय गरेको छ ।
स्वर्णविन्दु प्राशन कार्यक्रम यस वर्षदेखि मुलुकका २५ जिल्लामा विस्तार गरिएको छ भने प्रत्येक पुष्य नक्षत्रमा बालबालिकालाई यो सेवा प्रदान गरिने व्यवस्था गरिएको चिकित्सालयले जनाएको छ ।










