खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा होटल तथा रेष्टुराँको स्तरीकरण
भञ्ज्याङ न्यूज

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले बन्दिपुरमा सञ्चालित होटल तथा रेष्टुराँको वर्गीकरण गरेको छ । होटल रेष्टुराँ स्तरीकरण निर्देशिका २०७४ बमोजिम कार्यालयले ती क्षेत्रमा सञ्चालित १४ होटलको वर्गीकरण गरेको हो । कार्यालयका प्रमुख प्रशान्त पोख्रेलले होटल रेष्टुराँमा दुइ तारासहित उत्तम (ख) स्टीकर टाँस गरिएको जानकारी दिए । कार्यालयले यसअघि दमौली, आँबुखैरेनी लगायतका होटल तथा रेष्टुराँको स्तरीकरण गरिसकेको छ ।
होटल तथा रेष्टुराँको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सर्म्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलाई मूल्याङ्कनको आधार बनाइने उनले बताए ।
वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका पचास प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अङ्क ल्याउने व्यवसायले अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो पाउनेछन् । अतिउत्तम श्रेणीको होटल रेष्टुराँले तीनवटा तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउनेछ । यो लोगो पाउन होटल रेष्टुराँले तोकिएको मापदण्डबमोजिम ९० भन्दा बढी अङ्क प्राप्त गर्नुपर्छ ।
त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुइवटा तारा र -ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन् । यस्तो लोगो पाउन ८० भन्दामाथि ८९ सम्मको अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक)को लोगो पाउन ६५ देखि ७९ बीचको अङ्क प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुराँले एउटा तारा र -ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टीकर पाउनेछन् । सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ ।
यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ । त्यस्तै पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्याङ्कन मापदण्डमा उल्लेख छ।










