अवैध बालुवा ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा, फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले अवैध रुपमा नदिजन्य पदार्थ (बालुवा) ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा लिइ कार्वाही गरेको छ ।
व्यास नगरपालिका–५ चापाघाटबाट बुधबार बालुवा लोड गरी अवैध रुपमा ओसारपसार गर्दै गरेका तीन वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालय पठाइएकोमा जरिवाना गरी छाडिएको छ।
प्रहरीका अनुसार ना ६ त ७४१ नम्बरको ट्याक्टरलाई रु १२ हजार ८५०, ना ५ ख ३३४२ नम्बरको टिपरलाई रु २५ हजार र ग १ त ३१९४ नम्बरको ट्याक्टरलाई रु १२ हजार जरिवाना गरी छाडिएको हो।
यसैगरी, फरार रहेका एक प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। व्यास नगरपालिका–१ बस्ने २५ वर्षीय रविन शाहीलाई जिल्ला अदालत तनहुँले ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव मुद्दामा रु २० हजार जरिवाना र २ वर्ष कैद सजाय तोकेको थियो।
उक्त सजायपछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत तनहुँमा बुझाएको थियो। अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार तनहुँ पठाइएको प्रहरीले जनाएको छ।










