अलपत्र बुद्धसिंह मार्ग : ३१ वर्षपछि कालोपत्रेको चर्चा, काम सुस्त गतिमा

भञ्ज्याङ समाचारदाता/तनहुँ

बुद्धसिंह मार्ग जनस्तरकै पहलबाट ट्रयाक खनेको करिव ३१ वर्ष बितिसकेको छ । पृथ्वीराजमार्गको बैकल्पिक सडकका रुपमा लिइएको यो मार्ग अलपत्र अवस्थामा छ ।

पोखराबाट पृथ्वीराजमार्ग हुँदै चितवन जोडिने छोटो मार्गको रुपमा यसलाई लिइएपनि अहिलेसम्म सडकको स्तरोन्नती हुन भने सकेको छैन । अहिले पृथ्वीराजमार्गको मुग्लिङ-पोखरा सडकखण्डलाई ४ लेनमा बिस्तार गर्ने कार्य चलिरहेको छ । सडक बिस्तारका क्रममा घण्टौंसम्म सवारी आवगमन रोकिने गर्दा विकल्पका रुपमा बुद्धसिंह मार्गको चर्चा चल्ने गरेको छ। तर, यो मार्गको अवस्था भने दयानीय छ ।

दमौलीको बसपार्कदेखि सुडे पुलसम्मको १० किलोमिटर सडकखण्ड कालोपत्रे गर्ने गरी ठेक्का लागेपनि कामले पनि गति लिन सकेको छैन । गत भदौं २७ गते ठेक्क सम्झौता भएपनि कछुवाको गतिमा काम भइरहेको बुद्धसिंह मार्ग उपभोक्ता समितिका संस्थापक अध्यक्ष यामबहादुर आलेले बताए । उनले भने, ‘सडकको ट्रयाक खनेको ३१ वर्ष पछि बल्लतल्ल स्तरोन्नतीको कुरा सुनिएको छ । तर, जुन गतिमा काम हुनुपर्ने हो त्यो भने भएको छैन ।’

२०४८ सालमा सदमुकाम दमौलीबाट जिल्लाको दक्षिण भेग कछारका बासिन्दालाई सडकको पहुँचसंग जोड्ने उद्देश्यका साथ स्थानीयकै सक्रियतामा सडकको ट्रयाक खनिएको थियो । स्थानीयले कोदालो, गैची, बेल्चा जस्ता घरेलु औजार प्रयोग गरी मादीको किनारैकिनार ट्रयाक खोलेका थिए । स्थानीयकै लागत सहभागितामा बेलबासबाट सुडेसम्म करिव ९ किलोमिटर सडक बनाइएको थियो । २०५९ सालमा यस मार्गमा पहिलो पटक जीप चलेको संस्थापक अध्यक्ष आले बताउँछन् । उनले भने, ‘अहिले ३४ किलोमिटर दुरीको मोटरमार्ग बनेको छ । सडक खनेको यति लामो समय बितिसक्दा पनि स्तरोन्नती नहुँदा स्थानीयले साँस्ति खेप्नु परेको छ ।’

चुनावका समयमा राजनीतिक दलका नेताहरुको भाषणमा कालोपत्रे भइसकेको यो मार्गका उपभोक्ताहरु हिउँदमा धुलो र बर्खामा हिलोको साँस्ति झेल्दै आएका छन् । ‘काम सुरु हुन नपाउँदै ठेकेदारहरु बजेट अभावले गर्दा कामलाई गति दिन सकिएन भन्छन्’, आलेले भने, ‘लामो समयपछि स्तरोन्नती हुन लागेको सडकमा बजेट नपुगेर काम सम्पन्न हुन सकेन भन्ने सुन्न नपरोस् । कालो चिल्लो सडकमा सरर गुडेर गन्तव्यमा पुग्ने हामी गाउँबासीको सपना चाडै पुरा होस् ।’

जिल्लाको कर्णालीको नामले परिचित कोटा, बैदी, छिपछिपे र धरमपानी, मास्दिघाट, नाल्दीपुल लगायतका गाउँबस्तिका बासिन्दालाई सडकसञ्जालसंग जोड्ने लक्ष्यका साथ साविकका गाउँविकास समिति र स्थानीय जनताको सक्रियतामा दमौलीदेखि घुमाउनेघाटसम्म कच्ची सडक बिस्तार गरिएको थियो । तर, हालसम्म यो सडकखण्डको स्तरोन्नतीका विषय नेताका भाषणमै सिमित बनेको छ । सडकको अवस्था भने थप दयानिया बन्दै गएको छ ।

पोखरा-डुम्रे-आँवुखैरेनी-मुग्लिङ हुँदै नारायणगढ जानुभन्दा दमौलीबाट बुद्धसिंह मार्ग हुँदै घुमाउने घाट निस्किएर नारायणगढ पुग्न करिब २४ किलोमिटर दुरी छोटो पर्छ । तर, बुद्धसिंह मार्गलाई मुग्लिङ-नारायणगढ सडकसंग जोड्न घुमाउने घाटमा पक्की पुल निर्माण कार्य पुरा हुन सकेको छैन । करिव १५ वर्षदेखि पुल निर्माणका विषयमा चर्चा चलेतापनि अझै काम पुरा हुन सकेको छैन । घुमाउनेको पुलसंगै ढाँडखोला, बखरखोला र भूतखोलामा गरी अन्य ३ वटा खोलामा ठुला पुल निर्माण गर्नुपर्ने हुन्छ । पुल निर्माणका लागि डिपिआर तयार गरियतापनि निर्माण प्रक्रियामा भने गएका छैनन् ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसंग जोड्ने सबैभन्दा छोटो दूरी र पृथ्वीराजमार्गको बैकल्पिक सडकको रुपमा समेत लिइने बुद्धसिंह मार्गको स्तरोन्नतीमा सरोकारवाला निकायले ध्यान नदिदा धेरै सास्ती खेप्नुपरेको व्यास-१४ मास्दिघाटकी दिलिसरा आले बताउँछिन् । ‘पृथ्वीराजमार्गको बैकल्पिक सडकको रुपमा रहेको यो मार्गको समयमै स्तरोन्नती भए चितवन हुँदै अन्यत्र जाने यात्रुले जाम, धुलो, चिप्लो हुँदै जोखिमपुर्ण यात्रा गर्नु पदैनथ्यो’, उनले भनिन्, ‘सडकको स्तारोन्नती नहुँदा यात्रुले मात्रै होइन हामीहरुले पनि वर्षायममा हिलो र हिउँदमा धुलोको साँस्ति खेप्नु परेको छ ।’

झापा, धरान, बुटवल, भैरहवा लगायत तराइदेखि पोखरा, पर्वत, बागलुङ, स्याङ्जा, म्याग्दी लगायत जिल्ला पुग्न २४ किलोमिटर छोटो दूरी पर्ने यस वैकल्पिक मार्ग अझैपनि प्राथमिकतामा नपर्नु दुःखको कुरा रहेको आलले बताइन् ।

सदरमुकाम दमौलीबाट घुमाउने घाटसम्मको सडक सेती नदीको किनारै किनार खनिएको छ । हिउँदमा मुस्किलले आधा दर्जन यात्रुबहाक सवारी साधान चल्छन् । तर, गन्तव्यमा नपुगिन्जेलसम्म यात्रा त्रासपूर्ण हुने स्थानीय बताउँछन् । सडकको स्तरोन्नती र पहिरो रोकथामको काम नहुँदा बर्षायाम सुरु भएसंगै यस क्षेत्रमा पहिरोको जोखिम छ ।

यस मार्गमा व्यास नगरपालिका, बन्दिपुर, आँबुखैरेनी, देवघाट र ऋषिङ गाउँपालिका गरी ५ पालिका जोडिएका छन् । उक्त सडकखण्ड ३३ महिनाभित्र कालोपत्रे सम्पन्न गर्नुपर्ने गरी मैनाचुली सफल जेवि, काठमाडौंसंग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी इ. धनमाया मिश्रले बताइन् । उनले भनिन्, ‘सडक कालोपत्रेका लागि बहुवर्षे ठेक्का लगाइएको हो, अहिले सडक छेउमा टेवा पर्खाल उठाउने, नाली बनाउने लगायतका काम भइरहेका छन् ।’

संघबाट ७ करोड बजेट विनियोजन भएपनि यो आर्थिक वर्षका लागि बजेट अपुग हुने र थप माग गर्नुपर्ने उनले बताइन् । उक्त १० किलोमिटरको सडक खण्ड ३४ करोड २७ लाख ५४ हजार ५६१ रुपैयाँमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । बुद्धसिंह मार्गको कूल ३४ किलोमिटर सडक खण्डमध्ये ८ किलोमिटर तनहुँ हाइड्रो पावरको जिम्मेवारीमा पर्ने र बाँकी १६ किलोमिटर पक्की सडक निर्माणका लागि समपूरक योजनामा पार्नका लागि प्रक्रिया अघि बढाएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker