रैकरस्थित बाल भयाँर मन्दिरको उद्घाटन
भञ्ज्याङ न्युज

तनहुँको व्यास नगरपालिका-१२ स्थित रैकरमा बाल भयाँर मन्दिरको निर्माण सम्पन्न गरिएको छ । आइतबार व्यास-१२ का वडाध्यक्ष तोत्रबहादुर कुँवरले रिबन काटेर उक्त मन्दिरको उद्घाटन गरेका थिए ।
हिन्दु संस्कार अनुसार देवीदेवताको मन्दिर निर्माणले आध्यात्मिक चेतनाको लागि मद्दत पुगी समाजलाई नैतिकवान बनाउन मद्दत पुग्ने वडाध्यक्ष कुँवरले विश्वास व्यक्त गरे । उनले भने, ‘यहाँका बासिन्दालाई अब पुजा गर्न अन्य स्थानमा जानु वाध्यताको अन्त्य भएको छ ।’
स्थानीय बासिन्दाको सहभागितामा ६२ हजार २७१, लांघाली आमा समूहबाट ३० हजार, मगर समाजबाट १० हजार गरी कूल १ लाख २ हजार २७१ रुपैयाँको लागतमा सो मन्दिरको निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर थापाले बताए ।
कार्यक्रममा चन्द्रबहादुर वि.क., दुर्गा लोहनी, तुलक कैनी, अमृत नेपाली, दानमाया थापा, मूर्तिकार विरु उपरकोटी लगायतकाले धर्म संस्कृति जोगाइ राख्न र मन्दिर संरक्षण गर्न सबै जना जुट्नुपर्नेमा जोड दिएका थिए । सो कार्यक्रममा मन्दिरका सचिव यमबहादुर थापा मगरले आय व्यय सार्वजनिक गरेका थिए ।










