राजमार्ग विस्तारपछि तनहुँमा सडक दुर्घटना बढ्दै

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका क्रममा नै छ । सडक विस्तारपछि सवारीसाधान सञ्चालन तथा यात्रा सहज बने पनि दुर्घटना भने बढ्दै गएको छ । सडक दुर्घटनामा परी एक वर्षमा ६२ जनाले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा ९० साना तथा ठूला सवारी साधन दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख कृष्णबहादुर चन्दले जानकारी दिए । दुर्घटनामा पुरुष ३५, महिला २२, बालक दुई र बालिका तीन गरी ६२ जनाको मृत्यु भएको उनले बताए। सवारी दुर्घटनामा परी ७६ जना गम्भिर घाइते भएका छन् भने ४३ जना सामान्य घाइते भएका चन्दले बताए ।
ट्राफिक प्रमुख चन्दले भने, “ठूलो सवारी साधान दुर्घटनाले जिल्लामा मृत्युदरको तथ्याङ्क बढेको छ, विगतको तुलनामा हेर्दा सामान्य हो, तर ह्वात्तै बढेको मृत्युदरले प्रश्न उठाउने गरेको छ।” ट्रक ट्याङ्कर सात, टिपर पाँच, बस १६, माइक्रो तीन, जीपकार १४, ट्याक्टर चार र मोटरसाइकल ४१ गरी कुल ९० सवारी साधन दुर्घटना भएका ट्राफिकको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०÷८१ मा सवारी दुर्घटनामा परी ३९ जनाको मृत्यु भएको थियो । सवारी दुर्घटनामा ५० जना गम्भीर घाइते र ५१ जना सामान्य घाइते भएका थिए । यस आवमा ५० सवारी साधन दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७९/०८० मा ५२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सवारी साधन दुर्घटनामा परी ४९ जना गम्भिर घाइते र १४ जना सामान्य घाइते भएका थिए ।
प्रमुख चन्दका अनुसार सडक विस्तार भएपछि सवारी साधन दुर्घटना बढ्दै गएको छ, दुर्घटना बढेपछि मृत्युदर पनि बढ्दो छ । सडक सहज भएको छ । अधिकांश यात्रु तनहुँका सडकको यात्रामा हुने घुम्ती तथा स्ट्रेट रोडको बारेमा जानकार नहुँदा बढी दुर्घटनामा पर्ने गरेको उनले बताए ।
मुग्लिन–पोखरा सडक खण्डको करिब ७२ किलोमिटर दुरी तनहुँ जिल्लामा पर्दछ । यो खण्डमा सडक विस्तारपछि सहज बनेको छ, तर घुम्ती पनि उस्तै छन्, ती घुम्ती आउने समय नयाँ यात्रु जानकार हुँदैनन्, त्यसले गर्दा दुर्घटना दर बढेको अनुमान ट्राफिक प्रहरीको छ ।
सडक विस्तारपछि यात्रा सहज बनेको छ । यस सडकमा यात्रा गर्दा सहजतासँगै घुम्तीमा दुर्घटना बढ्न सक्ने भएकाले यात्रु नै सचेत हुनुपर्ने ट्राफिक प्रमुख चन्द बताउँछन् ।










