बानियाँको स्मृति अक्षयकोषमा सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका युवा नेता श्याम मौरतीले नेपाल प्रेस युनियन तनहुँले स्थापना गरेको पत्रकार बलराम बानियाँ स्मृति पत्रकारिता अक्षयकोषमा रकम हस्तान्तरण गरेका छन् । पत्रकार बानियाँको वार्षिक पुण्यतिथिमा सोमबार नेता मौरतीले १० हजार १५० रुपैयाँ नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई दमौलीमा हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै मौरतीले कर्मचारीतन्त्रमा मौलाएको भनसुन, बेथिति, विकृति भ्रष्ट्राचारका विरुद्ध तथा सुशासनको पक्षमा पत्रकार बानियाँ लेखेर कहिल्यै नथाक्ने व्यक्ति रहेको स्मरण गरे । युनियनले पत्रकार बानियाँका परिवारजन, आफन्तजनका साथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट रकम संकलन गरी अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने कार्य गरिरहेको छ । पत्रकार बानियाँका दाइ भानु-१३ का वडाध्यक्ष रामबहादुर बानियाँले गत चैत ३ गते युनियनलाई २० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
भानु नगरपालिका-१३ मिर्लुङमा विसं २०२७ मा जन्मिएका बानियाँ कान्तिपुर दैनिकमा सहायक सम्पादकमा कार्यरत थिए । बानियाँको शव विसं २०७७ साउन २७ मा मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावरमा फेला परेको थियो । बानियाँ दुइ दशक बढि पत्रकारितामा सक्रिय थिए ।










