घुमाउने पुल निर्माणका लागि तीन साताको अल्टिमेटम, पाँच वटा खोलामा जनश्रमदानबाट काठेपुल बनाइने

तनहुँ : तनहुँ र चितवन जोड्ने घुमाउनेस्थित पक्की पुल निर्माणको काम लामो समयदेखि रोकिएपछि स्थानीयवासीले आन्दोलनको चेतावनी दिएका छन्। पुल निर्माण कार्य तीन साताभित्र अघि बढाउन माग गर्दै संघर्ष समितिले सम्बन्धित निकायलाई अल्टिमेटम दिएको छ । स्थायी पुल निर्माणमा भइरहेको ढिलाइले दैनिक आवागमन प्रभावित भएपछि नागरिकले बुद्धसिंक मार्गमा पर्ने सानाठूला खोला खोल्सिमा जनश्रमदानबाट अस्थायी काठेपुल निर्माण गर्ने अभियानसमेत अघि सारेका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउनेस्थित त्रिशुली नदीमाथि पुल निर्माणको पछिल्लो अवस्था र प्रगतिबारे जानकारी लिन संघर्ष समितिले सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठ र इन्जिनियर राजेन्द्र रेग्मीसँग छलफल गरेको छ ।
छलफलमा पुल निर्माणमा भइरहेको ढिलाइ, काम अघि बढाउने प्रक्रिया तथा आगामी योजनाबारे जानकारी लिइएको संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले बताए । उनका अनुसार अबको तीन साताभित्र निर्माण कार्य अघि बढाउने ठोस पहल नभए संघर्ष समिति आन्दोलनमा उत्रिनेछ। पटक–पटकको ढिलाइले स्थानीयवासी आजित भएको भन्दै उनले निर्धारित समयभित्र काम सुरु नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
घुमाउने पुल निर्माणको मागसँगै बन्दीपुर, देवघाट र आँबुखैरेनी क्षेत्रका नागरिकले बुद्धसिंह मार्गअन्तर्गतका खोलामा पनि मोटरेबल पुल निर्माण गर्नुपर्ने माग गर्दै आएका छन् । यस क्षेत्रका नागरिकले दैनिक आवतजावत गर्नुपर्ने विभिन्न खोलामा पुल नहुँदा वर्षौंदेखि सास्ती भोग्नुपरेको छ । विशेषगरी साउन र भदौमा वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा आवागमन कठिन हुने गरेको छ ।
स्थायी पुल निर्माणमा ढिलाइ भएपछि सामाजिक अभियन्ता सिद्धबहादुर थापा (सिद्धान्त) ले जनश्रमदानबाट काठेपुल निर्माण गर्ने अभियान सुरु गर्न लागेका छन् । आगामी मङ्सिर १३ गते आइतबार बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको सिमानामा पर्ने भूतखोलाबाट अभियान सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिएका छन् ।
बुद्धसिंह मार्गअन्तर्गत भूतखोला, सुढेखोला, बगरखोला, खानीखोला र ढाटखोलामा तत्काल मोटरेबल पुल निर्माण गर्नुपर्ने मागसहित अभियान अघि सारिएको हो । दीर्घकालीन रूपमा पक्की पुल निर्माण नभएसम्म नागरिकको आवागमन सहज बनाउन जनश्रमदानबाट काठेपुल निर्माण गर्ने योजना रहेको थापाले बताएका छन् ।
स्थानीयको आन्दोलन, ध्यानाकर्षण र निरन्तर दबाबका कारण घुमाउने पुल निर्माणका लागि केही बजेट विनियोजन भए पनि निर्माण कार्यले गति लिन नसकेको उनको भनाइ छ । विनियोजित बजेट कार्यान्वयन गरी निर्माण कार्य तत्काल अघि बढाउन र छिटो सम्पन्न गर्न उनले सम्बन्धित निकायसँग माग गरेका छन् ।
‘दैनिक आवतजावत गर्ने नागरिकले भोग्नुपरेका पीडा र चुनौती सम्बन्धित क्षेत्रका बासिन्दालाई मात्रै थाहा छ’, थापाले भने, ‘भोगाइ र संघर्षबाटै नवीन सोचको उदय हुँदो रहेछ ।’
उनले जनश्रमदानबाट काठेपुल निर्माण गर्ने अभियानलाई अस्थायी आवागमन सहज बनाउने प्रयासका रूपमा मात्र नभई सम्बन्धित निकायलाई नागरिकका समस्या र मागप्रति गम्भीर बनाउन दबाब सिर्जना गर्ने अभियानका रूपमा लिन आग्रह गरेका छन् । उनले भने, ‘हाम्रा दबाब, ध्यानाकर्षण र संघर्षलाई भावनात्मक रूपमा मात्रै बुझ्ने चेष्टा नगरियोस् ।’ थापाले बन्दीपुर, देवघाट र आँबु क्षेत्रका सामाजिक न्यायप्रेमी, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी तथा पत्रकारलाई मङ्सिर १३ गते भूतखोलामा उपस्थित भई जनश्रमदानमा सहभागी हुन आह्वान गरेका छन् ।
घुमाउने पुल निर्माणको अल्टिमेटम र बुद्धसिंह मार्गका खोलामा काठेपुल बनाउने अभियानले यस क्षेत्रको पूर्वाधार समस्या समाधानका लागि स्थानीयस्तरमा बढ्दै गएको दबाबलाई उजागर गरेको छ । नागरिकको श्रमदान र आन्दोलनको चेतावनीले अस्थायी आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिए पनि दीर्घकालीन समाधानका लागि घुमाउनेसहित बुद्धसिंह मार्गका खोलामा पक्की पुल निर्माणलाई सम्बन्धित निकायले प्राथमिकताका साथ अघि बढाउनुपर्ने देखिन्छ ।










