घुम्न आउनेकै लापरवाहीले मानहुँकोटमा दुःखद् घटना घट्दै

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोट एकाएक भाइरल हुन पुग्यो । सामाजिक संजालमा भाइरल हुन पुगेको मानहुँकोटमा दशै यता दैनिक आन्तरिक पर्यटकको घुइचो लाग्न थालेको छ । यहाँबाट सूर्योदय र सेतो कुहिरोले ढपक्क ढाकिएको दमौली बजार क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न आउने आन्तरिक पर्यटकको संख्या अहिले अप्रत्यासित रुपमा हत्तै बढेको छ।
कारोना भाइरसका कारण घरमै थुनिएर बसेका व्यक्तिमाझ आकर्षक गन्तव्य बनेको छ यतिबेला मानहुँ । विशेष गरी युवा पुस्ताहरु अघिल्लो दिन मानहुँमै बासबसी बिहानको सूर्योदय हेर्न आकर्षक गन्तव्य बन्दै गएको छ । ग्रामिण पर्यटकीय गन्तव्यको रुपमा बिकास हुन पुगेको मानहुँकोटमा दशैयता दैनिक हजारको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् ।
यस्तै, यहाँको उचित मौषम मापन गर्न नसक्दा र घुम्न पुग्ने पर्यटकहरुकै लापर्वाहीका कारण मानहुँकोटमा गत बुधबार नै दुइ दुःखद् घटना घट्ना पुगे । विहीबार बिहान ५ः३० बजे मानहुँकोट उक्लिदै गरेको ग१ख २९४२ नम्बरको माइक्रोबस दुर्घटनामा पर्दा पोखरा महानगरपालिका-३२ की २९ वर्षीया सुनिता गुरुङको मृत्यु भएको छ । साथै, ८ जना घाइते भएका छन् । यस्तै, सोही दिन बिहान ११ बजे स्थानीयको घरमा सुतिरहेका अवस्थामा शुक्लागण्डकी नगरपालिका-७ का ३५ वर्षीय सागर थापा मृत अवस्थामा भेटिए ।
यी दुबै घटना पर्यटककै लापर्वाहीका कारण घटेको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यापाने बताउँछन् । ‘ग्रामीण कच्चि सडक, भिरालो बाटो, निर्माणाधिन अवस्थामै छ’, उनले भने, ‘माइक्रो चालकले उकालोमा गाडी चढाउन नसकेपछि आफु झरेछन् र गाडीमा ओट पनि राखेनछन् । गाडीमा रहेका केही पर्यटकसहित गाडि भिरबाट खासेर दुर्घटना भयो ।’
पोखरा-३२ का करिव १६ जना मिलेर माइक्रोमा मानहुँकोट घुम्न आएको बताइएको छ । त्यस्तै, शुक्लागण्डकीका १२/१३ जना युवाको समूह मिलेर मंगलबार राति नै मानहुँमा बास बस्न आएका थिए ।
यस्तै, मानहुँकोटमा ७ घर रहेको र कुनैपनि होटलको व्यवस्थपन छैन । यस्तो अवस्थामा रात बिताउन जाने पर्यटकहरुले आफै टेन्टको व्यवस्थापन गरी रात बिताउन जाने गर्दछन भने केही पर्यटकहरुले स्थानीयहरुसंग बास मागी बस्ने गरेका छन् । जाँडो बढ्दो छ । आफ्नो स्वास्थ्यको ख्याल नगरी घुमफिरका लागि आउँदा पनि यस्तो घटना हुन पुगेको नगरप्रमुख न्यौपाने बताउँछन् ।
‘टेन्टमा पनि नभई सागर स्थानीयकै घरमा बास बसेका रहेछन्’, उनले भने, ‘बिहान उठेर साथीहरुसंग पनि घुम्न गएका रहेछन् । खाना खाएर आराम गर्छु भनि सुतेका उनी सुतेकै ठाउँमा मृत्यु भएछ । उनको स्वास्थ्य अनुसार खानपिन र वातावरण नमिल्दा पनि यस्तो भयो होला ।’ पर्यटकको स्वागतका लागि आवश्यक पुर्वाधार निर्माण गरिनसक्दै अचानक भाइरल हुनाले पर्यटकको घुइचो लाग्दा थेगिनसक्नु भएको नगरप्रमुख न्यौपानेले बताए । उनले भने, ‘यी दुइ दुःखद् घटनामाथी हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, मानहुँकोटको सुरक्षामा थप कडाइ गर्ने सोचमा छौं ।’
यस्तै, पर्यटकीय गतिविधि बढेसंगै स्थानीय सरकारले व्यवस्थापनमा आवश्यक ध्यान नपुर्याएको जिल्लाका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । उनले भने, ‘पार्किङदेखि लिएर सार्वजनिक सौचालय, रात बिताउन जाने पर्यटकका लागि होटल कोठाको व्यवस्थापन, पानी, खाजा/खानाको लागि होटल व्यवस्थापनको कमि देखिएको छ ।’
मानहुँकोटमा पर्यटकको घुइचो लाग्न थालेसंगै प्रहरी गस्ती पनि सुरु गरिएको उनले बताए । ‘कोरोना भाइरसको कारण यो समय पर्यटकीय गतिविधिका लागि त्यति उचित समय पनि होइन’, उनले भने, ‘तर आउने पर्यटकलाई रोक्न पनि मिलेन । पर्यटकहरु आफै सजग भएर घुमफिर गरे यस्ता घटनाहरु कमै घट्ने थिए ।’
मानहुँकोटमा धेरैजसो समूहमा युवापुस्ताहरु आउने र त्यही अनुसारको खानपिन गरी उच्छृङ्खल गतिविधिहरु गर्ने प्रवृत्तिपनि बढ्दै गएको उनले बताए । प्रहरी उपरीक्षक पौडेलले भने, ‘पर्यटकीय क्षेत्र भएका कारण रोक्ने छेक्ने कोही भएन । आएका पर्यटकलाई पनि कसैको डर भएन । अबका दिनमा यसलाई नियन्त्रण गर्न र आवश्यक पूर्वाधारको विकास तथा व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान पुग्नुपर्दछ ।’ मानहुँमा पर्यटकीय गतिविधि बढेसंगै सुरक्षा चुनौती समेत बढेको हुँदा यहाँ स्थायी रुपमै प्रहरी पोष्ट खडा गर्नुपर्ने अवस्था सृजना भएको प्रहरी प्रमुख पौडेलले बताए।









