चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तार कार्य गरिँदै

सडक डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्रमा रहेको तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका तथा पृथ्वीराजमार्ग अन्तर्गतका सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ ।

आर्थिक वर्ष ०७६/०७७ मा कोभिड–१९ कारण निर्माण कार्य प्रभावित हुँदा कामले गति लिन नसकेपछि यस आर्थिक वर्ष ०७७/०७८ को शुरुदेखि नै सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको हो ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको पूर्वमा मुग्लिनदेखि पश्चिम कोत्रेसम्म करिब ७२ किलोमिटर दूरीमा रहेको छ । राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्ने र छेउछाउका सडक बिग्रँदै गएका स्थानमा कालोपत्रे गरी सिल गर्ने कार्य गरिएको डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी एवं इन्जिनीयर सचिनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पृथ्वीराजमार्ग हुँदै आसपास जोडिने आँबुखैरेनी–गोरखा, डुम्रे–बेँशीशहर खण्ड, डुम्रे–बन्दिपुर, तनहुँ–लमजुङ, लमजुङ–मनाङलगायतका सडकखण्डमा आवश्यकता अनुरूप मर्मत सम्भार कार्य अघि बढाइएको उहाँले बताउनुभयो ।

“सडक डिभिजन कार्यालयद्वारा वर्षभरि वा असार मसान्तसम्म नै सडक मर्मत सम्भार तथा विस्तार कार्य गरिरहन्छ तर सडकअन्तर्गत पनि धेरै ठेक्का लाग्ने भएकोले ठेकेदारले तोकिएको समय अवधिभित्र उक्त योजना सम्पन्न गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तारका लागि आर्थिक वर्ष ०७७/०७८ का लागि रु २२ करोड बजेट विनियोजन गरिएको छ ।

सडकअन्तर्गतका कतिपय योजनाको ठेक्कापट्टा गर्ने कार्य सम्पन्न भइसकेको छ । उहाँले भन्नुभयो, “अब छिट्टै काममा लगाउन मात्रै बाँकी रहेको छ ।” सङ्घीय सरकार अन्तर्गतका सडकहरुमा बजेटले पुगेसम्म आवश्यक स्थानमा मर्मत तथा सम्भार कार्य गर्दै आएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

कतिपय सडकको छेउछेउमा रहेको जमिनलाई सदुपयोग गर्दै सडक फराकिलो बनाउने र जोखिम स्थानहरुमा पिलर निर्माण गर्ने कार्यसमेत गरिएको छ । पृथ्वीराजमार्गसँगै अन्य सडकका बीच भागमा रहेका खाल्डाखुल्डी नपुरिँदा सवारी दुर्घटना बढ्न थालेपछि दशैँ अगावै अधिकांश सडकका खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

पृथ्वीराजमार्गका सबै स्थानमा सडक निर्माणका कार्य भए पनि तनहुँको बन्दिपुरस्थित डुम्रे बजार क्षेत्रमा भने पानी निकास हुन नसक्दा निर्माण कार्यमा समस्या भएको बताइएको छ ।

गत वर्ष १८ करोड फ्रिज

आर्थिक वर्ष ०७६/०७७ मा रु १८ करोड बजेट फ्रिज भएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । सडक मर्मत सम्भार तथा विस्तार कार्यका लागि ठेक्का लागे पनि कोभिड–१९ का कारण काम शुरु हुन नसक्दा बजेट फ्रिज भएको हो ।

गत वर्ष पनि रु २२ करोड नै बजेट विनियोजन भएको थियो । सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, “कोभिड–१९ का कारण जम्मा रु चार करोड बजेटको मात्रै काम भयो, अरु बजेट फ्रिज भएर गयो।” यस वर्ष बजेट फ्रिज नहुने गरी सडक निर्माणका कार्यलाई निरन्तरता दिइएको डिभिजन कार्यालय दमौलीले जनाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker