६९औं प्रहरी दिवस : प्रहरी समायोजन नहुँदा समस्या भयो – मुख्यमन्त्री पाण्डे

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार ६९औं प्रहरी दिवस मनाएको छ । प्रहरी दिवसका अवसरमा कार्यालय परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले समाजका हरेक क्रियाकलापमा प्रहरी जोडिने भएकाले प्रहरी बिनाको समाज कल्पना गर्न नसकिने बताए ।
‘प्रहरी बिनाको समाज परिकल्पना गर्न सकिदैन’, प्रजिअ गौतमले भने, ‘समाजमा शान्ति कायम गर्न प्रहरीको अहम भूमिका छ, प्रहरी सधै अग्रणी स्थानमा रहने गर्दछ । प्रहरीको ठूलो संरचना भएपनि आधुनिक रुपमा अझै प्रहरीलाई विकास गर्न सकिएको छैन ।’
प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जनताको जिउधनको रक्षाका लागि नेपाल प्रहरी चौबिसै घण्टा खटिदै आएको चर्चा गर्दै उनले प्रहरी र नागरिकको सम्बन्ध नङ र मासुको रहेको बताउँदै शान्ति सुरक्षा कायम गर्न नागरिकको सहयोग महत्वपूर्ण हुने बताए ।
जिल्लाका विभिन्न राजनीतिक दल तथा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले प्रहरी दिवसको शुभकामना व्यक्त गर्दै वक्ताहरुले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रहरीको महत्वपूर्ण भूमिका रहने र प्रहरीलाई नागरिकले पनि साथ र सहयोग गर्नुपर्नेमा जोडि दिए ।
उक्त अवसरमा सहिद प्रहरीका परिवार, उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, विभिन्न खेलकुद कार्यक्रमका विजेता प्रहरीलाई प्रमुख जिल्ला अधिकारी गौतमले सम्मान एवं पुरस्कृत गरेका थिए ।
यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई आफ्नो कार्य सम्पादन गर्न समस्या भएको बताएका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा ६९औँ प्रहरी दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले प्रहरी समायोजन नहुँदाको यसको असर प्रदेश सरकारको काम कारबाहीमा पनि परेको बताए ।
‘गण्डकी प्रदेश सरकारले आफू मातहत नभए पनि प्रदेशभित्रका नागरिकको सुरक्षा, सेवा गरिरहेको सुरक्षाकर्मीलाई सहयोग गर्नेगरी कार्यक्रम र बजेट विनियोजन गरेको छ’, उनले भने, ‘प्रहरीलाई मात्रै यस वर्ष कार्यान्वयन हुने प्रहरी चौकीहरू निर्माण, तालिम केन्द्रको संरचना, प्रहरी अस्पतालको भौतिक संरचना निर्माण सिसिटिभी जडान, घेराबार र चौकीहरूको भौतिक पूर्वाधारका योजनामा १३ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ ।’
सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउन, आधुनिक प्रविधिसँग दक्ष बनाउन राज्यले अहिले भइरहेको भन्दा लगानी बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए । गत वर्ष कार्यक्रम ढिला गरी स्वीकृत हुँदा कार्यान्वयनमा समस्या भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यस वर्ष केन्द्रको अर्थ र गृह मन्त्रालयबाट स्वीकृत भई प्रदेशको अर्थ मन्त्रालयले पनि स्वीकृत प्रदान गरिसकेका कारण कार्यक्रम कार्यान्वयनको चरणमा अघि बढिसकेको उनले बताए ।
भौतिक पूर्वाधारलगायत योजनामा गत वर्ष प्रहरीका लागि प्रदेश सरकारले १६ करोड विनियोजन गरेको बताउँदै उनले सीमित साधन स्रोत र प्रदेश सरकारको बजेट नै गत वर्षभन्दा घटेकाले यस वर्ष केही कम भएपनि प्राथमिकताका आधारमा प्रहरीको माग अनुसारकै बजेट विनियोजन गर्दै आएको बताए ।
खोज तथा उद्धारमा प्रयोग हुने विपद् सामग्री हस्तान्तरण, तालिम, अभ्यास, सचेतनामूलक कार्यक्रम, लागुऔषध दुव्र्यसनी न्यूनीकरणका कार्यक्रम प्रदेश सरकारको सहयोगमा सञ्चालन हुँदै आएको बताउँदै उहाँले यसबाट केही हदसम्म प्रहरीहरूको मनोबल उच्च राख्न र संगठनलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको बताए ।
प्रहरीलाई राज्य र आम नागरिकलाई शान्तिसुरक्षा दिनुपर्ने गहन जिम्मेवारी रहेका कारण सुरक्षाकर्मीसँग नागरिकको अपेक्षा धेरै रहेको भन्दै मुख्यमन्त्रीले पाण्डेले भने, ‘प्रहरी कार्यालयमा आफ्ना पीरमर्का लिएर आउने सेवाग्राहीको गुनासो वा विवरण राम्रोसँग सुनिदिने र कार्यान्वयनमा जटिलता तथा झन्झट पैदा नगर्ने, पटक–पटक कार्यालय धाइरहनुपर्ने वातावरणबाट मुक्ति दिने, नागरिकहरूसँग शिष्ट व्यवहार गर्ने, आपत्कालीन सहयोग गर्नेजस्ता मानवीय कार्यलाई प्राथमिकता दिँदै अघि बढ्न सकेमा प्रहरीबाट नागरिकमा अझै प्रभावकारी सेवा पुग्ने देखिन्छ ।’
देशमा शान्तिसुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपत्का समयमा पनि नेपालमा सुरक्षा संयन्त्रहरूले निर्वाह गर्दै आएको भूमिकाको उनले प्रशंसा गरे । हरेक विपद्का समयमा राज्यको पहिलो उपस्थितीको प्रतिनिधित्व सुरक्षाकर्मीले गर्दै आएको भन्दै उहाँले प्रहरी दिवस आम नागरिकको दिवस बन्नसक्ने कामना गरे ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रनामनि दुर्गा सिंहले कर्तव्य परायणता र जिम्मेवारितालाई आत्मसात् गर्दै प्रहरी संगठन देश र जनताको सुरक्षार्थ निरन्तर खटिरहेको बताइन । जनमुखी, पारदर्शी र नागरिकमैत्री प्रहरी छवि कायम गराउनेमा निरन्तर लागिरहेको प्रहरी संगठन सीमित साधन र स्रोतका बाबजुद पनि क्रियाशील बनिरहेको उनले बताइन्। गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख मुकुन्द मरासिनीले राज्यको कानुन कार्यान्वयन गराउनेमा प्रहरी संगठन निरन्तर लागिरहेको धारणा व्यक्त गरे ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker