विश्व सम्पदा दिवसका अवसरमा “तनहुँसुर इको-ट्रेक”

भञ्ज्याङ समाचारदाता (दमौली)

विश्व सम्पदा दिवसका अवसरमा ‘तनहुँसुर इको-ट्रेक’ (पदयात्रा) गरिएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाका साथै जैविक विविधतामा रमाउन चाहनेका लागि उत्कृष्ट गन्तव्य स्थल बनाउने लक्ष्यका साथ व्यास नगरपालिकाले व्यास-११ को मुलपानीदेखि तनहुँसुरसम्म पदयात्रा कार्याक्रम गरेको हो । पदयात्रामा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायत सर्वसाधारणको सहभागिता थियो । केही समयअगाडि मात्रै सम्भाव्यता अध्ययन गरिएको उक्त पदमार्गको प्रचारप्रसारका लागि पदयात्रा गरिएको पर्यटन विज्ञ एवं सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए ।

पदयात्रा गर्न पुगेको टोलीलाई मुलपानीका स्थानीयवासीले बाजागाजा सहित स्वागत गरेका छन्। तनहुँसुरको प्रसिद्ध धार्मिकस्थल भगवतीपानी हुँदै तनहुँसुरसम्मको यात्रामा निस्केको पदयात्रीको टोलीलाई देवस्थल सामुदायिक घरबास, तनहुँसुर सामुदायिक घरबास सञ्चालकहरुले स्वागत गरेका थिए । व्यास-११ मूलपानीदेखि शुरु हुने पदमार्ग सोही वडाको तनहुँसुरसम्म पुगेर टुङ्गिनेछ । छोटो दूरीमा पदयात्रा गर्न चाहनेका लागि यो मार्ग उत्कृष्ट गन्तव्य रहेको पर्यटन विज्ञ गुरुङले बताए । करिब ६.५ किलोमिटर दूरीको उक्त पदमार्ग समुन्द्र सतहको ४७० देखि एक हजार २४० मिटर उचाइसम्मा अवस्थित छ ।

प्राकृतिक एवं ऐतिहासिक सम्पदा, धार्मिक र सांस्कृतिक धरोहरको संरक्षण गर्न सडक मार्गको विकल्पका रूपमा इको ट्रेक स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको र त्यसको प्रचार प्रसार तथा प्रवर्द्धनका लागि पदयात्रा कार्यक्रम गरिएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए । नगरप्रमुख न्यौपानेले भने, ‘नगरपालिकाले कृषि, पर्यटन र शिक्षालाई मुख्य प्राथमिकतामा राखेको र पर्यटकीय गतिविधिका माध्यमबाट स्थानीय समुदायको समृद्धिमा सहयोग पुर्‍याउन पदमार्गले सहयोग पुग्ने देखिन्छ ।’

पदयात्राका क्रममा ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरूको अवलोकन, तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप, गद्दी, चौतारा, बायस सिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, भगवतीपानी मन्दिर, विष्णु र शिव मन्दिर, टुँडिखेल, सिलखान, जारकाटे ढुङ्गा, शहीद पार्क, ऐनापहरा र छाप लगाउने ढुङ्गा अवलोकन गर्न सकिन्छ ।

पृथ्वीराजमार्गमा पर्ने घाँसीकुवादेखि मूलपानीसम्म करीब चार किमी मोटरयात्रा त्यसपछि चमेरेगुफा-भगवतीपानी मन्दिर-तनहुँसुर देवस्थल सामुदायिक घरबास हुँदै तनहुँसुरसम्म गढीसम्म पदयात्रा गर्न सकिनेछ ।

पदयात्रामा सहभागि व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देलले नेपालकै प्राचीन स्मारकस्थल मध्येको एक तनहुँसुर पुग्नका लागि विभिन्न सडक मार्गहरू छन्, ती सडक निर्माण गर्ने क्रममा दर्जनौँ पर्यटकीय सम्पदाहरू नष्ट भएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘यसले गर्दा हजारौंको संख्यामा विभिन्न प्रजातिका वनस्पतिको क्षति भएको छ भने पुराना गामबेँशी गर्ने गोरेटो बाटाहरू लोप हुँदैछन् ।’

यो पदयात्रा मार्गले प्राकृतिक एवं सांस्कृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण, स्वस्थ शरीर स्वच्छ वातावरण भन्ने मूल मन्त्रका साथ सबै उमेर समूहका लागि छोटो र सहज यस पदयात्राले तनहुँसुरको पर्यटन प्रवर्द्धन तथा समृद्धिका लागि सहयोग पुग्ने सिग्देलले विश्वास व्यक्त गरे । पदयात्रा सञ्चालनपूर्व विगत केही महिनादेखि नै तनहुँसुरवासीलाई वन संरक्षण, वृक्षरोपण, स्थानीय उत्पादनलाई प्राथमिकता दिन, अर्ग्यानिक खाना र सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन लगायत विषयमा प्रशिक्षण दिइँदै आएको थियो ।

पदयात्रा गरेर पुग्नेहरूलाई तनहुँसुरमा दुइवटा घरबासको सुविधा छ । तनहुँसुरमा सर्वसाधारणको आगमन हुन थालेपछि यहाँका स्थानीयवासी घरबास सञ्चालनमा कस्सिएका छन् । तनहुँसुर सामुदायिक घरबास र तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरेर स्थानीय पाहुनाको स्वागतका लागि आतुर छन् ।

तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाहृय पर्यटकलाई खाना तथा आवासको सहज व्यवस्थापन गर्ने उद्देश्यले भोरथोक र चण्दनीथोकका बासिन्दा मिलेर तनहुँसुर सामुदायिक घरबास सञ्चालित छ । कूल ४४ घरधुरीमध्ये आठ घरधुरीमा घरबास सञ्चालन गरिएको अध्यक्ष केबी थापाले जानकारी दिनुभयो । यहाँ ३० जना सम्मलाई बासको व्यवस्था मिलाउन सकिनेछ । मगर, नेवार दलितको बसोबास रहेको यहाँ मकै, कोदो, फापर, मास, बोडी, भट्टलगायत कृषि उपज उत्पादन हुने गर्दछ ।

यस्तै, पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका बासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरबास सञ्चालन गरिएको छ । कूल ३० घरधुरी रहेको यस ठाउँका १४ घरधुरीमा घरबास सञ्चालन गरिएको छ । उक्त घरबासमा ४० जना बास बस्न सक्ने अध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो । मगर, नेवार र दलितको बसोबास रहेको यहाँका घरबासमा आउने पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी, भट्ट लगायत परिकार खुवाइने घरबास सञ्चालक समितिका उपाध्यक्ष मदन आलेले जानकारी दिनुभयो ।

तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले २३० वर्षतनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरू, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा र भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । तनहुँसुरका बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भएबमोजिम राजा मुकुन्दसेनको मृत्यु परान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ ।

उक्त विवादमा दलभञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले तनहुँ र भाइ धर्माङ्गद सेनले ल म जुङ्ग भनेकाले लमजुङ नाम बन्न गएको किंवदन्ती रहेको छ । तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीर्रमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ ।

विसं २०२५ सालसम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाड जस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया रित्तिएको छ । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँलगायत ठाउँमा बसाइँ सरेर गएका छन् । तनहुँसुरबाट हिमशृंखला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker