डेङ्गु संक्रमण : गुनासो सहजिकरणका लागि कार्यदल गठन, “खोजौ र नष्ट गरौं” अभियान तीब्र

भञ्ज्याङन्यूज

चिकित्सक सहितको विशेष टोलीद्वारा घरघरमै पुगेर बिरामीको स्वास्थ्य जाँच

तनहुँको दमौलीमा बिगत दुइ हप्तादेखि डेङ्गु संक्रमण हृवत्तै बढेको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार विहीबारसम्म जिल्लामा डेङ्गु संक्रमतिको संख्या दुइ हजार एक सय नाघेको छ । व्यास नगरपालिकाको वडा नं. १, २, ३ र ४ को बजार क्षेत्रमा बढि संक्रमित देखिएका छन् । यी वडा क्षेत्रमा मात्रै करिब १ हजार ७९५ जनामा डेङ्गु संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दमौलीमा डेङ्गु संक्रमण फैलिएपछि यहाँ सञ्चालित निजी स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा चर्को शुल्क लिने गरेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय तनहुँले कार्यदल गठन गरेको छ । कतिपय स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा चर्को शुल्क लिएको गुनासो आएपछि प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराल, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारी र व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती सदस्य रहेका छन् । उक्त कार्यदलले नियमित एवं आवश्यकता बमोजिम अनुगमन गरी सुधारात्मक कार्य गर्ने प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।

‘डेङ्गुको प्रकोप बढिरहेको अवस्थामा निजी स्वास्थ्य संस्थाबाटसमेत परीक्षण तथा उपचारसम्बन्धी कार्य भइरहेका छन्’, उनले भने, ‘परीक्षण तथा उपचार गर्दा व्यावसायिक नैतिकताको पालना नगरेको भनी कतिपय संस्था विरुद्ध गुनासो आएकाले एकरुपता कायम गराउन कार्यदल गठन गरिएको हो ।’ प्रशासन कार्यालयले निजी स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गर्दा बढीमा रू छ सय शुल्क लिन पाउने निर्णय गरेको प्रजिअ रिजालले बताए ।

यस्तै, सदरमुकाम दमौलीमा डेङ्गु संक्रमण बढेपछि ‘खोजौ र नष्ट गरौं’ अभियान सुरु गरिएको छ। डेङ्गुबाट दमौली बजार क्षेत्रका वडाका र्सवसाधारण संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा विहीबारदेखि उक्त अभियान सुरु गरिएको हो ।

जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था लगायतको संयुक्त सहभागितामा अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनका अनुसार सहभागीलाई दुइ समूहमा विभाजन गरी व्यास नगरपालिका-२ र व्यास नगरपालिका-३ मा अभियान सञ्चालन गरिएको छ ।

सहभागीहरुले लामखुट्टेले फुल पार्नसक्ने सम्भावित स्थानको खोजी गर्ने र लामखुट्टेको बासस्थान नष्ट गर्ने अधिकारीले बताए । यस अभियान अन्तर्गत विभिन्न चेतनामूलक सन्देश प्रवाह गर्ने, प्रभावित क्षेत्रका नागरिकलाई लामखुट्टेको टोकाइबाट जोगिने उपायका बारेमा सजग गराइने प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

यस्तै, डेंगु नियन्त्रणका लागि सरकारी निकायले ठोस कदम चाल्न सकिरहेका छैनन् । हप्तादिनमै तीन जना बालबालिकाले डेंगुको संक्रमणबाट ज्यान गुमाएका छन्। दमौलीमा डेंगु कसरी फैलियो भन्ने पत्ता लागेको छैन। जिल्ला प्रशासन कार्यालय तनहुँले डेंगु नियन्त्रणका लागि बिहीबार खोज र नष्ट गर अभियान चलायो । जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले व्यास-२ र ३ का केही ठाउँमा पुगेका थिए ।

त्यसक्रममा केही सरकारी कार्यालयले नै लार्भा उत्पादनका लागि सहयोग पुर्‍याउने गरी कार्य गरेको भेटिएका थिए । पूर्वाधार विकास कार्यालय, आन्तरिक राजश्व कार्यालय तनहुँमा सवारी साधनका टायर जथाभावी रुपमा राखेको भेटिएको थियो । टायरमा जम्मा हुने पानीमा लामखुट्टेले फुल पार्ने सम्भावना बढी हुने विज्ञहरुले बताउने गरेका छन् ।

अभियानमा खटिएका समन्वय प्रमुख शान्तिरमण वाग्लेले टायरलाई व्यवस्थापन गर्न कार्यालयका कर्मचारीलाई सुझाव दिए । यस्तै अन्य केही कार्यालयमा पनि टायरहरु राखेको भेटिएको थियो । सरकारी कार्यालयमै पानी जमेको, फोहर, लापरवाही भण्डारण देखिएको छ ।

यस्तै, नगरपालिकाले बुधबारदेखि सबै वडामा सामाजिक संघसंस्था, विद्यालय, स्वास्थ्य संस्था, टोल संगठन, राजनीतिक दललगायतको सहभागीतामा घर-घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘प्रदेश सरकारबाट खटिएका चिकित्सक सहितको विशेष टोलीलाई वडाका जनप्रतिनिधिको नेतृत्वमा घरघरमै पुगेर बिरामीको स्वास्थ्य जाँच गर्ने गरिएको छ ।’

नगरप्रमुख न्यौपानेले डेंगु नियन्त्रणमा जिल्ला समन्वय समिति तनहुँ, जिल्ला प्रशासन कार्यालय तनहुँ, नेपाल रेडक्रस सोर्साईटी लगायत विभिन्न सामाजिक संघ सस्थाको सहयोग पाएको बताए । त्यस्तै विहिबारदेखि नै घरघरमै चिकित्सक, जनप्रतिनिधि सहितको टोली पुगि बिरामीको अवस्था बुझ्ने गरेका नगरपालिकाको स्वास्थ्य तथा जनंसख्या शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

टायर, ड्रम, गमला, प्रिmज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको उनले बताए । दमौली बजारमा डेंगु रोगको संक्रमण फैलिएपछि नगरपालिकाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणको अभियानलाई तीव्रता दिएको छ ।

यस्तै, एडिस एजिप्टाइ र एडिस एल्गोपिक्टस नामक दुइ प्रजातिका लामखुट्टेले डेङ्गु सार्ने विज्ञ बताउँछन् । यी लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर निरोगीलाई टोक्यो भने डेंगु र्सछ । डेङ्गु सार्ने प्रजातिका लामखुट्टेले सफा पानीमा अण्डा पार्छन् । एक हप्तामा अण्डाबाट लामखुट्टे हुर्किसक्छ । छोटो अवधिमा अण्डाबाट लामखुट्टे निस्किएर वयस्क भइसक्ने हुनाले डेङ्गु छिटो फैलने चिकित्सकहरुको भनाइ छ ।

एडिस प्रजातिका लामखुट्टेका लागि बेवास्ता गरी फालिएका टायर सबैभन्दा सुरक्षित बासस्थान हुने बताइन्छ । घरको कम्पाउन्ड, वर्कसप आदि ठाउँमा राखिएका टायरमा जमेको पानीमा यो प्रजातिका लामखुट्टेले अण्डा पार्ने गर्दछ । भुइँमा जमेको पानी अथवा पोखरीमा लामखुट्टेका अण्डा भ्यागुताले खाइदिने सम्भावना हुन्छ ।

यसकारण पनि लामुखट्टेको लागि टायर सुरक्षित स्थान हुन्छ । हप्ता वा १० दिनसम्म पनि टायरमा पानी रहेमा यस्ता लामखुट्टेको संख्या वृद्धि हुन्छ । लामखुट्टेको लार्भा र अण्डा राम्रोसंग नष्ट गर्न नसके वर्षदिन भित्र पानीको सम्पर्कमा आउनेवित्तिकै जिवित हुने बताइन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker