बन्दिपुर गाउँपालिकाको प्राथमिकता पूर्वाधार निर्माण
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँपालिकाले वडा र स्वास्थ्य कार्यालयका भवन निर्माणलाई तीव्रता दिएको हो । जनप्रतिनिधि निर्वाचित भएर आएपछि तीनवटा भवन निर्माण सुरु गरिएकामा दुइवटा भवन निर्माण सम्पन्न भएको छ भने एउटा निर्माणाधीन अवस्थामा छ । वडा नं. १ को वडा कार्यालय भवन केही समयअगाडि मात्रै सम्पन्न गरिएको छ । एक करोड रुपैयाँको लागतमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । उनका अनुसार वडा नं ३ को कार्यालय पनि सम्पन्न भएर उद्घाटनको तयारीमा रहेको छ । वडा नं २ को कार्यालय भवन भने निर्माणमा केही ढिलाइ भएको छ । ‘ठेकेदारको लापरबाहीका कारण वडा नं २ को भवन निर्माणमा ढिलाइ भइरहेको छ’, उनले भने, ‘छिटो भवन निर्माण गर्न दबाब दिइरहेका छौँ ।’
वडा नं ५ को वडा कार्यालय विद्यालय भवनमा र ६ को पुरानै गाविस भवन मर्मत गरेर सञ्चालन भइरहेको छ । वडा नं ४ को कार्यालय खड्गदेवी मन्दिरका आडमा रहेको पुरानो विद्यालय भवनमा सञ्चालन भइरहेको छ । वडा नं ४ को भवन निर्माणका लागि जग्गा नपाइएको थापाले बताउनुभयो । ‘जग्गा नपाएका कारण उक्त वडाको भवन निर्माण गर्न सकिरहेका छैनौँ, गाउँपालिकाकै नजिक रहेको एक पुरानो भवनमा वडा कार्यालय सञ्चालित छ’, उनले भने ।
वडा कार्यालय भवन निर्माणसँगै गाउँपालिकाले वडा कार्यालयसम्म पुग्ने बाटो कालोपत्रसमेत गर्न थालेको छ । सोही बमोजिम वडा नं १ को कार्यालयसम्म पुग्ने बाटो कालोपत्रका लागि ग्राभेल सकिएको छ । वडा नं २ को कार्यालयसम्म पुग्ने बाटो भने कालोपत्र सम्पन्न भइसकेको छ भने ३ को कार्यालयसम्म पुग्ने बाटो सम्याउने काम भइरहेको छ । ४ को भवन गाउँपालिका भवनसम्म कालोपत्र भइसकेको छ भने ६ मा वडा कार्यालयतर्फबाट कालोपत्र गरिएको छ । ‘आफ्नै कार्यालयबाट सेवा प्रवाह गर्ने उद्देश्यसहित वडा कार्यालय भवन निर्माणलाई प्राथमिकता दिएका छौँ’, अध्यक्ष थापाले भने, ‘त्यसले सहज रूपमा सेवा प्रवाह गर्न पनि सहयोग पुग्छ ।’
वडा नं १ को वडा कार्यालय भवनको केही समयअघि मात्रै उद्घाटन गरिएको छ । वडा कार्यालयको भवन निर्माणका लागि बन्दीपुर गाउँपालिका-१ का कृष्णराज अधिकारीले आठ आना, कास्कीको घान्द्रुकका कुलप्रसाद गुरुङले आठ आना, बन्दीपुर गाउँपालिका-१ का सुनिल अधिकारीले तीन आना, पोखराका हेमबहादुर थापा, पूर्णकुमारी बराल, मोहनकुमारी कटुवाल र मानबहादुर थापाले संयुक्त रूपमा आठ आना जग्गा भवन निर्माणका लागि दान दिएका हुन् ।
गाउँपालिकाले स्वास्थ्य संस्थाको भवन निर्माणलाई समेत प्राथमिकता दिएको छ । सोही बमोजिम वडा नं १ र ३ मा स्वास्थ्य केन्द्रको भवन निर्माणाधीन अवस्थामा रहेको छ । असोजभित्र भवन निर्माण सम्पन्न हुने थापाले बताए । वडा नं २ को भवनको केही दिनअघि उद्घाटन भइसकेको छ । वडा नं ५ को भवन निर्माण सम्पन्न भएर उद्घाटन गरिएको छ भने ६ को पुरानै भवनबाट सेवा प्रवाह भइरहेको छ । वडा नं ४ मा भने बन्दीपुर अस्पताल रहेकाले थप स्वास्थ्य संस्थाको भवन निर्माण गरिएको छैन ।
वडा नं ५ स्थित कल्चोक स्वास्थ्य केन्द्रको भवन रु ३८ लाखमा सम्पन्न भएको हो । भवन निर्माणका लागि संघीय सरकारले बजेट उपलब्ध गराएको थियो । स्थानीयवासीले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिएको वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी दिए ।










