ज्येष्ठ नागरिकलाई झुल वितरण
भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

तनहुँको शुक्लागण्डकी नगरपालिकाको वडा नं. ७ ले वडामा रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान् गरेको छ । वडा कार्यालयले टोलटोलमै पुगेर विहीबार ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडा सचिव महेन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार ७५ बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई जनही एउटा झुल, भिटामिन र दुइ सय रुपैयाँ नगद प्रदान गरिएको थियो ।
वडामा रहेका करिब १२५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले बताए । उनले राज्यले लिएको नीति अनुसार ज्येष्ठ नागरिकहरुलाई वडाले हरेक बर्ष सम्मान गर्दै आएको बताए । उनले भने सम्मानको कार्यक्रम एउटै हो, निर्वाचित बर्षदेखि नै गर्दै आएका छौँ, तर शैली परिवर्तन गरिए छ । यसपाली ज्येष्ठ नागरिहरुलाई लामखुट्टेबाट सुरक्षित रहन झुल उपलब्ध गराइएको थियो ।
ज्येष्ठ नागरिकहरु अनुभवको श्रोत र इतिहास भएकाले सबैले सम्मान दिनुपर्नेमा उनले जोड दिए। वडाले सम्मानमा के दियो भन्नु भन्दा नि, सम्मान गरेर के सन्देश दियो भनेर बुझ्न आयवश्यक छ उनले भने । आफुहरुले घरपरिवारलाई नै भेटेर सम्मान् गर्ने र वृद्धवृद्धा भएका बुवा आमाहरुलाई सम्मान गर्नुपर्छ भनेर सचेतना जगाइएकाले पनि ज्येष्ठ नागरिक हेलाहिंसामा पर्ने दरमा कमी आउने विश्वास व्यक्त गरे ।
यस्तै, छुटेका ज्येष्ठ नागरिकहरुलाई पछि समय मिलाएर घरमै पुगेर सम्मान गर्ने वडा कार्यालयले जनाएको छ । यस बर्ष वडाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका लागि १ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।