दमौलीमा प्रथम राष्ट्रिय दरै कप सेभेन ए साइड फुुटबल प्रतियोगिता सुरु

दरै जाति मात्रै सहभागी रहेको प्रथम राष्ट्रिय दरै कप सेभेन ए साइड फुुटबल प्रतियोगिता तनहुँको दमौलीमा आजदेखि सुरु भएको छ ।

दरै समाज तनहुँको आयोजनामा व्यास नगरपालिका–३ बिपी वनवाटिका खेलमैदानमा राष्ट्रिय दरै कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा छ वटा जिल्लाका २३ समूहको सहभागिता रहेको दरै समाजका सचिव विजय दरैले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा तनहुँ, चितवन, नवलपुर, गोरखा, धादिङ र पाल्पाका दरै समुदायका खेलाडीको सहभागिता रहेको छ । नेपालका १३ जिल्लामा दरै समुदायको बसोबास रहेकामा करिब २० हजार जनसङ्ख्या छ ।

प्रतियोगितामा विजेतालाई नगद रु एक लाख एक हजार एक सय ११ र उपविजेतालाई रु ५१ हजार एक सय ५१ नगद पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष ठाकुर दरैले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन गर्दै संविधानसभा सदस्य एवं प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सन्तकुमार दरैले दरै समुदायले हरेक क्षेत्रमा पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो । व्यास नगरपालिकाका प्रमुख इन्दिरा दरैले नगरभित्रका दरै समुदायको उत्थानका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

नेपाल दरै उत्थान समाजका केन्द्रीय अध्यक्ष मङ्गलराम दरैले संस्कृतिमा धनी रहेपनि दरै समुदाय अझै पनि पछाडि परेको उल्लेख गर्नुभयो । नेकपा (एमाले)का जिल्ला सचिव राजेश्वर ढकाल र नेकपा (माओवादी) केन्द्रका संयोजक ओमराज आलेले अल्पसङ्ख्यक दरै समुदायको पहिचान स्थापितका लागि खेलकुदको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने बताउनुभयो ।

कार्यक्रममा गत स्थानीय तह निर्वाचनमा विभिन्न पालिकामा निर्वाचित दरै समुदायका जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । त्यस्तै इन्जिनियरिङ उत्तीर्ण व्यास–१० निवासी सुजन दरै, व्यास नगरपालिका–१ निवासी मनोज दरै, ऋषिङ गाउँपालिका–५ रामप्रसाद दरैलाई सो अवसरमा सम्मान गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker