पुल निर्माणसंगै चार हजारभन्दा बढी लाभान्वित
चालु आर्थिक वर्षमा दर्ुइवटा मोटरेबल पुल निर्माण भएपछि स्थानीयलाई सहज भएको छ । म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्देखोला र व्यास-११ सेरास्थित बुल्दीखोलामा पुल निर्माण भएको हो । स्वीस सरकार विकास सहयोग अन्तर्गत स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा क्रमशः १२ र २० मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको स्थानीय सडक पुल कार्यक्रमका प्राविधिक अधिकृत सागर खाम्चाले जानकारी दिए ।
पक्की पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लैजान र गाउँमा ढुवानी गर्न सहज भएको छ । ती पुल निर्माणपछि चार हजार बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
म्याग्दे खोलामा निर्माण गरिएको पुलबाट एक हजार पाँचसय घरधुरीका मानिस लाभान्वित भएका छन् । उक्त पुलको रु एक करोड ४१ लाख ५८ हजार नौ सय ९० मा निर्माण भएको हो । विसं २०७९ भदौ १ मा सम्झौता भई २०८० साउन ३१ ग्ातेभित्र सम्पन्न गर्ने गरी माई कन्स्ट्रक्सन एण्ड बिल्र्डस पर्वतले पुल निर्माणको ठेक्का पाएको थियो।
बुल्दीखोलामा निर्माण गरिएको पुलबाट दर्ुइ हजार छ सय चालिस घरधुरीका मानिस लाभान्वित भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । उक्त पुल रु तीन करोड १२ लाख ४६ हजार ६१३ मा निर्माण भएको हो । विसं २०७९ भदौ १ गते सम्झौता गरी २०८१ वैशाख ४ गते सम्पन्न गर्ने गरी माई-डिएस जेभीले ठेक्का लिएको थियो ।










