सोती घटना : २३ जनालाई जन्मकैद
रासस/त्रिवेणी (रुकुम पश्चिम)

वि.सं. २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा भएको घटनाको फैसला भएको छ । जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको घटनाको मुद्दाको अन्तिम फैसला आएको हो ।
आइतबारदेखि सुरु भएको सुनुवाइको फैसला तीन दिन लगाएर मंगलबार साँझ आएको हो । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले घटनाको कसुरमा कारागारमा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रासस जानकारी दिनुभयो ।
कोइरालाका अनुसार नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदको मुद्दामा दुइ वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएको छ । साधारण तारेखमा छुटेका ११ जनामध्ये आठजनाले सफाइ पाएको सूचना अधिकारी कोइरालाले जानकारी दिनुभयो । त्यसैगरी पीडितलाई प्रतिवादीको तर्फबाट रु ४० हजारका दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।
उक्त घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए । उनीहरूमध्ये थुनछेक बहसका क्रममा दुइ जना बालकसहित ११ जना तारेखमा छुटेका थिए । भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँकी मल्ल थरकी प्रेमिकाको परिवारसँग आफ्नो विवाहको कुरा गर्न उनी त्यहाँ पुगेका थिए ।
दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए । घटनामा १२ जना घाइते भएका थिए । घटनामा ज्यान गुमाएकाको शव भेरी नदीमा भेटिएको थियो ।
विसं २०७७ जेठ १० गते जाजरकोटका नवराजसहित उनका पाँच जना साथी जाजरकोटका गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा हत्या भएको थियो ।









