प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका तीन हजार सूचीकृत

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् ।

सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहका वडामा गएर १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम स्थानीय तहबाट न्यूनतम एक सय दिनको रोजगारी कार्यक्रम सञ्चालन गरिनेछ ।

सोअनुसार शुक्लागण्डकीमा ५८८ बेरोजगार सूचीकृत भएको नगरपालिकाका रोजगार संयोजक प्रतिभा जिसीले बताउनुभयो । कार्यक्रमका लागि उक्त नगरपालिकालाई सरकारले रु ५१ लाख बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट गरी कार्यपालिकामा पेश गरिने र कार्यपालिकाले पारित गरेपछि तत्कालै काम शुरु गर्ने तयारी गरिएको छ । “तिहारपछि काम शुरु गराउने योजना छ,” उहाँले भन्नुभयो ।

म्याग्देमा ४४४ बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक पविन्द्रकुमार शाहीले न्यूनतम एक सय दिनको रोजगारीका लागि माघदेखि काम शुरु गर्ने तयारी गरिएको जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकालाई रु ५१ लाख ९२ हजार बजेट विनियोजन भएको छ ।

बन्दीपुरमा ३६० बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक शरणसिं गुरुङका अनुसार कार्यक्रमका लागि सङ्घीय सरकारका तर्फबाट रु ५१ लाख ७० हजार बजेट विनियोजन भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा नै ‘गाउँ प्रमुखसँग रोजगार कार्यक्रम’ पनि सञ्चालन गर्दैछ ।

बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यसहित गाउँपालिका आफँैले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । त्यसका लागि गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन र ५० योजना छनोट गरेको छ । “प्रधानमन्त्री रोजगार र गाउँ प्रमुख रोजगार कार्यक्रम सँगसँगै अगाडि बढाउँदैछौँ”, रोजगार संयोजक गुरुङले भन्नुभयो, “त्यसका लागि अहिले स्थलगत अध्ययन, लागत इष्टिमेटका काम भइरहेको छ ।” उक्त कार्यक्रम तिहारलगत्तै शुरु गर्ने योजना बनाइएको छ ।

आँबुखैरेनीमा ५४९ बेरोजगार सूचीकृत भएका छन् । रोजगार संयोजक कमला गैह्रेका अनुसार कार्यक्रम सञ्चालनका लागि योजना छनोट भइसकेको र तिहारलगत्तै काम शुरु गरिने छ । कार्यक्रमका लागि रु ५१ लाख बजेट विनियोजन भएको छ । व्यासमा भने ९९४ बेरोजगार सूचीकृत भएका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker