गोरखा दरबारको दसैँ घर र मनकामना मन्दिरमा जमरा राखियो

गोरखा : गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उहाँले बताउनुभयो । कालिका भगवती मन्दिरको दसैँ घरमा नौ मानाको जमरा राखिएको छ । त्यस्तै गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएकोे मूलपुरोहित भट्टराईले जानकारी दिनुभयो ।

वडादसैँको पहिलो दिन मूल दरबारको कैलास कोठाबाट गर्भगृह (पूजा कोठा) मा देवी भगवतीको सवारी गराउने र मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको हो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ ।

प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित रुपमा कालोबोका बलिदिने प्रचलन रहदै आएको छ । यसपटक दसैँ अवधिभर ३२ बोका, १२ भेडा, पाँच सुङ्गुर, एक सतारसहित १५ राँगो र नौ वटा कुखुरा बलिदिने उहाँले बताउनुभयो ।

यसअघि राजसंस्था रहँदासम्म मन्दिरमा एक सय ४० वटा भेडाबोका र एक सतारसहित ८४ ओटा राँगा बालिदिने प्रचलन थियो । राजसंस्थाको अन्त्य भएसँगै गोरखा दरबार हेरचाह अड्डामा दसैँ पूजाका लागि आवश्यक बजेटमा कटौती हुँदै आएकाले पशुपक्षीको बलि समेत घटाइएको छ ।

यसैगरी घटस्थापनाको बिहानको शुभसाइतमा गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिनुभयो । मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो ।

परम्पराअनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण सोही अनुसार नित्य पूजा गरी जमरा राखिएको उहाँको भनाइ छ । गणेश र कलस स्थापना गरी दुवै ठाउँमा जमरा राखिएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker