बुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’

शेरबहादुर सिंह/रासस

महेन्द्रनगर (कञ्चनपुर) : क्रिकेटर भीम सार्कीका बुबा वीरभानले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरीयामा साहुजनको जमिन अधियाँमा लिएर साढे तीन दशक कमाउनुभयो ।

दलित परिवार, त्यहीमाथि जहान परिवारको जीविका चलाउन साढे तीन दशक अधियाँमा जमिन लिएका ५५ वर्षीय वीरभानले पछिल्लो दुई वर्षयता भने १५ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै हुनुहुन्छ । चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि सार्की परिवारको दैनिकी नै फेरिएको छ ।

“क्रिकेट टिममा महत्वपूर्ण खेलाडी भए पनि हाम्रो परिवारको त उ (भीम) खम्बा नै हो ।” बुबा वीरभानले खुसी व्यक्ति गर्दै भन्नुभयो, “खेलमा उसको प्रगति देखेर हामी परिवार नै खुसी छौँ ।” तर परिवार पाल्न भाडामा जमिन लिएर छाक टार्नुपर्ने अवस्था यथावत रहेको उहाँको भनाइ छ ।

“ऋण तिर्नदेखि जीविका चलाउनसम्म सङ्घर्ष त छ नै”, उहाँले भन्नुभयो, “तर क्रिकेटबाट छोराले दिएको खुसीले हाम्रो दुःख नै ओझेलमा प¥यो ।” महेन्द्रनगरमा ऋण लिएर छ वर्ष अघि रिक्साको ‘डिलर’ सञ्चालनमा ल्याएका वीरभानलाई अहिले सोही व्यापारको ऋणले छोडेको छैन ।

“अटो, ई–रिक्सा आएपछि साइकल रिक्सा विस्थापित हुँदा रु १५÷२० लाख ऋणमा डुबे”, उहाँले भन्नुभयो, “रु ९÷१० लाख छोरा भीमले क्रिकेटबाट ल्याएको आम्दानीबाट ति¥यौँ ।” कक्षा ५ पढ्दादेखि नै महेन्द्रनगरमा क्रिकेट पछ्याउन लागेका भीमले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टिमबाट खेलिसकेका छन् । यस पटक भने १९ औँ एसियन खेलकुदमा उनी टिममा परेनन् ।
थुप्रै अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्ट प्रदर्शन गरिसकेका भीमले पाएका पदक र प्रमाणपत्र बुबा वीरभानले कोठाभरि सजाएर राख्नुभएको छ ।

“क्रिकेटमै राम्रो गरेकाले होला मलाई पनि अहिले पहिलो एसिया कप छनोट हुँदा काठमाडौँ बोलाएर क्रिकेट हेर्न विशिष्ट कक्षको टिकट दिएर मैदानसम्म पु¥यायो”, उहाँले भन्नुभयो, “ अझ पनि राम्रो गर्दै जाने छ भन्ने विश्वास छ, बाँकी भगवानको कृपा ।” कक्षा ८ सम्म यहाँस्थित भृकुटी मावि पढेका भीमले प्रवेशिका परीक्षा (एसएलसी) सन्राइज हायर सेकेण्ड्री स्कुलबाट गर्नुभयो ।

“सन्राइजबाट भीम क्रिकेटमा राइज भयो”, बुबा वीरभानले भन्नुभयो, “स्कुल पढ्दै धेरै ठाउँमा खेल्न जान थालिसकेको थियो ।” एउटा सामान्य दलित परिवारमा जन्मिएका भीमले क्रिकेटबाट भएको आम्दानीबाट दाजु विनोदलाई वैदेशिक रोजगारीका लागि मलेसिया र भाइ करनलाई दुवई पठाएका छन् ।

“जमिन घरबासका लागि डेढ कट्ठा मात्रै छ”, उहाँले भन्नुभयो, “क्रिकेटबाट भीमले परिवारकै ठूलो परिचय बनाइदियो ।” परिवारको नेतृत्व गर्नसक्ने क्षमता पाएपछि भीमलाई नै परिवारले मुलीको जिम्मेवारी दिएर अघि बढेको छ । “ऋणदानदेखि आर्थिक हरहिसाब सबै भीमले नै सम्हालेको छ”, उहाँले भन्नुभयो, “काठमाडौँबाट प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उतै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा जागिरसमेत खान थाल्यो ।”

भीमले क्रिकेट सुरु गर्दा मैदान छेउमा उभिएर हेर्दा त्यो बेलाको सिनियर खेलाडी चन्द्र साउँदले उनले क्रिकेटमा भित्र्याएको वीरभानले बताउनुभयो । “क्रिकेट हेर्न गएकाले बेला भीमलाई बाहिर गएको बल ल्याउन चन्द्रले भनेछन्”, उहाँले भन्नुभयो, “त्यसपछि चन्द्रले क्रिकेट खेल्न आउन आग्रह गरेपछि भीमले भोलीपल्टैबाट क्रिकेटमा जोडिन थाले ।”

त्यसअघि भीमका दाजु विनादे पनि क्रिकेट खेलाडी थिए । तर सल्लाहमै विनोद वैदेशिक रोजगारमा गएपछि भीम खेलतिर लागेका हुन् । “भीमले खेलमा गरेको मेहेनतले परिवारमा पनि सुखद् परिर्वतन ल्याइदियो”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ उसको टेलिभिजनमा खेल हेर्दा सपना जस्तै लाग्छ ।”

यसैगरी भीमका प्रशिक्षक वीरेन्द्र शाहीले आर्थिक स्थिति कमजोर अवस्थामा पनि भीमले क्रिकेटमा निकै मेहनत गरेको सम्झिन्छन् । “बुबाले रिक्साको डिलर सञ्चालनमा ल्याउँदा भीम दिनभर पसलमा बसेर साँझ क्रिकेट प्रशिक्षणमा आउथ्यो”, उहाँले भन्नुभयो, “अहिले क्रिकेटमा अवसर पाएसँगै आफ्नो प्रतिभा पनि देखायो ।”

बुबाको घाटाको व्यापारमा समेत क्रिकेटलाई निरन्तरता दिएका भीमलाई सनराइज स्कुले निकै सहयोग गरेको शाहीको भनाइ छ । दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोराजस्ता खेलाडी भएका कञ्चनपुरको क्रिकेट पूर्वाधारको अवस्था नाजुक रहेको क्रिकेट सङ्घका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर चन्दको भनाइ छ ।

“सरकारले क्रिकेटका लागि यहाँ लगानी गरिदिन्न अरु कहाँबाट सहयोग मिल्ने हो खै”, उहाँले भन्नुभयो, “खेलाडी उत्पादनको उर्वरभूमि भए पनि राज्यले यहाँको खेलकुद क्षेत्रको विकासमा ध्यान दिएन् ।” पछिल्लो केही वर्षयता कवर्डहल परिसरमा क्रिकेट मैदान निर्माणका लागि केन्द्रबाट बजेट आइरहेको भए पनि आवश्यक बजेट नआउँदा काम कछुवा गतिमा छ ।

“हरेक समय विभिन्नस्तरमा क्रिकेटका गतिविधि निरन्तर सञ्चालन भइरहेकै छन्”, उहाँले भन्नुभयो, “संरचना निर्माणमा सरकारले पनि जागरुकता देखाए प्रतिभावान खेलाडी तयार गर्न कञ्चनपुर अग्रसर छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker