व्यास नगरपालिका : “नवप्रवर्तन साझेदारी परियोजनामा युवालाई जोडेर रोजगारी र आर्थिक उपार्जनको माध्यम बनाउँदै छौं”

नगर प्रमुख : बैकुण्ठ न्यौपाने
मादी र सेती नदीको पवित्र संगम तटमा अवस्थित महर्षि वेद व्यास र पराशर ऋषिको तपोभूमी (कर्मक्षेत्र)मा रहेको यस व्यास नगरपालिका तनहुँको पहिलो र पुरानो नगरपालिका हो । देशमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना पश्चात दमौली गा.वि.स. र स्याम्घा गा.वि.स.को केही क्षेत्रलाई समेटेर २०४८ साल चैत्रमा व्यास नगरपालकाको नामाकरण गरी घोषणा गरिएको थियो । २०७१ मार्ग १६ गते पोखरीभञ्ज्याङ गा.वि.स.लाई यस नगरपालिकामा गाभिएको थियो भने नेपाल सरकारको २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार श्याम्घा र क्यामिन गा.वि.स.को सम्पूर्ण भाग, तनुहँसुरु, घाँसीकुवा, रिस्ती र सतिस्वाँराका केही वडालाई पनि यस नगरपालिकामा गाभिएका छन् । पृथ्वी राजमार्गसंग जोडिएको यो नगरपालिका तनहुँको सदरमुकाम पनि हो ।

नगरबासिहरु आम्सिक रुपमा जागिर, व्यापार व्यवसाय, कृषि, पशुपालन वैदेशिक रोजगारीमा संलग्नता छन् । सागे, बुल्दी, बोर्धन र छाब्दी खोलाका काखमा रहेका फाँटहरु उर्वर छन् भने कुमालटारी, बैरेनी, भादगाउँ जस्ता साना ठूला टारहरु सिंचाईको पर्खाइमा छन् । ४ वेद १८ पुराणका रचायिता वेदव्यासको जन्मस्थल, पराशर ऋषिको तपोभूमि, मादी र सेती नदीको संगम स्थल यसै नगरपालिकामा पर्दछ । धार्मिक पर्यटकीय गतिविधि मार्फत रोजगारीको वातावरण सृजना गरी आर्थिक उपार्जनको राम्रो माध्यम बनाउन सक्ने अवस्था भएपनि नगरपालिकाले यस तर्फ ध्यान पुर्याउन सकेको छैन् ।
दमौलीबाट करीब ७ कि.मी. पूर्वमा अवस्थित छाब्दी बराही मन्दिरमा वर्षोनी हजारौं भक्तजन तथा धार्मिक पर्यटक आउने गर्दछन् । वृहत्तर गुरुयोजना निर्माण गरी नगरपालिकामा धार्मिक, ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक पर्यटनका रुपमा विकास गर्न सक्ने सम्भावना रहेको छ । प्राकृतिक दृष्या अवलोकनका लागि आकर्षक गन्तव्यको रुपमा विकास भएको मानहुँकोटलाई नगरपालिकाले सामयिक रुपमा विकास गर्न सकेको छैन । ऐतिहासिक तथा ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा विकास हुने पर्खाइमा बसेको शहीदको गाउँले परिचित पुलिमराङ क्षेत्रको जुन रुपमा विकास गर्नुपर्ने हो त्यस तर्फ पनि नगरपालिको ध्यान पुर्याउन नसक्दा यहाँका युवा रोजगारी तथा आधारभूत सेवा सुविधाको खोजीमा अन्यत्र पलायन हुने क्रम बढ्दा गाउँबस्ति उजाडिदै गएका छन् भने उर्वर भूमि बाँझिदै गएका छन् ।

यस्तै, युवाहरुलाई आफ्नै थातथलोमा स्वरोजगार बनाउँदै आर्थिक समृद्धि हाँसिल गर्नका लागि नगरपालिको उद्यमशिल विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउँछन् । ‘अहिले युवाहरु रोजगारी तथा अध्ययनका नाममा विदेशिने क्रम बढेको छ’, उनले भने, ‘युवालाई आफ्नै थातथलोमा रोक्नका लागि हाम्रो मात्र प्रयासले सम्भव देखिदैन । यसका लागि औद्योगिक क्षेत्रको विकास गरी रोजगारीका वातावरण सृजना गर्न आवश्यक छ । यसमा संघ र प्रदेश सरकारले प्रभावकारी ढंगाले युवामैत्री कार्यक्रमलाई सञ्चालन गर्नुपर्छ ।’
युवाहरुलाई आफ्नै गाउँठाउँमा रोजगारीको वातावरण सृजना गर्ने योजनाका साथ मुख्यमन्त्री नवप्रवर्तन साझेदारी परियोजना अन्तर्गत वडा नं. १४ को रुम्सी गाउँलाई नमुनाबस्तिका रुपमा विकास गर्ने गरी कार्यक्रम अगाडि बढाइएको उनले बताए । उनले भने, ‘यस परियोजना मार्फत स्थानीयलाई विभिन्न तालिम मार्फत जनचेतना अभिवृद्धिगरी कृषिपर्यटन गतिविधिका माध्यमबाट गाउँलाई सुन्दर, शान्त, समृद्ध एवं सुसंस्कृतियुक्त बनाउने लक्ष्य लिइएका छौ ।’

यस्तै, संघीय योजना अन्तर्गत विभिन्न व्यवसायहरुलाई प्रोत्साहन गर्ने, युवाहरुलाई नयाँ ढंगबाट व्यवसायमा क्रियाशिल गराउने, स्थानीय पराम्परागत सन्दर्भ/सम्पदाहरुलाई व्यवस्थित गर्ने र युवाहरुलाई यहि रोक्ने कार्यक्रमलाई जोड दिदै आएको नगरप्रमुख न्यौपाने बताउँछन् । ‘मेड्पा कार्यक्रम मार्फत विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गरी रोजगारीको वातावरण सृजना पनि गर्दै आइएको छ’, उनले भने, ‘सामी परियोजनाबाट वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई आफ्नै गाउँठाउँमा उनिहरुको सीप, दक्षता र ज्ञानको उपयोग गरी व्यवसायिक कार्यमा क्रियाशिल बनाउन सहजिकरण गर्दै आएका छौ ।’
व्यवसायिक रुपमा कृषि, पशुपालन गर्ने युवालाई विभिन्न अनुदानका कार्यक्रममा जोड्दै लगेको नगरपालिकाले वडामा विनियोजित बजेटबाट पनि सीप बिकास सम्बन्धी कार्यक्रम, तालिम सञ्चालन गरिएको उनले बताए । नगरप्रमुख न्यौपानेले भने, ‘युवाहरुलाई विश्वासको वातावरण सिर्जना गर्दै हामीले पूर्वाधार पनि त्यही ढंगबाट निर्माण गर्ने र आय आर्जन र रोजगारी सृजना गर्नेतर्फ ध्यान केन्द्रित गरेका छौं । र आगामी दिनमा पूर्वाधार भन्दा पनि व्यवसाय प्रवर्द्धन गरी रोजगारीको वातावरण सृजना गर्ने गरी नीति तथा कार्यक्रम बनाउने योजनामा रहेका छौं ।’

पालिकामा उत्पादित वस्तुको बजारीकरणलाई सहज बनाउने, सीपमूलक यात्रामा अगाडि बढाउनका लागि उद्यमशिलता तालिम दिने, अनौपचारिक क्षेत्रहरुमा लाग्ने श्रमिकहरुको श्रम सम्बन्धी सुरक्षाको वातावरण बनाउने, योगदानमा आधारित सञ्चय कोष निर्माण गर्ने गरी सम्झौता गरिएको छ । उद्यमशिलताको परामर्श सेवालाई व्यवस्थित गर्ने तयारी भइरहेको बताउँदै नगरप्रमुख न्यौपानले भने, ‘अहिले आर्थिक मन्दि, संघ र प्रदेश सरकारले उपलब्ध गराउने बजेट कटौती जस्ता कारणले कार्यक्रमलाई प्रभावकारी रुपमा अगाढि बढाउन श्रोत र साधानको अभाव देखिएको छ ।’
नगरपालिकाले कृषिमा धान उत्पादन, पशुमा गाईभैसी, बंगुर, बाख्रा प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । मेड्पा र सामीका कार्यक्रम मार्फत रोजगारी सृजना गर्ने गरी काम भइरहेका छन् । नगरपालिका स्वयंले पनि करिव ५० लाख रुपैयाँ बजेटको व्यवस्था गरी मुख्यमन्त्री नवप्रवर्तनीय कार्यक्रमलाई प्रभावकारी बनाउने काम भइरहेको उनले बताए । उनले भने, ‘यस कार्यक्रम मार्फत रुम्सीमा सुन्तला खेतीदेखि लिएर ग्रामीण पर्यटन प्रवर्द्धनका लागि घरबास -होमस्टे) व्यवस्थानका कार्यक्रम सञ्चालन गरिएको छ । संघ, प्रदेशसंगको सहकार्यमा हामीले आफ्नो बजेटहरु पनि बिनियोजना गरी प्रभावकारी रुपमा अगाडि बढाउने र जसले गाउँगाउँमै रोजगारीको वातावरण सृजना भई आर्थिक उपार्जनको माध्यम बन्ने विश्वास लिएका छौ ।’

नगरपालिकाले कृषकको उपजलाई सहज रुपमा बजारीकरण गर्ने योजनाका साथ पुरानो बुधबारे हाटबजार ब्यूत्याउने प्रयास गरेपनि त्यो प्रभावकारी बन्न सकेन । ‘पहिला बजार थिएन कृषकहरु आफै आएर बुधबारे हाटमा आफ्ना उत्पादन बिक्री वितरण गर्नुहुन्थ्यो तर, अहिले अवस्था फेरिएछ’, उनले भने, ‘अहिले कृषि व्यवसायमा लाग्ने भन्दा पनि सडक व्यवसायमा जोडिएकाहरुले उपभोक्ताको घरघरमै पुगेर बिक्रीवितरण गर्ने कार्य बढेकाले दमौलीमा कृषि हाटबजारको प्रभावकारीता देखिएन । हामीले स्थानीय स्तरमा उत्पादित कृषि उपज सहज र सुपथ मूल्यमा कृषकसंगै खरिद गरी उपभोग गर्ने व्यवस्था मिलाउन खोजेका थियौं । त्यो प्रभावकारी बन्न सकेन ।’
नगरपालिकाले सडक व्यापारलाई व्यवस्थित बनाउँदै लगेको छ । अहिले पृथ्वीराजमार्ग स्तरोन्नतीको कार्य भइरहेको हुँदा सफासडक प्रशासनिक सडक भएकाले सफासडक भन्दा भित्री सडकमा फलफूल, तरकारी लगायतका खाद्यवस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख न्यौपानेले बताए । नगरपालिकाले नयाँ भवन बनाउने सर्न्दर्भमा किसानका उपजहरु सहज ढंगले बिक्रीबितरणका लागि कक्षहरु निर्माण गर्ने तयारी गरेको छ ।

यस्तै, स्थानीय स्तरमै रोजगारीको वातावरण सृजना गर्नका लागि वडा नं. ११ र १३ मा थाकालबाट टोप, झोला बुन्ने तालिम सञ्चालन गरिएकोमा स्थानीय महिलाहरुले सिकेको सीपलाई व्यवहारमा उतारेर अहिले राम्रो आम्दानी लिन समेत सफल हुनु भएको छ । वडा नं. ५ मा मकैको भुत्लाबाट विभिन्न बस्तु बनाउने तालिमा, सिलाई बुनाई सम्बन्धी एड्भान्स लेवलको तालिम सञ्चालन गरिएको छ ।
नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्दै नगरप्रमपुख न्यौपानेले भने, ‘हाम्रा पराम्परागत शैलीलाई जोगाउँदै व्यवस्थित बनाउन युवापुस्ता जागरुक बन्नुपर्छ । हाम्रा मौलिक गतिविधिहरुलाई अगाडि बढाउन सक्यौ भने युवाहरुको भविष्य नेपालमै छ र उहाँहरुसंग बसेर के कसरी अगाडि बढ्ने भनि छलफल गरी सहकार्य गर्न तयार छौ । युवा लक्षित र केन्द्रित कार्यक्रमहरुमा स्थानीय पालिका विशेष गरी नगरपालिका केन्द्रित हुन्छ । तपाईहरु निराश नहुनुस् । आगामी २०८१ वर्ष हामी सबैलाई उत्साह, उद्यमशिलता र व्यवसायिकता तर्फबढ्ने प्रेरण दिओस्, सकरात्मक सोचको विकास होस, यहि शुभकामना दिन चाहान्छु ।’

उप प्रमुख : इन्दिरा दरै
नगरपालिकाले रोजगारीको वातावरण सृजना गर्नका लागि विभिन्न उद्यम विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको उपप्रमुख इन्दिरा दरै बताउँछिन् । ‘युवायुवतीलाई लक्षित गरी विभिन्न सीपमुलक र आयअर्जनमुलक तालिमहरु दिइरहेको अवस्था छ’, उनले भनिन्, ‘जनजाति, दलित, एकल महिला, अल्पासंख्यालाई लक्षित कार्यक्रम मार्फत जोड्दै स्वरोजगर बन्ने आधार तयार गर्दै अगाडि बढेका छौ ।’ ‘एकपटक तालिम लिंदैमा सबैलाई स्वरोजगार बनाउदैन । उहाँहरुलाई तालिम पश्चात सक्षम बनाउन सुरुमा बेसिक र पछि एड्भान्स लेवलको तालिम उपलब्ध गराएर प्रभावकारी ढंगले व्यवसायिक बन्न प्रेरित गर्नुपर्छ’, उनले भनिन्, ‘युवाहरुलाई आफ्नै गाउँठाउँमा रोक्नका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु र योजनाहरु ल्याएको छ । नगरपालिकासंग योजना र उद्देश्य धेरै छन । नगरबासिलाई उद्यमशिलतासंग जोडेर आर्थिक उपार्जनमा टेवा पुर्याउने नगरपालिकाको पनि दायित्व र कर्तव्य हो । सोही अनुसार हामी अगाडि बढेका छौ ।’
महिला उद्यमीहरुले उत्पादन गरेको बस्तु, कृषि उपजको बजारीकरणलाई सहजिकरण गर्ने उद्देश्यले नगरपालिकाले कोशेली घर सञ्चालनमा ल्याएको छ । उक्त कोशेली घरबाट महिला दिदीबहिनीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्न सहज बन्दै गएको नगरप्रमुख दरैले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत : गंगालाल सुवेदी
नगरपालिकाले युवा लक्षित कार्यक्रम अगाडि ल्याएपनि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी बताउँछन् । ‘अहिले युवाहरु स्वदेशभन्दा विदेशमा जाने, छिटै आयअर्जन गर्ने, छिटै लक्ष्य पुरा गर्ने हिसावले आतुर हुनुहुन्छ’, उनले भने, ‘पालिकामा हामीले गरेका कार्यक्रमममा लघुउद्यम सम्बन्धी कार्यक्रमहरु छन् । त्यसबाट आवश्यकता र समुदायबाट छानिएका तालिमहरु सञ्चालन गरेका छौं । तालिम भनेर वडा स्तरमा छुट्टै बजेट पनि छ र मागको आधारमा तालिम सञ्चालन गरिएका छन् ।’
‘अहिले सिलाईबुनाई, बुटिक, अचार बनाउने, टोप, झोला बुन्ने तालिम दिइरहेका छौं’, उनले भने, ‘तर समस्य के छ भन्दा जति तालिम दियो तालिमको दिगोपन र निरन्तरतामा कमि छ । कृषि लगायत विभिन्न उत्पादन क्षेत्रमा युवाहरुको निरन्तरतामा कमि हुँदै आएको छ । यस्तो किन भइरहेको छ, यसको समयमै पहिचान गरी व्यवसायलाई दीगोपन दिन लाग्नुपर्छ ।’

नगरपालिकाले युवाहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास त गरेको छ तर, माग अनुसारको पुरा गर्न नसकेको उनले बताए । ‘बजेटको सिमितता हुन्छ, त्यसले पनि फरक पारेको छ भने अर्को पाटो छिटै प्रगति खोज्ने, देखासिकी हुँदा पनि लामो समय आफ्नो व्यवसायमा नटिक्ने समस्या देखिएका छन्’, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘नगरपालिकाले कृषि, पशुपालन क्षेत्रमा प्रवर्द्धनात्मक कार्यक्रम, पराम्परागत पेशा सञ्चालन गर्नेहरुका लागि तालिम, खेरा जाने बस्तुबाट विभिन्न सामाग्रीहरु तयार गर्ने, पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई प्रथमिकतामा राखेको छ । तर समस्य भनेकै बजार मूल्यमा आएको छ । उद्यमीले गरेको लगानि अनुसार आफुले उत्पादन गरेको वस्तुको मूल्य नपाएको गुनासो आउने गरेको छ । आयतित वस्तुका कारण पनि स्थानीय स्तरमा उत्पादित वस्तुले उचिव मूल्य र बजार नपाएको उद्यमीहरुको गुनासो आउन थालेको छ । नगरपालिकाले अब यस तर्फध्यान दिनुपर्छ ।’











