नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

शरद् शर्मा/रासस

काठमाडौँ : नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो ।

केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । उहाँले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमति कम भइरहेको बताउनुभयो । उहाँले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएर घटेको बताउनुभयो ।

“हामीले सङ्क्रमितको पहिचान गरेर औषधि पद्धतिलाई राम्रो बनाएका छौँ”, उहाँले भन्नुभयो, “सबै सङ्क्रमित उपचारमा ल्याएका छौँ, ती उपचारमा रहेका सङ्क्रमितले औषधि खाएपछि अरुलाई सार्दैनन् र सङ्क्रमित कम हुँदै गएका छन् ।” औषधि खानेको शरीरमा भाइरसको भार न्यून हुने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिले देखिएका सङ्क्रतिमध्ये ८७ प्रतिशतले औषधि सेवन गरिरहेका छन् । औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सन् २०२३ सम्म नेपालमा ३० हजार ३०० व्यक्ति एचआइभी सङक्रमित रहेका छन् । विश्वमा आठ करोड ८४ लाख मानिस एचआइभी सङ्क्रमित र चार करोड २३ लाख व्यक्तिको एड्सका कारणले मृत्यु भइसकेको छ । सन् २०२३ मा विश्वमा १३ लाख मानिस एचआइभी सङक्रमित भएका थिए ।

यस्तै एचआइभीबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । सन् २०२३ मा २३१ जनाको सङक्रमणको कारणले मृत्यु भएको छ । सन् २०१० मा एक हजार सात सय जना व्यक्तिको एड्सको कारणले मृत्यु हुने गरेको थियो । नेपालमा सन् १९९८ मा पहिलो पटक एचआइभी एड्स देखिएको थियो ।

निर्देशक डा शर्माले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताउनुभयो । “अझै करिब पाँच हजार सङ्क्रमित उपचारभन्दा बाहिर रहेका छन्”, उहाँले भन्नुभयो, “हामी ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयासमा रहेका छौँ ।”

उहाँले एचआइभी सङक्रमितमाथि अझै समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताउनुभयो । नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशिने रहेका छन् ।

तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमणदर अरु जोखिम समूहभन्दा उच्च रहेको छ । सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ । यस्तै सन् २०१७÷१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिङ्गीमा छ दशमलव दुई प्रतिशतका दरले एचआइभी सङक्रमण रहेको पाइएको छ ।

सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षणअनुसार भारतमा कामदार नेपालीमा शुन्य दशमलव दुई प्रतिशत सङ्क्रमण रहेको पाइएको छ । नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरेअनुरुप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङगी तथा तेस्रो लिङ्गी र रोजगारका लागि विदेशीने तथा तिनका दम्पत्ती एवं जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम तथा सङ्क्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ ।

सोही योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति रहेको छ । अहिले अनुमानित एचआइभी सङ्क्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून गर्ने योजना सरकारको रहेको छ ।

केन्द्रका निर्देशक डा शर्माका अनुसार एचआइभी सङ्क्रमिमध्ये ९४ प्रतिशतको पहिचान, ८७ प्रतिशतको उपचार र ७४ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भइसकेको जानकारी दिनुभयो ।

हाल ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ । आइतबार डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ३७औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चतता गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker