पाँच दिनदेखि बेपत्ता ठकुरी प्रकरणः तनहुँ प्रहरी कार्यालय अगाडि पीडित परिवारको धर्ना र नाराबाजी
संलग्न आशंकामा पाँच पक्राउ, दुई युवती अनुसन्धानको दायरामा

दमौली : तनहुँको व्यास नगरपालिका–१३ बेलबासका २६ वर्षीय युवा कमलेश चन्द ठकुरी पाँच दिनदेखि रहस्यमय रूपमा बेपत्ता भएका छन् । उनी बेपत्ता भएपछि उनका परिवारजनले सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँ अगाडि धर्ना तथा नाराबाजी गरेका छन् ।
कमलेश गत साउन ७ गते रातिको समयमा ऋषिङ गाउँपालिका–१ झापुटारबाट हराएको बताइएको छ । परिवारको अनुसार उनी केही साथीहरूसँग झापुटार गएका थिए तर उनी सोही रातिदेखि सम्पर्कविहीन भएका छन् । घटनापछि उनका बुबा दिलबहादुर चन्दलगायत आफन्तहरू न्यायको माग गर्दै सोमबार प्रहरी कार्यालयअगाडि उपस्थित भई धर्ना तथा नाराबाजी गरेका छन् ।
कमलेशका बुबाले भने, “मेरो छोरोलाई लखेटेर, ढुंगा हानेर वा धारिलो हतियारले आक्रमण गरिएको भन्ने कुराहरू सुनिएको छ । उसको कि सास कि लास चाहिएको हो, त्यसैको लागि हामी न्याय माग्दै यहाँ आएका हौं ।”
उनका अनुसार घटनामा संलग्न केही युवकहरूले योजनाबद्ध ढंगले आक्रमण गरेर कमलेशलाई बेपत्ता बनाएको आशंका गरिएको छ
पाँच जना पक्राउ, अनुसन्धान जारी
उक्त घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले अनुसन्धान तीव्र गतिमा अघि बढेको बताए । उनका अनुसार, “झापुटार क्षेत्रमा गरिएको प्रारम्भिक अनुसन्धानका आधारमा तीन जना युवकलाई पहिला नियन्त्रणमा लिइएको थियो, पछि थप दुई जना युवालाई पक्राउ गरिएको छ ।” पक्राउ परेकाहरूमाथि हाल ‘अभद्र व्यवहार’ मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, घटनासँग सम्बन्धित शंकामा दुई जना युवतीसमेत अनुसन्धानको दायरामा रहेको प्रहरी स्रोतले जनाएको छ ।
स्थानीय र आफन्तद्वारा खोजी जारी
कमलेश बेपत्ता भएको खबर फैलिएसँगै स्थानीय समुदाय र उनका आफन्तजनले खोजी अभियान चलाएका छन् । गाउँगाउँमा सोधपुछ गर्ने, सम्भावित स्थानहरूमा अनुगमन जस्ता कामहरू भइरहेका छन् । तर, घटनाको पाँचौं दिनसम्म पनि न त कमलेशको कुनै अत्तोपत्तो लागेको छ, न त उनी जीवित छन् वा छैनन् भन्ने विषयमा कुनै निश्चितता आएको छ ।
जनस्तरबाट निष्पक्ष छानबिनको माग
यस घटनाले तनहुँमा व्यापक जनचासो र आक्रोश पैदा गरेको छ । पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गरिरहेका छन् । साथै, प्रहरी प्रशासनले अनुसन्धानमा ढिलासुस्ती गरेको आरोप पनि उनीहरूले लगाएका छन् ।










