सम्पादकीय : तमु ल्होसारको शुभकामना

नेपाल बहुजाति, बहुभाषा र बहुसांस्कृतिक पहिचानले बनेको राष्ट्र हो । यही विविधताले नेपाली समाजलाई सहिष्णु, जीवन्त र समृद्ध बनाएको छ। विभिन्न समुदायका मौलिक संस्कृति, परम्परा र चाडपर्वहरूले राष्ट्रिय पहिचानलाई मजबुत बनाउँदै आएका छन्। यसै सन्दर्भमा गुरुङ (तमु) समुदायको महान पर्व तमु ल्होसार सांस्कृतिक उत्सव मात्र होइन, सामाजिक चेतना र पहिचानको गहिरो प्रतीकका रूपमा स्थापित छ । आज गुरुङ समुदायले सर्पा वर्गलाई विदाई गरी घोडा वर्गलाई स्वागत गरी ल्होसार पर्व मनाउँदैछन् । प्रत्येक वर्ष पुस १५ गते मनाइने तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्षको आरम्भ हो । यसले इतिहास, संस्कृति, आत्मसम्मान र सामूहिक एकतालाई स्मरण गराउँछ । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो पर्वले समुदायलाई आफ्ना जरा र पहिचानसँग जोड्दै आएको तथ्य अस्वीकार गर्न सकिँदैन ।
तमु ल्होसार केवल नाचगान, भोजभतेर र औपचारिक सांस्कृतिक प्रदर्शनमै सीमित रहनु पर्याप्त छ ? भनि पछिल्लो समय प्रश्न उठ्ने पनि गरेको छ । बदलिँदो समय र चुनौतीपूर्ण वर्तमानमा यो प्रश्न झनै गम्भीर बनेको छ । आजको विश्व ज्ञान, प्रविधि, प्रतिस्पर्धा र नीतिगत पहुँचद्वारा निर्देशित छ। यस्तो अवस्थामा चाडपर्वलाई आत्मसमीक्षा र भविष्य निर्माणसँग नजोडी मनाइनु आफैंमा अपूर्णता हो । वास्तविकता के हो भने आज गुरुङ समुदाय मात्र होइन, समग्र नेपाली समाजकै सबैभन्दा ठूलो चुनौती शिक्षा हो । अधिकारका नारा, भावनात्मक भाषण र सांस्कृतिक प्रदर्शनले पहिचान त देखाउँछन्, तर अधिकार सुनिश्चित गर्दैनन् । अधिकार त्यहीँ सुनिश्चित हुन्छ जहाँ नीति निर्माण हुन्छ, निर्णय गरिन्छ र राज्य सञ्चालनका मूल संरचनामा पहुँच हुन्छ ।
राज्यका प्रशासनिक, नीतिगत र निर्णय तहमा अर्थपूर्ण सहभागिता नहुँदासम्म कुनै पनि समुदायका अधिकार दीगो हुँदैनन् । त्यसका लागि गुरुङ समुदायको शिक्षा, प्रशासन, न्याय, राजनीति र नीति निर्माण प्रक्रियामा प्रभावकारी उपस्थिति अनिवार्य छ । यस्तो उपस्थिति आकस्मिक रूपमा प्राप्त हुँदैन; यसको आधार दीर्घकालीन, गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा हो । इतिहास हेर्दा कहिल्यै शारीरिक शक्ति, प्रतीकात्मक साहस वा वंशका आधारमा नेतृत्व तय हुने युग थियो। तर त्यो समय समाप्त भइसकेको छ । आजको युग ज्ञान, दक्षता, सीप र बौद्धिक क्षमताको हो। अब अधिकार शारीरिक प्रदर्शनबाट होइन, संस्थागत पहुँच, नीतिगत सहभागिता र निर्णय क्षमताबाट प्राप्त हुन्छ ।
यही सन्दर्भमा नयाँ पुस्ताको भूमिका निर्णायक बन्छ । आजका युवा केवल सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएर, सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर वा परम्पराको नाममा रमाएर सन्तुष्ट हुने अवस्थामा रहनु हुँदैन । उनीहरू नीति बुझ्ने, प्रश्न उठाउने, नेतृत्व लिन सक्ने र संस्थागत रूपमा अघि बढ्ने सक्षम पुस्ता बन्नुपर्छ । संस्कृति बोकेर आधुनिक ज्ञान, प्रविधि र प्रतिस्पर्धामा अघि बढ्नु आजको अपरिहार्य आवश्यकता हो । यस कारण तमु ल्होसारलाई अझ उद्देश्यपूर्ण बनाइनु आवश्यक छ । गुरुङ संघ–संस्थाहरूले यस पर्वलाई शिक्षा प्रवद्र्धन, नेतृत्व विकास, उद्यमशीलता, भाषा–संस्कृति संरक्षण, छात्रवृत्ति, युवा क्षमता विकास, प्रतिभा सम्मान र सामाजिक सचेतनामूलक अभियानसँग जोड्न सक्नुपर्छ । यसले पर्वको गरिमा बढाउने मात्र होइन, समुदायको दीर्घकालीन रूपान्तरणको आधारसमेत तयार गर्नेछ।
ल्होसारजस्ता पर्वहरू विगत सम्झने अवसर मात्र होइनन्; भविष्यको दिशा तय गर्ने माध्यम पनि हुन् । हामी कस्तो समाज चाहन्छौँ ? हाम्रो पुस्ता कता पुग्नुपर्छ ? त्यसका लागि आज के गर्नुपर्छ ? यी प्रश्नमाथि सामूहिक रूपमा सोच्ने र निर्णय गर्ने समय यही हो । तमु ल्होसार गुरुङ समुदायको गौरवशाली पहिचान हो । तर यसलाई नाचगान र भोजभतेरमा सीमित राखेर मात्र यसको महत्व स्थापित हुँदैन । शिक्षा, चेतना, नेतृत्व र सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउन सके मात्र तमु ल्होसारले आफ्नो वास्तविक अर्थ पाउँछ । यही दृष्टिकोण नै तमु ल्होसारप्रतिको सच्चा सम्मान र नयाँ पुस्ताप्रतिको जिम्मेवारी हो । तमु ल्होसार पर्वको अवसरमा सबैमा शुभकामना ।










