व्यास नगरपालिकामा मनाइयो २६औं भुकम्प सुरक्षा दिवस
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले २६औं सुरक्षा दिवस मनाएको छ । ‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मुल नाराका नगरपालिकाले सचेतनामुलक कार्यक्रम गरी मनाएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले भुकम्पीय जोखिम न्यूनीकरणका क्षेत्रमा नगरपालिकाले उदाहरणीय तथा अनुकरणीय कार्य गर्दै आएको र यसलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायतका वक्ताहरुले यस्तो किसिमको कार्यक्रमले नेपालमा विद्यमान भूकम्पीय जोखिमलाई कम गर्न मद्दत पुग्ने बताउँदै भूकम्प सुरक्षा दिवसका दिनमा मात्र नभई सबै सरोकारवाला निकायहरुले भूकम्पीय सुरक्षित समुदाय निर्माणका लागि सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।
सचेतना कार्यक्रममा भूकम्प आफैले मान्छे नमार्ने तर मान्छेले नै बनाएको संरचनाले मार्ने हुनाले क्षति न्युनीकरणको लागि भवन निर्माण संहिता अनुसार घर बनाउनुपर्ने र संरचनात्मक तथा गैरसंरचनात्मक जोखिमलाई कम गर्नका लागि भूकम्पीय अल्पीकरणका उपायहरु अपनाउनुपर्ने विषयमा नगरपालिकाका इ. रविन्द्रलाल मुल र इ. अमृत केसीले सहजिकरण गरेका थिए ।
यस्तै, भूकम्प गइहालेमा नआत्तीने र आफ्नो शरिरको संवेदनशील अंगहरुलाई जोगाउनका लागि १९९० सालमा मंगलबारकै दिनमा २.२४ बजेको समयको स्मरण गर्दै सुरक्षित आसन अर्थात् “घुडा टेकि गुडुल्की ओत लागि समात” अभ्यास पनि गरेर देखाइको थियो ।
व्यास नगरपालिकामा आ.व. २०६८/०६९ सालबाट नेपाल भवन निर्माण संहिता लागु गरिएको छ । भवन निर्माण संहितालाई बोझका रुपमा नभई आफुहरुकै हितको लागि हो भनेर यसलाई सकरात्मक धारणाबाट स्वीकार्न र पालना गर्न साथै अरुलाई समेत पालना गर्न प्रोत्साहन गर्न नगरपालिकाले आग्रह गरेको छ ।
कार्यक्रममा सहभागीहरुले म भूकम्पीय जोखिममा सुरक्षित हुने उपायहरु सिक्नेछु, परिवारको सबै सदस्यहरुलाई सिकाउनेछु, मैले बनाउने घर भूकम्प प्रतिरोधी बनाउनेछु, मेरो समुदायमा भूकम्पीय जोखिम न्युनीकरण सम्बन्धी जनचेतना अभिवृद्धिमा लाग्नेछु भन्ने सामुहिक प्रतिबद्धता जनाएका थिए ।










