तनहुँमा सात जना कुष्ठरोगी पहिचान : समाजमा अपहेलित हुने डरले खुल्न चाहदैनन्

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँमा चालु आर्थिक वर्षमा सात जना नयाँ कुष्ठरोगी पहिचान भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । ७०औं विश्व कुष्ठरोग दिवसका अवसरमा आयोजित एक कार्यक्रममा व्यास नगरपालिकामा तीन, आँबुखैरेनी गाउँपालिकामा दुइ, देवघाट गाउँपालिकामा एक र बन्दिपुर गाउँपालिकामा एक कुष्ठरोगी पहिचान भएका र उनीहरु सबैले नियमित औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा १८ कुष्ठरोगी रहेकामा सबै निको भइसकेका छन् । जिल्लामा कुष्ठरोगको औषधि पर्याप्त रहेको र यो निःशुल्क रहेको कार्यालयले जनाएको छ । सरकारको कुष्ठरोगमुक्त नेपाल बनाउने अभियान अन्तर्गत सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रति दश हजार जनसंख्यामा एकभन्दा कम गर्ने लक्ष्य छ । आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा तीन हजार २८२ कुष्ठरोगका नयाँ बिरामी फेला परेकामा १४ वर्षमुनिका बिरामी ३३७ थिए ।

दमौली अस्पतालका मेडिकल अधिकृत डा नवीन सुन्दासले कुष्ठरोगबाट हुने अपाङ्गता न्यूनीकरणका लागि सचेतनाको खाँचो रहेको र समयमै उपचार गर्न सकिए अपाङ्गता हुनबाट बच्न सकिने बताए । ‘नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भए पनि कुष्ठरोगी अझै पनि खुलेर बाहिर आउन सकेका छैनन्’, डा. सुन्दासले भने, ‘समाजमा अपहेलित हुने डरले यस्ता रोगी निर्धक्कसँग बाहिर आउन सकेका छ्रैनन् ।’

परम्परागत मान्यता, भेदभावलगायत कारणले कुष्ठरोगीलाई घृणा गरिने भएकाले उनीहरुलाई समाजमा खुलेर बस्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौती रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

‘कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन, जान्ने बुझने मान्छेहरुबाटै कुष्ठरोगी अपहेलित भइरहेका छन् । यसप्रति सकारात्मक भाव फैलाउन आवश्यक छ’, प्रमुख अधिकारीले भने, ‘कुष्ठरोगका बिरामीले आफ्नै घर नजिकैको स्वास्थ्य संस्थामा पुगेर औषधि नखाइ अन्यत्रै स्वास्थ्य संस्थाबाट औषधि सेवन गर्ने गरेका छन् ।’ उनले भने, ‘नजिकैको अस्पतालमा गएर औषधि सेवन गर्दा अरुले चिन्लान् भन्ने भय कुष्ठरोगीमा व्याप्त छ । त्यस्तो भय हटाउन स्वास्थ्य कार्यालयले पनि कुष्ठरोगका बिरामीलाई सचेतना दिने गरेको छ ।’

छ महिना वा एक वर्षसम्म नियमित औषधि खाएपछि निको हुने भएकोले कुष्ठरोगलाई ठूलो रोगको रूपमा लिन नपर्ने स्वास्थ्यकर्मी बताउँछन् । खुलेर आउन नसक्ने त्यस्ता बिरामीलाई अस्पतालसम्म ल्याइपुर्‍याउने वातावरण सिर्जना गर्नुपर्ने र कुष्ठरोगप्रतिको भ्रम हटाउन परिवार तथा समुदायमा पनि सही जानकारी दिन प्रचारप्रसार अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका स्वास्थ्य संस्थामा उपचाररत कुष्ठरोगीको तथ्याङ्क मात्रै कार्यालयमा आउने तर अन्यत्र उपचार गर्नेको तथ्याङ्क संकलन गर्न नसकिएको प्रमुख अधिकारीले बताए । उनले भने, ‘कतिपय त उपचार गर्नै नआउने पनि छन्, त्यस्ता व्यक्तिलाई कसरी अस्पतालसम्म लैजान सकिन्छ भन्ने मुख्य चुनौती भएको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker