तनहुँको म्याग्दे -४ स्थित ओटाङदी खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित ओटाङदी खानेपानी उपभोक्ता तथा सरसफाई योजनाको निर्माण सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गरिएको छ । वडा नं ४ का वडाध्यक्ष दीपक कुमार श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच आयोजनाको उद्घाटन गरी उपभोक्ता समितिलाई हस्तान्तरण गरेका थिए ।
गोरखा भुकम्पले खानेपानीको टंकीमा क्षति पुर्याएपछि खानेपानीको अभाव झेल्दै आएका ओटाङदीवासी एक घर एक धाराको अवधारणा अन्तर्गत घर घरमा खानेपानी पुगेपछि खुशी भएको स्थानीय मिना थापाले बताइन ।
उपभोक्ता समितिका अध्यक्ष नुरवहादुर थापाले खानेपानीको योजनाले ३० घर परिवारले सहज रुपमा खानेपानी उपभोग गर्न पाएको बताए । जनताको समस्या समाधानमा वडा र रिकभर परियोजनाले गरेको सहयोगले खानेपानी सहज भएको अध्यक्ष थापाले बताए ।
वडा कार्यलय, रिकभर परियोजना र उपभोक्ताको लागत सहभागिता गरी कुल १४ लाख ९० हजार रुपैयाँको लागतमा निर्मित ओटाङदी खानेपानी योजनाको कुल क्षमता २० हजार लिटर रहेको वडाध्यक्ष दीपक कुमार श्रेष्ठले बताए ।
जनताको न्युनतम आधारभुत आवश्यकतामा वडा सरकार गम्भिर भएको र वडावासी नै मिलेर वडाको विकास गर्नुपर्ने बताए । वडामा सिमित बजेट र साधन हुने हुँदा समुदाय नै मिलेर अगाडी बढ्नुपर्ने बताउँदै उनले आम जनताको आवश्यकता र चासोमा सदैव क्रियाशिल रही जनअपेक्षा अनुसार काम गर्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा पालिकाका कार्यपालिका सदस्य वद्रिका घिमिरेले जनताले चाहेमा हरेक योजना समयमा नै सम्पन्न हुने बताए । निर्माणको ४० दिनमा नै योजना सम्पन्न भएर उपभोक्ताले खानेपानी उपभोग गर्न पाएको र वडाले विभिन्न जनाधारित कार्यक्रम गरिरहेको बताए ।