शुक्लागण्डकीको ढोरवाराही मन्दिर धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गरिदै

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रूपमा विकास गर्न पहल थालिएको छ । नगरपालिकाले नगरभित्रकै प्रमुख धार्मिकस्थल ढोरवाराही मन्दिरको विकासका लागि पहल थालेको हो ।
ढोरवाराही मन्दिरको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावनाको अध्ययन गरी समग्र विकास तथा व्यवस्थापन गर्ने उद्देश्य राखिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । सोही उद्देश्य पूरा गर्न केही समय अगाडि मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा सहभागी हुनुभएका मन्त्री पाण्डेले ढोरवाराही मन्दिरको धार्मिक महत्व अपार रहेको भन्दै यसको विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । नगरपालिकाले ढोरवाराही मन्दिरसम्म पुग्ने बाटोसमेत स्तरोन्नति गरिसकेको छ ।
सडकको आवश्यकताअनुसार कालोपत्र र ढलान गरिएको छ । यसले भक्तजनलाई सहज रूपमा मन्दिरसम्म पुग्न सहयोग पुग्ने विश्वास गरिएको छ । नगरपालिकाले रु ३१ लाख चार हजार नौ सय ४० को लागतमा उक्त सडक स्तरोन्नति गरेको नगरप्रमुख पण्डितले बताउनुभयो ।
मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ ढोरवाराही मन्दिरको दर्शनका लागि भक्तजन आउने गर्दछन् । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउँछ । ढोरवाराहीमा रहेको पोखरीमा बेला–बेला लहरी छुट्ने गर्दछ । रहस्यमयी लहरीलाई धार्मिक आस्थाका रूपमा लिइन्छ । ढोरवाराही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतारका रूपमा लिने गरिन्छ ।
प्रत्येक १५ मिनेटमा रहस्यमय ढङ्गले चल्ने पानीको लहरीले ढोरवाराही मन्दिर क्षेत्रको महिमा र महत्व उच्च बनाएको शुक्लागण्डकी–९ का निवर्तमान वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक रूपमा पानी आउन बन्द हुने र फेरि पानीको ठूलो लहरी छुट्ने कारण यस क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वलाई बढाएको छ ।”
हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरवाराही मन्दिरमा देवीको चतुर्वाहु मूर्तिसमेत पाइन्छ। यस मन्दिरमा विसं १९०४ देखि चढाइएका घण्टहरू रहेका छन् । ढोरवाराही प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती रहेको छ । पोखरीको मूलबाट पानीको ठूलो भल आउने र एकै छिनमा फेरि स्वतः घट्दै जान्छ । यस पोखरीमा लहरी छुट्नुलाई धार्मिक आस्थासँग तुलना गरिन्छ ।
उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरवाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ । पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ  । रजबाम विशेषगरी लहरी छुट्ने बेला पोखरी बाहिर निस्कने र उक्त समयमा रजबामको दर्शन गर्दा सौभाग्य प्राप्त हुने विश्वास रहँदै आएको छ ।
मन्दिर जीर्णोद्वारका क्रममा फेला परेका घण्टामध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत् ९६७ लेखिएको पाइएको छ । मन्दिरमा नयाँ वर्षको दिन, वैशाख महिनाभर, बडादसैँ, चैतेदसैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजाअर्चनाका लागि दर्शनार्थीको अत्यधिक भीड लाग्ने गर्दछ ।
एकादशी, औँसी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुबलि दिइँदैन ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker