विश्व मुटु दिवसमा परोकार ज्येष्ठ नागरिक आश्रमका ज्येष्ठ नागरिको मुटु परीक्षण
भञ्ज्याङन्यूज

विश्व मुटु दिवसका अवसरमा व्यास नगरपालिका-५ पाटन स्थित परोकार ज्येष्ठ नागरिक आश्रमका ज्येष्ठ नागरिकहरुको मुटुको जाँच तथा रक्त परीक्षण गरिएको छ ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँले शुक्रबार आश्रम रहेका ज्येष्ठ नागरिकहरुको मुटुको परीक्षण गरी मुटु रोगबाट बच्ने उपायको बारेमा जानकारी गराएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताए ।
कार्यक्रममा राष्ट्रिय परोपकार महासंघ व्यास-५ का अध्यक्ष तारानाथ घिमिरेले आश्रमका ज्येष्ठ नागरिकको मुटु परीक्षण गरिएकोमा खुसी व्यक्त गरे ।
नेशनल एपोलो हस्पिटलको प्राविधिक सहयोग र सोही हस्पिटलका डा. गगनबहादुर बोहोरा, स्वास्थ्यर्की रबिना बिकले ज्येष्ठ नागरिकहरुको मुटु परीक्षण गरिएका थिए । सो अवसरमा आश्रममा आश्रति सहित २९ जनाको इसिजी मार्फत मुटुको परीक्षण गरिएको थियो ।
सन् १९९९ मा विश्व मुटु संगठन र विश्व स्वास्थ्य संघको संयुक्त प्रयासमा विश्व मुटु दिवस मनाउन थालिएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको थियो ।

यस वर्षको मुटु दिवसको नारा ‘युज हार्ट फर एभ्री हार्ट’ (मन लगाऔं मुटु बचाऔं) वा हरेक मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने रहेको थियो ।
मुख्यगरी धूम्रपान वा सुर्ती जन्य पदार्थको सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुन धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने, बजारको पोके पत्रु खाना खाने बानी, कम सुत्ने बानी, ठीक ठाउँमा राख्न सकेदेखि मुटु रोगबाट बच्न सकिने चिकित्सक बताउँछन् ।
चुरोट रक्सीको सेवन नर्गने, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राख्नु पर्दछ । यस्तैगरी तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने, अनावश्यक तनाव नलिने, लोभ लालचमा नफस्ने, फलफूल खाने बानी बसाल्नु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।










