पृथ्वीराजमार्ग सडक विस्तार : सडक अधिकार क्षेत्र यथाशीघ्र खाली गरिदन आग्रह
भञ्ज्याङन्यूज

पृथ्वीराजमार्गको मुग्लिङ-पोखरा सडक खण्ड विस्तार कार्य भइरहेको हुँदा यथाशीघ्र सडक अधिकार क्षेत्र खाली गरिदिन अनुरोध गरिएको छ । मुग्लिङ-पोखरा सडक विस्तार आयोजना अर्न्तर्गत दमौली बजार खण्डमासडक अधिकार क्षेत्र भित्र रहेका घर तथा अन्य संरचना हर्टाई सडक विस्तारलाई सहजिकरण गरिदिन अनुरोध गरिएको हो ।
व्यास नगरपालिकाको समन्वयमा विहीबार दमौलीमा भएको सर्वपक्षीय बैठकले सडक क्षेत्रमा पर्ने घर भत्काउने, बिजुलीका पोल, खानेपानीका पाइप समेत स्थानान्तरण गरी बर्षात भन्दा अगाडी कालोपत्रे समेत सम्पन्न गर्नुपर्ने हुँदा सम्बन्धित घरधनीलाई सहयोग पुर्याउनुहुन अनुरोध गर्दै सरोकारवाला सबैको अपसी समन्वयमा पहल गर्ने निर्णय गरिएको छ ।
बैठकले राजमार्ग विस्तार गर्न निर्माण कार्य भईरहेकोमा कतिपय स्थानमा नालाको निकास, स्थानीय घर धनीहरुलाई आवत-जावतमा हुने कठिनाई, चालु खानेपानी लाइनको पुनःस्थापना लगायतका विषयमा आयोजनाबाट व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको उक्त बैठकमा गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरिक्षक अपिलराज बोहोरा, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र, दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बृषराज श्रेष्ठ लगायत विभिन्न वडाका अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सडक आयोजनाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
राजमार्गको पूर्वीखण्ड -आँवुखैरेनी-जामुने) अन्तर्गत दमौली बजार क्षेत्रमा सडक अधिकार क्षेत्रका केही घरधनीले मुआब्ज लिएपनि घर भत्काउने कार्य गरेका छैनन् । राजमार्गको सडक अधिकार क्षेत्र २५/२५ मिटर भएपनि २३/२३ मिटर भित्रका व्यक्तिगत भैतिक पर्ूवाधारको मुआब्ज दिएर बजार क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको सडक विस्तार कार्य गरिरहेको छ। मुग्लिन-पोखरा सडक अर्न्तर्गत तनहुँको बन्दीपुर, आँबुखैरेनी, छिर्कनेलगायत ठाउँमा संरचना हटाएर काम अगाडि बढिरहेको छ ।
सडक विस्तार योजना -पूर्वीखण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले दमौली बजारमा घर भत्काउन थालिएसँगै बजार क्षेत्रमा कामलाई तीव्रता दिइएको जानकारी दिए । पाण्डेका अनुसार दमौली बजारका ७४ घर भत्काइनेछन् । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्दछन् । यसका लागि ४५ जनाले पहिलो किस्ताबापतको रकम बुझिसकेका छन् ।
पूर्वी खण्डको अन्य ठाउँमा सडकभित्रका संरचना हटाएर काम भइरहेपनि सदरमुकाम दमौलीकै संरचना हटाउन ढिलाइ हुँदै आएको छ । इन्जिनियर पाण्डेका अनुसार अब दमौली बजार क्षेत्रमा घर भत्काइसकेपछि सडक फराकिलो बनाउने कामलाई तीब्रता दिइने छ । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माण कार्यलाई पनि तीब्रता दिइएको छ ।
रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । करिब ४१.४५ किमिको यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।
यस्तै, पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखरासम्म कालोपत्रको कामले पनि गति लिएको छ । रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको पश्चिम खण्डमा गत माघ १२ गतेदेखि पहिलो पटक कालोपत्रको काम सुरु गरिएको हो । विसं २०८१ भदौसम्म काम सक्ने गरी विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि जामुने-पोखरासम्मको काम सुरु भएको थियो ।










