सम्पादकीय : तमु ल्होसारको शुभकामना

नेपाल बहुजाति, बहुभाषा र बहुसांस्कृतिक पहिचानले बनेको राष्ट्र हो । यही विविधताले नेपाली समाजलाई सहिष्णु, जीवन्त र समृद्ध बनाएको छ। विभिन्न समुदायका मौलिक संस्कृति, परम्परा र चाडपर्वहरूले राष्ट्रिय पहिचानलाई मजबुत बनाउँदै आएका छन्। यसै सन्दर्भमा गुरुङ (तमु) समुदायको महान पर्व तमु ल्होसार सांस्कृतिक उत्सव मात्र होइन, सामाजिक चेतना र पहिचानको गहिरो प्रतीकका रूपमा स्थापित छ । आज गुरुङ समुदायले सर्पा वर्गलाई विदाई गरी घोडा वर्गलाई स्वागत गरी ल्होसार पर्व मनाउँदैछन् । प्रत्येक वर्ष पुस १५ गते मनाइने तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्षको आरम्भ हो । यसले इतिहास, संस्कृति, आत्मसम्मान र सामूहिक एकतालाई स्मरण गराउँछ । पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो पर्वले समुदायलाई आफ्ना जरा र पहिचानसँग जोड्दै आएको तथ्य अस्वीकार गर्न सकिँदैन ।

तमु ल्होसार केवल नाचगान, भोजभतेर र औपचारिक सांस्कृतिक प्रदर्शनमै सीमित रहनु पर्याप्त छ ? भनि पछिल्लो समय प्रश्न उठ्ने पनि गरेको छ । बदलिँदो समय र चुनौतीपूर्ण वर्तमानमा यो प्रश्न झनै गम्भीर बनेको छ । आजको विश्व ज्ञान, प्रविधि, प्रतिस्पर्धा र नीतिगत पहुँचद्वारा निर्देशित छ। यस्तो अवस्थामा चाडपर्वलाई आत्मसमीक्षा र भविष्य निर्माणसँग नजोडी मनाइनु आफैंमा अपूर्णता हो । वास्तविकता के हो भने आज गुरुङ समुदाय मात्र होइन, समग्र नेपाली समाजकै सबैभन्दा ठूलो चुनौती शिक्षा हो । अधिकारका नारा, भावनात्मक भाषण र सांस्कृतिक प्रदर्शनले पहिचान त देखाउँछन्, तर अधिकार सुनिश्चित गर्दैनन् । अधिकार त्यहीँ सुनिश्चित हुन्छ जहाँ नीति निर्माण हुन्छ, निर्णय गरिन्छ र राज्य सञ्चालनका मूल संरचनामा पहुँच हुन्छ ।

राज्यका प्रशासनिक, नीतिगत र निर्णय तहमा अर्थपूर्ण सहभागिता नहुँदासम्म कुनै पनि समुदायका अधिकार दीगो हुँदैनन् । त्यसका लागि गुरुङ समुदायको शिक्षा, प्रशासन, न्याय, राजनीति र नीति निर्माण प्रक्रियामा प्रभावकारी उपस्थिति अनिवार्य छ । यस्तो उपस्थिति आकस्मिक रूपमा प्राप्त हुँदैन; यसको आधार दीर्घकालीन, गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा हो । इतिहास हेर्दा कहिल्यै शारीरिक शक्ति, प्रतीकात्मक साहस वा वंशका आधारमा नेतृत्व तय हुने युग थियो। तर त्यो समय समाप्त भइसकेको छ । आजको युग ज्ञान, दक्षता, सीप र बौद्धिक क्षमताको हो। अब अधिकार शारीरिक प्रदर्शनबाट होइन, संस्थागत पहुँच, नीतिगत सहभागिता र निर्णय क्षमताबाट प्राप्त हुन्छ ।

यही सन्दर्भमा नयाँ पुस्ताको भूमिका निर्णायक बन्छ । आजका युवा केवल सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएर, सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर वा परम्पराको नाममा रमाएर सन्तुष्ट हुने अवस्थामा रहनु हुँदैन । उनीहरू नीति बुझ्ने, प्रश्न उठाउने, नेतृत्व लिन सक्ने र संस्थागत रूपमा अघि बढ्ने सक्षम पुस्ता बन्नुपर्छ । संस्कृति बोकेर आधुनिक ज्ञान, प्रविधि र प्रतिस्पर्धामा अघि बढ्नु आजको अपरिहार्य आवश्यकता हो । यस कारण तमु ल्होसारलाई अझ उद्देश्यपूर्ण बनाइनु आवश्यक छ । गुरुङ संघ–संस्थाहरूले यस पर्वलाई शिक्षा प्रवद्र्धन, नेतृत्व विकास, उद्यमशीलता, भाषा–संस्कृति संरक्षण, छात्रवृत्ति, युवा क्षमता विकास, प्रतिभा सम्मान र सामाजिक सचेतनामूलक अभियानसँग जोड्न सक्नुपर्छ । यसले पर्वको गरिमा बढाउने मात्र होइन, समुदायको दीर्घकालीन रूपान्तरणको आधारसमेत तयार गर्नेछ।

ल्होसारजस्ता पर्वहरू विगत सम्झने अवसर मात्र होइनन्; भविष्यको दिशा तय गर्ने माध्यम पनि हुन् । हामी कस्तो समाज चाहन्छौँ ? हाम्रो पुस्ता कता पुग्नुपर्छ ? त्यसका लागि आज के गर्नुपर्छ ? यी प्रश्नमाथि सामूहिक रूपमा सोच्ने र निर्णय गर्ने समय यही हो । तमु ल्होसार गुरुङ समुदायको गौरवशाली पहिचान हो । तर यसलाई नाचगान र भोजभतेरमा सीमित राखेर मात्र यसको महत्व स्थापित हुँदैन । शिक्षा, चेतना, नेतृत्व र सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउन सके मात्र तमु ल्होसारले आफ्नो वास्तविक अर्थ पाउँछ । यही दृष्टिकोण नै तमु ल्होसारप्रतिको सच्चा सम्मान र नयाँ पुस्ताप्रतिको जिम्मेवारी हो । तमु ल्होसार पर्वको अवसरमा सबैमा शुभकामना ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker