व्यास नगरपालिकाद्वारा जिल्ला कारागारलाई खाट हस्तान्तरण

भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला कारागार तनहुँलाई व्यास नगरपालिकाले खाट हस्तान्तरण गरेको छ । कैदीबन्दी भुइँमै सुत्नुपर्ने अवस्था भएपछि नगरपालिकाले कारागारलाई खाट हस्तान्तरण गरेको हो । नगरप्रमुख बैकुण्ठ न्यौपानेले सोमबार कारागारलाई ४० थान खाट प्रमुख जिल्ला अधिकारी सागर आचार्य मार्फत हस्तान्तरण गरेका हुन् । नगरप्रमुख न्यौपानेले कारागार सुधारको पक्षमा व्यास नगरपालिका सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

कारागारलाई सुधार गृहको रुपमा विकास गर्नुपर्ने र कारागारलाई आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट सहयोग रहने नगरप्रमुख न्यौपानेले प्रतिवद्धता व्यक्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी आचार्यले सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि कारागार व्यवस्थापनका लागि सहयोग पुगेको बताए । तीन तहको सरकारको सहयोग र सहकार्यले सुधार सम्भव रहेको बताउँदै नगरपालिकाको सहयोग सराहनीय रहेको बताएका छन् ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले कैदीबन्दीले आफूलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिए । कारागारका प्रमुख ध्रुवसिं खड्का अनुसार व्यास नगरपालिकाको तर्फबाट ४०, म्याग्दे गाउँपालिकाको तर्फबाट दुइ जना सुत्न मिल्ने ११, शुक्लागण्डकी नगरपालिकाको तर्फबाट ५० हजार रुपैयाँ, बन्दीपुर गाउँपालिकाको तर्फबाट ५, क्रिष्टिना गुरुङको तर्फबाट दुइ जना सुत्न मिल्ने ६ थान खाट सहयोग प्राप्त भएको छ ।

भानु नगरपालिका र घिरिङ गाउँपालिकालाई पनि सहयोगका लागि अनुरोध गरिएको कारागारले जनाएको छ । चिसो मौसममा भुइँमा सुत्दा बिरामी हुने समस्या भएकाले खाट प्राप्त भएपछि कैदीबन्दी खुशी भएको नाइके विष्णुहरि घिमिरेले बताए । कारागारका सूचना अधिकारी नारायण अधिकारीका अनुसार हाल कैदीबन्दी गरी २२७ कैदीबन्दी छन् । जिल्ला कारागारमा हालै नयाँ भवन निर्माण सम्पन्न भएपनि कैदीबन्दीको संख्या बढ्दै गएकाले व्यवस्थापनमा समस्या आउने गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker