आन्तरिक पर्यटकलाई लोभ्याउँदै दमौलीको मानुङकोट

दमौली : चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।

तिहार बिदाका कारण यतिबेला मानुङकोटमा दैनिक औसतमा तीन सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । मानुङकोटबाट सूर्योदयसँगै देखिने कुहिरोले यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउने दमौलीका सोमबहादुर नेपालीले बताउनुभयो ।

बन्दीपुर गाउँपालिका–२ का सुदिन पौडेलले दमौली बजारलाई कुहिरोले धपक्क छोपेको दृश्य हेर्नका लागि मानिसहरु आउने गरेको सुनाउनुभयो ।

मानुङकोट हिलटप होटलका सञ्चालक चुडामणि दाहालले विगत एक सातादेखि मानुङकोटमा पर्यटकको चाप बढेको बताउनुभयो । पर्यटकहरु अघिल्लो दिन बास बसेर सूर्योदय र कुहिरो हेर्ने गर्छन् ।

मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ । विगतमा होटल समेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यवलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।

मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र भएको हो । कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker