तनहुँमा करिब ५६ प्रतिशत धान रोपाई

भञ्ज्याङ समाचारदाता/दमौली

असार महिना सकिन लाग्दा तनहुँमा बुधबारसम्म करिब ५६ प्रतिशतको हाराहारीमा धान रोपाई भएको छ । अघिल्लो वर्षहरुमा ७०/७५ प्रतिशत रोपाई हुने गरेपनि यस वर्ष समयमै मुलफुट्ने गरी वर्षा नहुँदा धान रोपाई हुन नसकेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारीले बताए ।

तनहुँमा करिब करिब ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिंचाई सुविधा रहेको छ । सिंचाई सुविधा भएका खेत तथा फाँटहरुमा धान रोपाई भएपनि आकाशे पानीको भरमा रोपाई गर्नुपर्ने खेत तथा फाँटहरुमा रोपाई हुन सकेको छैन ।

असार दोश्रो साता परेको झरीले पानीका मूल फुटेपछि गरिएको रोपाई पनि अहिले धाँजा फाँटेर विऊ मर्ने अवस्थामा पुगेको केन्द्रका प्रमुख तिवारीले बताए । उनले भने, ‘अबका केही दिनमा प्रयाप्त पानी नपरेमा धान खेती र उत्पादन समेत घट्ने छ । तनहुँमा साउन १५ गतेसम्म धान रोपाई गर्न सकिने अवस्था रहेपनि आवश्यक मात्रमा पानी पर्न नसक्दा धान खेतीमा असर पर्दै गएको छ ।’

असार अन्तिम सातासम्म पनि पानीको मूल फुट्न नसक्दा तनहुँका कृषकले रोपाई गर्न सकेका छैनन् । पर्याप्त वर्षा नहुँदा जिल्लामा आधा खेतमा पनि रोपाइँ हुन सकेको छैन । विगतका वर्षमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ सकिने अवस्थामा पुग्दथ्यो ।

मूल फुटेर, खहरे तथा अन्य खोलामा पानी आउने समयमा यस वर्षपानीकै अभाव भएपछि रोपाइँ हुन नसकेको कृषकहरु बताउँछन् । ‘पानी पर्ला र रोपाइँ सुरु गरौँला भन्ने सुरुमा छौ’, भानु नगरपालिका-१३ का देवबहादुर गुरुङ बताउँछन् ।

खेत र बारीका कान्लाका पानीका मूल फुटेका छैनन् । भेलबाढी बग्न पर्ने खोलामा खडेरीले गर्दा आजसम्म कमिला हिँड्ने गरेको कृषक गुरुङ बताउँछन् । केही वर्षअघिसम्म साउनको पहिलो सातासम्ममा रोपाइँ पूरा हुने गरेको थियो । पछिल्ला वर्षमा वर्षा अनियमित हुँदा कहिले धेरै छिटो त कहिले धेरै ढिलो रोपाइँ हुन थालेको छ ।

आकाशको पानी नपरेपछि खेतका कुना र कान्लाका मूल पनि फुटेको छैन । सिँचाइका लागि कुलो वा नहरको व्यवस्थापन भएका, खोल्साको आसपासमा भएका बाँझा जमिनमा रोपाइँ सकिएको भए पनि मकैखेती भएको मुख्य उत्पादनयोग्य भूमिमा रोपाइँ भएको छैन । मकै पाकेपछि थन्क्याएर रोपाइँका लागि खेतका गरा तयारी अवस्थामा राखिए पनि पानीकै अभावमा रोप्न नसकेको कृषकहरु बताउँछन् ।

‘लामो खडेरीका कारण यस वर्ष मकै खेती पनि राम्रो भएन’, कृषक गुरुङले भने, ‘यस वर्ष समयमै प्रयाप्त पानी नपर्दा धान रोपाई पनि हुन सकेको छैन । हप्तादिन भित्र प्रयाप्त पानी नपरे धान रोपाई पनि गर्न सकिदैन । अब के खाने भन्ने चिन्ता पर्न थालेको छ ।’

जिल्लाका विभिन्न ठाउँका कृषकले धारा वा मूलको पानी आलोपालो गरेर रोपाइँ गरिएको खेतमा पनि सिँचाइको अभावमा गरा चर्किएको बताएका छन् । असार लागेसंगै पशुचौपायमा लम्पी स्कीन रोग संक्रमणका कारण गोरु विरामी पर्ने तथा संक्रमण पश्चात गोरु मरेका कारण पनि कृषकले धान रोपाई गर्न पाएका छैनन् ।

तनहुँ लम्पी स्किन रोगबाट ४ हजार एक सय पशु संक्रमित भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए । उनका अनुसार हालसम्म ४७ वटा पशुको लम्पी स्किन संक्रमणबाट मृत्यु भएकामा जस्मा ४३ वटा गोरु रहेका छन् । हालसम्म १० हजार ५ सय पशुलाई रोग विरुद्धको खोप लगाइएको छ उनले बताए ।

तनहुँको कुल १ लाख ५४ हजार ६ सय हेक्टर क्षेत्रफल मध्ये ६५ हजार ५१ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेकोमा हाल ५१ हजार ५१० हेक्टर क्षेत्रफलमा खेती गर्दै आइएको कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कुल खेतीयोग्य जमिन मध्ये करिब २१ प्रतिशत अर्थात १३ हजार ५५१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन बाँझिएको छ । केन्द्रको तथ्याङ्क अनुसार तनहुँको १३ हजार ५८३ हेक्टर क्षेत्रफल जमिन सिंचित छ भने ६ हजार ३४७ हेक्टर क्षेत्रफल जमिनमा बाह्रै महिना सिचाई सुविधा उपलब्ध रहेको छ । ७ हजार २३६ हेक्टर क्षेत्रफलमा मौसमी सिंचाई छ भने ३७ हजार ९२७ हेक्टर क्षेत्रफल जमिनमा असिंचित रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker