एकै दिन ४४ जनामा संक्रमण : जानेबुझेकैबाट लापरवाही हुँदा तनहुँको दमौलीमा संक्रमण जोखिम बढ्यो (संक्रमितको तथ्याङ्क सहित)

नारायण खड्का (दमौली)

तनहुँमा एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । व्यास, शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाका नागरिकहरुमा संक्रमण पुष्टि भएको हो । आज शुक्रबार मात्रै व्यास नगरपालिकामा ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा शुक्रबार भेटिएका संक्रमितको संख्य अहिलेसम्मकै उच्च हो । बैंक, प्रहरी कार्यालय, औषधी व्यवसाय, कारागारका बन्दी सहित धेरै भिडभाडयुक्त ठाउँमा कार्यरत व्यक्तिमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

‘बुझेकै मानिसहरुले बुझपचाएर लापरवाहीपूर्ण व्यवहार गर्दा अहिले संक्रमणको दर वृद्धि भएको छ’, प्रमुख अधिकारीले भने, ‘के गर्दा कोरोना संक्रमणबाट सुरक्षित भइन्छ भन्ने जानकार भएकै मानिसहरुको व्यवहार लारपाहीपूर्ण छ । राम्रोसंग मास्क नलगाउने, मास्क नलगाइकन मर्निङ्गवाक गर्ने, बजार तथा भिडभाडमा घुमफिर गर्ने, व्यवसायी, बैंक, मालपोत कार्यालय तथा अन्य भिडभाड हुने ठाउँमा स्वास्थ्य मापदण्ड पालना नगरी लापरवाही गरेका कारण व्यास नगरपालिकाको बजार क्षेत्रमा कोरोना संक्रमण जोखिम उच्च बनेको छ ।’

‘जाने बुझेका मानिसहरुलाई घर बाहिर हिड्दा मास्क लगाउनुस् भन्दा खल्तिमा छ भन्ने, रिसाउने जस्ता व्यवहारपनि देखियो’, उनले भने, ‘कोरोना संक्रमण रोकथामका लागि सरकार तथा सरोकारवाला निकाय भन्दा पनि स्वायं व्यक्ति तथा व्यवसायी, बैंक तथा वित्तीय संस्था, मानिसको भिडभाड हुने सरकारी कार्यालयले पनि स्वास्थ्य सुरक्षाका सामाग्रि तथा भौतिक दुरी पालनामा सचेत बन्नुको विकल्प छैन ।’

यस्तै, मानिसहरुको लापरवाहीकै कारण बजार क्षेत्रमा कोरोना संक्रमण जोखिम बढेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती बताउँछन् ।

‘नगरपालिकामा एकै दिन ३३ जनामा संक्रमण पुष्टि भयो, यो अहिलेसम्मकै उच्च संख्या हो’, प्रमुख सोतीले भने, ‘आज जतिपनि व्यक्ति संक्रमित देखिएका छन् ती व्यक्तिहरु मानिसहरुको बढि भिडभाड हुने क्षेत्रमा कार्यरत व्यक्ति भएकाले थप जोखिम बढेको छ ।’

‘स्वास्थ्य सुरक्षाका सामाग्रि तथा मापदण्ड पालनामा लापरवाही भयो’, उनले भने, ‘बैंक तथा वित्तीय संस्था, व्यापारी, व्यवसायी, मालपोत कार्यालय जस्ता र्सवसाधारणको भिडभाड हुने स्थानमा स्वास्थ्य मापदण्ड पालनामा जिम्मेवार र सचेत नबने कोरोना संक्रमण भयवह बन्ने खतरा बढेको छ ।’

शुक्रबार साँझसम्म तनहुँमा कोभिड-१९ संक्रमणको तथ्याङ्क । स्रोत : जिल्ला स्वास्थ्य कार्यालय तनहुँ

‘नगरपालिकामा शुक्रबार संक्रमण पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमण फैलने जोखिमलाई न्यूनिकरण गर्ने प्रयासमा हामी लागेका छौ’, स्वास्थ्य शाखा प्रमुख सोतीले भने, ‘होम क्वारेन्टिनमा बस्ने तथा पीसीआर परीक्षणका लागि स्वाब नुमना दिएका मानिसहरु रिपोर्ट नआउँदै लापरवाहीपूर्ण व्यवहार गरी बजार डुल्ने जस्ता व्यवहारले थप जोखिम निम्त्याएको छ।’

भारत लगायत अन्य मुलुक, संक्रमण देखिएका क्षेत्रबाट आएका नागरिकले अनिवार्य रुपमा १४ दिन सुरक्षित रुपमा क्वारेन्टिनमा बस्नुपर्ने, घर बाहिर निस्कदा स्वास्थ्य सामाग्रिको प्रयोग, भौतिक दुरी कायम गर्ने, समय समयमा साबुन पानीले हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न व्यास नगरपालिकाले आग्रह गरेको छ ।

चार्डपर्व नजिकिएसंगै कोरोना संक्रमणको दर पनि बढ्दै जाँदा त्रासपूर्ण वातावरण सृजना भएको छ । मानिसहरुले कोरोना केही होइन् भन्ने सोचदै लापरवाही गर्दा जोखिम बढ्दै गएको छ ।

बैंकका १० सहित व्यासमा ३३ जना संक्रमित

व्यास नगरपालिकामा र्सवाधिक संक्रमण देखाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कमा व्यासमा मात्रै ३३ जनामा संक्रमण पुष्टि भएको छ । दमौलीको प्रभु बैंकमा कार्यरत व्यास-२ का ३ पुरुष र १ महिला, व्यास-१ र ४ का १/१ जना महिला तथा व्यास-१ का १ पुरुष गरी ८ जना संक्रमित भएका छन् ।

यसैगरी माछापुछ्र्रे बैंकमा कार्यरत व्यास-२ का २८ वर्षका पुरुष र लक्ष्मी बैंकमा कार्यरत अर्का एक जना संक्रमित भएका छन् । यस्तै, नगरपालिकाकै आईटी अफिसर २६ वर्षका पुरुष समेत संक्रमित हुन पुगेका छन् भने दमौलीकै निजी विद्यालय, औषधी पसले तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी, दमौली अस्पतालका कर्मचारी, कारागारका बन्दी समेत संक्रमित हुन पुगेका छन् ।

बन्दिपुरका एकै घरका ४ जना संक्रमित

बन्दिपुर गाउँपालिकामा एकै घरका ६ जना संक्रमित भएका छन् । काठमाडौंमा उपचारका क्रममा गएका डुम्रेको परिवारका दुइ महिला सदस्यमा संक्रमण भेटिए पछि गरिएको परीक्षणका क्रममा घरका सदस्य थप ४ जनामा संक्रमण पुष्टि भएको छ भने एक व्यवसायी समेत संक्रमित हुन पुगेका छन् ।

यस्तै, शुक्लागण्डकी नगरपालिकामा क्वारेन्टिनमा बसेका सहित ७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तनहुँको विवरण अनुसार शुक्रबारसम्म तनहुँमा ९ हजार १५१ जनाको पीसीआर परीक्षण गरिएकोमा ५५४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३९९ जना निको भएर घर फर्किएका छन भने ५ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न आइसोलेसनमा १५० जना उपचाररत छन भने ४७ जना क्वारेन्टिनमा बस्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker